छोरा जन्मिनुभन्दा एक साताअघिसम्म श्रम गरेँ, साहुले नै अब नआउनु भनेपछि गइनँ
काठमाडौँ — भाग्यमा खुसी लेखेको भए पो आराम पाउनु । अलिकति फुर्सद मिल्नासाथ पठाओ चलाउन गइहाल्छु । एक वर्षजति भयो पठाओ गरेर दुई-चार पैसा कमाउन थालेको । श्रीमान् हुन्जेल बाहिरफेर काम गरेर घरखर्च चलाउनुहुन्थ्यो । उहाँको निधनपछि सबै जिम्मेवारी मैमाथि छ । कोरोना र जन्डिस संक्रमणले थलिएपछि एक महिना अस्पताल भर्ना गरेर हरप्रयास गर्दा पनि उहाँलाई बचाउँन सकिएन । दैवले परिवारको हाँसो चुड्यो ।
८ वर्षकी छोरी र ५ वर्षका छोराको रेखदेख गर्नुपर्ने भएकाले बिहानैदेखि पठाओ चलाउन पाउदिनँ । नानीहरुलाई स्कुल पठाएपछि बल्ल पठाओ गर्छु । श्रीमान् गुमाएका बेला पेटमा बाबु थियो । छोरा जन्मिनुभन्दा एक साताअघिसम्म उहाँले काम गर्ने ठाउँमा श्रम गरेँ । साहुले नै अब नआउनु भनेपछि गइनँ । त्यतिबेला गरेको कामबाट बाबु जन्मिने बेलाको अस्पताल खर्च जुटाएकी थिएँ । छोरीको स्कुलको फिस पनि बुझाएँ ।
श्रीमान् गुमाएपछि एकैचोटि आकाशबाट भुँइमा बजारिएजस्तो भयो । कोठाभाडा, रासन खर्च, स्कुल फिसको भार खेप्न सकिनँ । एक वर्ष त ऋणधन गरेरै बस्यौं । थेग्न नसकेपछि वर्षको ३० हजार तिर्ने गरी एउटा जग्गा भाडामा लिएर टिनको छाप्रो बनाएर बसिरहेका छौं । पठाओ गर्ने सोच बनाएकै थिइनँ । कसैसामु दु:ख बिसाएर रुन पनि मन लागेन । छोराछोरी निदाएपछि मात्रै रुन्थेँ । सुन्निएको आँखा देखेपछि छोरीले के भयो मम्मी ? भनेर सोध्दा जवाफ हुँदैन ।
श्रीमान्को उपचार गर्दा लागेको ऋण सम्झिन थालेँ, रासनपानी किन्न जाँदा गोजी रित्तो हुन्थ्यो । छोरीको फिसका लागि स्कुलबाट फोन आउन थाल्यो । भाडा नतिरेको ३ महिना पुग्यो । दसैंमा छोराछोरीलाई कपडा किन्दिन नसक्दा मन बिझाउन थाल्यो । छोरा ११ महिनाको भएपछि मन्टेश्वरीमा भर्ना गरेर काम खोज्न थालेँ । करिब पन्ध्र ठाउँमा धाउँदा पनि आश्वासन मात्रै पाएँ ।
एकदिन पठाओ चलाउने केटी साथीको याद आएपछि उसलाई फोन गरेँ । उसले हौसला दिएपछि आफ्नो स्कुटरमा पठाओको काम थालेँ । सुरुका दिनमा गाह्रो भयो । लोकेसन हेर्न नआउँदा कहिले कता पुग्थेँ कहिले कता । कमाउनेभन्दा धेरै खर्च भयो, बिस्तारै सबै बुझ्दै गएपछि सजिलो भयो ।
बिहानबाट बेलुकासम्म पठाओ नै चलाउन पाए त कमाइ राम्रो हुन्थ्यो होला । तर के गर्नु, बच्चाबच्ची पनि हेर्नैपर्यो । अनलाइनबाट रेट घटेर आउँछ । पहिले यसरी रेट घटेर आउँथेन । पठाओ नै गरेर मात्र कमाउन त गाह्रो छ । अघिल्लो दिन त्यही ठाउँमा मान्छे छाडेको २ सय ५० छ भने भोलिपल्ट रेट घटेर १ सय ८० हुन्छ । ठेगान नभएको कमाइले परिवारका सबै आवश्यकता पूरा गर्न सक्दिनँ ।
कमाइ नभएकाले रहर पनि खुम्चाएर राखेको छु । त्यसैले सकभर पुरानै कपडाले काम चलाउँछु । अब छोराछोरीको स्कुल भर्ना गर्ने बेला भयो । किताब–कापी खरिद गर्न छ । खर्च सम्झिएरै तनाव हुन्छ । ग्यास, चामल किन्नलाई ३/३ महिनामा मिल्ने सामाजिक सुरक्षा भत्ताले पुग्छ । छोराछोरीलाई मासु खान मन लागे उधारोमा किनेर ल्याउँछु । छोराछोरीको फिस महिनाको १० हजार आउँछ । हाम्रो आर्थिक अवस्था बुझेर स्कुलले आधा मात्र शुल्क लिइरहेको छ ।
छोराछारीका हरेक इच्छा–चाहाना पूरा नगरे पनि राम्रोसँग पढाउन सकेको खण्डमा आफूलाई भाग्यशाली आमा ठान्ने थिएँ । त्यसैका लागि हाडछाला घोटिरहेकी छु । हुर्किंदै जाँदा ठूलो कक्षासम्म बोर्डिङमै पढाउन नसकूँला । तर सरकारी स्कुल पठाएर भए पनि छोराछोरीलाई उनीहरुको खुट्टामा उभ्याउन मन छ । एक्लै ज्यान हुन्थ्यो भने गाउँमा बस्थेँ । खर्च पनि हुन्थेन होला । छोराछोरी भएपछि आफ्नो भन्दा उनीहरुको माया लाग्ने रै'छ । उनीहरुको भविष्यको चिन्ताले सताउने रै'छ ।
प्रस्तुति : आरती पौडेल
