‘सहकारीमा जम्मा गरेको ८ लाख डुबेपछि घर न घाटको भइयो’

घाम, ठिही होस् या बर्सात, मलाई कुनै मतलब हुँदैन; व्यापारबाट दुई-चार पैसा कमाइ भए पुग्छ

वैशाख १३, २०८२

मोल्हे भुजवा

”After sinking 8 lakhs deposited in the cooperative, there was no house or ghat”

बर्दिया — म जस्ता दुःखीलाई वैशाखे घामको रापले पोलेको देख्ने को नै छ र ? त्यसैले त कुनै गुनासो नगरी घामको रापताप सहेर आगो सामुन्ने दिनभर बस्छु । तन र मनमा जस्तैसुकै पीडा भए पनि ग्राहकलाई ताजा र स्वादिष्ट मकै पोलेर खुवाएकै छु ।

४५ वर्ष भइसक्यो मैले बर्दिया जिल्ला अदालतअगाडि बाटो छेउमा बसेर व्यापार गर्न थालेको । अहिले मकै पोल्ने सिजन भएकाले यही काम गरेको छु । हिउँदमा बदाम र कहिलेकाहीँ हरियो तरकारी बिक्री गरेर घरखर्च जोहो गर्दै आएको छु । घाम होस कि ठिही या बर्सात, मलाई कुनै मतलब हुदैन । व्यापारबाट दुई-चार पैसा कमाइ भए पुग्छ ।

म ६० वर्षको भएँ । गुलरिया नगरपालिका–६ पुरानो गाविस टोलमा बसोबास छ । मैले पोलेको मकै र मम्फ्ली खाएकाहरु प्रशंसा गर्दै फर्केर आउने गर्छन् । प्रत्येक मध्याह्न साइकलमा सामान बोकेर आइपुग्छु । पहिले यहाँ रहेको बरको छायामा बसेर व्यापार गर्थें । सडक फराकिलो बनाउने क्रममा बरको रुख मासिएपछि च्यातिएको छातामुनि बस्नुपरेको छ ।

गुलरिया बजार धेरै बदलिसक्यो । तर यसले मेरो जीवनमा केही फरक पारेको छैन । हिजोआज सबेरै उठेर बालापुर, आसापुर र खैरापुरतिरबाट हरिया मकै खोजेर ल्याउँछु । किसानको खेतमा पुग्दा प्रतिघोगा १५ रुपैयाँमा मकै पाइन्छ । एकपटकमा ५० देखि ६० घोगा ल्याउँछु ।

बजारतिर पोलेको मकैको प्रतिघोगा २५ रुपैयाँमा बिक्री भइरहेको छ । दिनभरि घाममा खटिँदा पनि आम्दानीको ठेगान हुँदैन । कहिले ३-४ सय कमाइ हुन्छ । कहिले दिनमा ५ सयसम्म कमाइ भइहाल्छ । कमाएको सबै बचत हुने भए त गजब हुन्थ्यो नि । खर्च पनि उस्तै हुन्छ । प्रत्येक दिन मकै पोल्नका लागि २ सय रुपैयाँको कोइला, ६० रुपैयाँको एक प्याकेट प्लास्टिकको झोला खरिदग र्छु । नुन-खुर्सानीको चट्नी बनाउन एक सयको मसला किन्नुपर्छ ।

बाटोमा बसेर व्यापार गरेबापत नगरपालिकालाई प्रत्येक दिन २० रुपैयाँ कर तिर्नुपर्छ । यसरी कमाएको पैसाले मिठोमसिनो खान र नयाँ लुगा लगाउन पाए त हुन्थ्यो । दुःख गरेर आर्जे पनि परिवारसित बसेर आरामले खान भाग्यमा लेखेकै रहेनछ ।”After sinking 8 lakhs deposited in the cooperative, there was no house or ghat”

आपत्–विपत्‌मा सहयोग पुग्ला भनेर ८ लाख रुपैयाँ नमस्ते बचत तथा ऋण सहकारीमा जम्मा गरेको थिएँ ।त्यो पनि कष्टसाथ गरेको आर्जनमा डेढ कठ्ठा जग्गा बेचेर आएको रकम । बचत हिनामिना गरेर सहकारीका सञ्चालक र कर्मचारी सम्पर्कविहीन भए । बचत डुबेपछि अहिले घर न घाटको भइयो । घरमा चोरी हुन्छ भनेर रकम सहकारीमा जम्मा गरेको थिएँ । सहकारी नै चोर निस्केपछि के गर्नु र ? नमस्ते सहकारीले मजस्ता धेरैको रकम डुबाएर गयो । दु:खकष्ट गरेर जिउने धेरैजना बर्बाद भएका छौं । सहकारीका कर्मचारी भागेको पनि ३/४ वर्ष पुग्न लाग्यो । कसैले सोधखोज गरेनन् । अब त रकम फिर्ता गर्लान भन्ने आसै मरिसक्यो ।

हिजोआज महँगीको जमाना छ । पानीबाहेक सबै चिज किनेर खानुपर्छ । जति कमायो घरखर्चमै ठिक्क हुन्छ । महिनामा २२ सयको चामल, ६-७ सयको दाल, पुगनपुग दुई हजारको खाना पकाउने ग्यास खरिद गर्नुपर्छ । नुन, तेल, तरकारी, मसलामा ४-५ हजार खर्च भइहाल्छ । कहिलेकाहीँ माछामासु खाँदा पनि २ हजारजति खर्च हुन्छ । खेत छैन । सात जनाको परिवार भएकाले धेरै सामान चाहिन्छ । अहिले आएर दुई छोराले पनि मेलामजदुरी गरेर कमाउने भएकाले भोकै सुत्न र एकसरो कपडाबिना बस्नुपरेको छैन ।

२५ वर्षदेखि दमको रोगी हुँ । निरन्तर औषधि खानुपर्छ । स्वास्थ्य बिमा भएकाले दबाईको खर्च त्यति लाग्दैन । जाडोमा सास फेर्न धेरै गाह्रो हुन्छ । सकीनसकी कर्ममा विश्वास गरेर काम गरिरहेको छु । बाँकी उपरवालाको हातमा छ ।

प्रस्तुति : रामप्रसाद चौहान

मोल्हे

Link copied successfully