एक हातमा सामानको पोको, अर्को हातमा नुन र पिठ्युँमा चामलको भारी बोकेर उकाली–ओराली गर्दा पसिना मात्र होइन, कहिलेकाहीँ त आँसु नै बग्थे
डडेलधुरा — मैले जीवनमा धेरै कुरा समय बितेपछि बुझेको छु । सबैभन्दा महत्वपूर्ण कुरा त पढाइको महत्व समयमा बुझिनँ । किनकि पुर्ख्यौली घर रजोडाबाट सदरमुकाम पुग्नै ४/५ घण्टा लाग्थ्यो । त्यही हिँडनका दुःखले ८ पढ्दापढ्दै छाडेँ । बिहेबारीपछि परिवार रेखदेखको जिम्मेवारी आइलाग्यो । सदरमुकामको बागबजारमा सानो खुद्रे व्यापार सुरु गरेँ । उतिबेला बागबजारलाई बाघखोड भन्ने गर्थे । किराना व्यापारले घर खर्च चलाउन सहायता पुग्यो ।
अहिले ५७ वर्षको भएँ । २८ वर्षदेखि यही काम गरिरहेको छु । परिवारमा श्रीमती, ५ छोरी, २ छोरा छन् । १६ वर्षजति बागबजारमै खुद्रा व्यवसाय गरेँ । त्यसपछि एउटा गोदाम भाडामा लिएर व्यापारीलाई किरानाका सामान बेच्न थालेँ । गोदाममा चाउचाउ, बिस्कुट, सर्फ र साबुन राख्थेँ । २/४ पैसा नाफा खाएर यहीँकै व्यापारीलाई बेच्थेँ । त्यसरी जम्मा भएको पौसले खान–लाउन पुर्याएको थिएँ ।
सुरुवातमा बागबजारमा १०–१२ वटा पसल थिए । पिठयुँमा डोको बोकेर बिहानदेखि बेलुकासम्म बजार डुलेर सामान पुर्याउथेँ । एक हातमा सामानको पोको, अर्को हातमा नुन हुन्थ्यो । पिठ्युँमा चामलको भारी । यसरी उकाली–ओराली गर्दा पसिना मात्र होइन, कहिलेकाही त आँसु नै बग्थे । सडक बने पनि गाडी चल्दैनथे । घरमा उत्पादन गरेका सागपात, दाल, घ्यु र मह बोकेर गाउँले बिहानै बिक्री गर्न बजार आउथेँ । बजारबाट नुन, तेल, साबुन किनेर फर्किन्थेँ ।
खुद्राबाट सुरु भएको मेरो व्यापार थोकसम्म पुर्यो । तीन वर्षदेखी कबाडी समानको किनबेच गरिरहेको छु । किराना सामानबाट गुजाराबाहेक नभएपछि यो व्यापारमा लागेको हुँ । संकलन भएका कबाड सामग्री राख्न तुफानडाँडामा टिनको छाप्रो बनाएको थिएँ । दुई महिनाअघि नगरपालिकाले सडक विस्तार गर्ने क्रममा छाप्रो हटायो । त्यसपछि खुला ठाउँमा सामान राख्ने गरेको छु । अलिकति जम्मा हुनेबित्तिकै ठेकदारलाई बिक्री गर्छु । कापीकिताब र टुटेफुटेका फलाम खरिद गरेर नजिकैको ढुन्ढुने बजारको कबाडी संकलन केन्द्रलाई बिक्री गर्छु ।
अहिले फलाम ४० रुपैयाँमा किनेर ४५ मा बेच्छु । कापीकिताब १० रुपैयाँ किलोमा किनेर १३ मा बिक्री गर्छु । धेरै मुनाफा मिल्दैन । त्यही हो, सामान धेरै जुटेका बेला एकपटकमा दुई हजारजति बचत हुन्छ । थरीथरी व्यापारले गरेर छोराछोरीको पालनपोषण गरियो । छोरीहरुको बिहे भइसक्यो ।
जेठो छोरो गत वर्ष सरकारी जागिरे भयो । आयुर्वेदमा नाम निकालेर अहिले पाल्पा जिल्लामा कार्यरत छ । अहिले डेरामा कान्छो छोरा र म बस्छौं । ४ हजार कोठा भाडा छ । ४/५ हजार रासन खर्च आउँछ । कान्छो छोरो इन्जिनियरिङ पढ्दै छ । सरकारी कलेजमा भर्ना गर्दा १५ हजार शुल्क लाग्यो । कलेजले मासिक शुल्क छुट गरिदिएकाले कापी कलममा महिनाको १५ सयजति खर्च हुन्छ ।
घरमा रहेकी श्रीमतीका लागि आवश्यक रासनपानी यहीँबाट पठाउँछु । अब एक वर्षमा कान्छो छोराको पढाइ सकिएपछि व्यापारबाट बिदा लिने सोच बनाएको छु । कबाडी व्यापारबाट कहिलेकाहीँ त राम्रै कमाइ हुन्छ । सामान संकलन नभएका दिन उधारोमा रासनपानी किन्नुपर्छ । व्यापारको कुनै ग्यारेन्टी नभए पनि काम छोडिएन भने पेट पालिन्छ ।
सँगसँगै व्यापार सुरु गरेका केही साथी काठमाडौं पुगेर ठूलो व्यवसायी बनेका छन् । कोही घर फर्किएर खेतीपाती गरिरहेका छन् । म चाहिँ यहीँ पसिना बगाएर रोजीरोटी कमाइरहेको छु । हिम्मत हारेको छैन ।
प्रस्तुति : तर्कराज भट्ट
