जन्मिएको २२ दिनमै जीवनसाथी गुमाएपछि छोरा हुर्काउन मैले झेल्नुपरेको महाभारत सायदै कसैले अनुमान गर्न सक्ला
सप्तरी — उपचार खर्च नभएर पतिको ज्यान बचाउन नसकेका दिन सम्झिन पनि चाहन्नँ । छोरा जन्मिएको २२ दिन मात्र पुगेको थियो घरवाला गुमाउन पुगेँ । त्यसपछि छोरा हुर्काउन मैले खुबै दुःख पाएँ । महाभारत नै भयो भन्दा हुन्छ । अहिले उमेरले ५० वर्ष पुगेँ । तर सास्ती उस्तै छ ।
त्यस्तै १६–१७ वर्ष पुगेपछि सामाजिक परम्पराअनुसार बलानबिहुल–४, बेल्हीका मो. मकाउद्दिनसँग मेरो विवाह भयो । दिनचर्या गजब चले पनि तीनछोरी पैदा हुनासाथै बिते । त्यतिबेला म खुबै दुःखी भए । लामो समयपछि छोरा जन्मियो । म र पति दुवै औधी खुसी भयौं । २०६०/०६१ सालतिर देशमा जतातत्तै गोली र बम पड्केको खबर रेडियोबाट सुनिन्थ्यो । त्यहीबेला हामीसँग पनि चन्दा मागियो । तत्कालीन समयमा तीन दिनभित्र चन्दाबापत ४ लाख बुझाइसक्न फर्मान गरियो । हामीसँग कहाँबाट त्यत्रो पैसा हुनु ! फेरि चन्दा नदिए ज्यान लिने धम्की दिइएकाले आपतमा थियौं । चन्दा नदिए मलाई मारिदिन्छन्, अब के गर्ने ? भनेर उहाँले सोध्नुभएको थियो । केही विकल्प देखिनँ र मपनि नाजवाफ बनेँ ।
निन्द्रा लाग्न छाडयो । सानो बच्चा बोकेर पतिको पछिपछि कतै जाने अवस्था पनि थिएन । मलाई बलुवा (बिहार) मा राखेर म केही समयका लागि उहाँ बम्बई (मुम्बई) तिर जानुभयो । तर, म बलुवामा बसेको कुरा उनीहरुले थाहा पाएछन् । त्यहाँ पनि चन्दा बुझाउन ताकेता गर्न थाले । पैसा नबुझाए जहाँ छ त्यहीँ पतिलाई मारिदिने धम्की दिए । आफूसित पैसा नभएको र रकमको जोहो गर्न श्रीमान् कतै जानुभएको छ भनेँ । केही दिनपछि चिनजानकै व्यक्तिले अब चन्दा दिनुपर्दैन पतिलाई बोलाएर गाउँमै ढुक्कसँग बस्न भने । चिनेकै मान्छेले विश्वास दिलाएपछि होला त भन्ने भयो । उहाँलाई सम्पर्क गरेर गाउँ फर्किन भनेँ । उहाँ त फर्किनु त भयो तर शव बनेर । घाँटी थिचेर उहाँको हत्या गरिएको रहेछ । सिमानामा फयाँकिएको अवस्थामा शव फेला परेको थियो । छोराको हत्याको शोकमा सासू पनि केही दिनमै बित्नुभयो ।
मेरो माइती टिकुलियाबाट छोरालाई हुर्काउन सहयोग मिल्यो । फेरि सधैं माइतीको भर पर्नु पनि ठिक होइन भन्ने लागेर सुरुमा अरुको खेतबारीमा काम गर्दै छाक टार्दै गएँ । खेतबारीको काम मौसमी भएकाले बाह्रैमास घर खर्च चल्थेन । त्यसपछि गुजाराका लागि गाउँगाउँमा डुलेर कबाडी सामान साबुनसित सट्टापट्टा गरेर कबाडी संकलन गर्न थालेँ । अहिले पनि म त्यही काम गर्छु । प्लाष्टिक, टिना र फलाम गरेर दिनमा ३०/३५ किलो संकलन भइहाल्छ । दुई किलो टिना वा प्लास्टिकबापत एउटा साबुन दिन्छु । एक किलो फलामबापत २ वटा साबुन दिन्छु । साबुनको १७ रुपैयाँ पर्छ । फलाम बेच्दाखेरि किलोको ४०/४२ रुपैयाँसम्म आउँछ । किलोमा ६ देखि ८ रुपैयाँ नाफा छ । किलोमा २० रुपैयाँसम्म नाफा हुन्छ ।
बिहानदेखि दिउँसो २-३ बजेसम्म गाउँगाउँ डुलेर संकलन गरेको कबाडीका सामान बेच्दा दिनमा पाँच सय रुपैयाँसम्म नाफा हुन्छ । ऐलानीमा घरमा छ । थोरै बटैया (अधियाँ) मा खेती गर्ने भएकाले चामल किन्नुपर्दैन । आफू, बुहारी, एउटी नातीकालागि दिनमा १ सयको तरकारी, ३० रुपैयाँको मसाला किन्नुपर्छ । टमाटर, अदुवा र बेसारमा ५० रुपैयाँ खर्च भइहाल्छ । नातीकालागि १० रुपैयाँको विस्कुट/चकलेट किन्नुपर्छ । ४/४ दिनमा डेढ सय रुपैयाँको खाने तेल, नून ल्याउनुपर्छ । विद्युत र इन्टरनेटको बिल तिर्न दिनकै ५० रुपैयाँ बचाउनुपर्छ ।
यता जति दुःख गरेपनि केही सीप नलागेपछि ६ महिनाअघि २० वर्षे छोरालाई कुबेत पठाएँ । उसलाई पठाउँदा ६ लाख रुपैयाँ ऋण लागेको छ । अहिले छोराले पठाएको सबै रकम साहुँलाई नै तिर्नुपर्छ । फेरी हामीले कुनै सरकारी सुविधापनि पाएका छैनौं । द्वन्द्वकालमा मारिएका गाउँकै केही परिवारले सरकारी सुविधा पाएको देख्छु । तर, हाम्रो पहुँच नै हुन सकेन । त्यसैले बुढेसकालमापनि शरीरलाई आराम दिन सकेकी छैन् । अहिले भारी बोक्न ज्यादै अप्ठ्यारो हुन्छ । खुट्टा पनि बेस्सरी दुख्छन । ऋणसम्म चुक्ता गर्न सकेका दिन यस्तो काम छाड्ने थिए ।
प्रस्तुति : विद्यानन्द राम
