दुई-चार पैसा बचत गरेर छाप्रोमा इँटाको पर्खाल लगाउने सपना देखेको धेरै भयो तर कहिल्यै पूरा हुँदैन
बारा — पुस्तौंदेखि महागढीमाई नगरपालिका–२, इनर्वास्थित मुसहर बस्तीमा बसोबास छ । खरको झुपडीमा ६ जनाको परिवार अटसमटस बसिरहेका छौं । चार दाजुभाइ मध्ये कान्छो हुँ । अहिले ३५ वर्षको भएँ ।
सबै जनाको अलग–अलग चुलो छ । पुर्खाले आर्जेको ६ धुर घडेरीमा चारै दाजुभाइले चारवटा फुसको झुप्रा बनाएर बसेका छौं । हाम्रो बस्तीका ४० वटै परिवारको अवस्था एउटै हो । अभाव अनि छाप्राको बास ।
घरमा श्रीमती, २ छोरा र २ छोरी र म छौं । ‘पुस्ता से पेटवे–लोटवे चलतबा । कमायके आखाय के बा ।’ दिनभरि कमाइ गर्यो, साँझ बिहान पेटभरि खानपनि मुस्किल पर्छ । थाल र पानी पिउने लोटा हेरेरै जिन्दगी कटाउनुपरेको छ । परिवार त के हाम्रो समुदायमै धनपैसाको कुरा हुँदैन । दिनभरि खेतीपातीमा मजदुरी र ज्यालादारी गर्छौं । ज्यालाले दुई छाक खान नपुग्ने भएकाले दिक्क लाग्छ । मुसहर जातिको एउटै लक्ष्य भनेको पेट भर्ने हो । कमाएको पैसा बासी रहँदैन, जुनदिन कमाउँछु त्यहीँ खर्चिन्छु ।
खेतबारीमा ज्यालामा काम गरेर वर्षको १०/१२ मन धान र ५/६ मन गहुँ कमाउँछु । खेतीपाती बाहेकको समय इँटाभट्टामा काम गर्छु । दुई महिनाजति भट्टामा काम गरेर हात पर्ने २०–२५ हजारले घर खर्च चल्छ । त्यसबाहेक गाउँसमाजमा कुनै अवसर पर्दा सापटी खोजेरै चलाउनुपर्छ । बिरामी, विवाह, चाडपर्व र श्राद्ध कार्यका लागि वर्षमा २०–२५ हजार कर्जा लाग्छ । यस्ता कार्यका लागि लिएको कर्जा चुकाउन वर्ष दिन काममा जोतिनुपर्छ । दुई/चार पैसा बचत गरेर छाप्रोमा इँटाको पर्खाल लगाउने सपना देखेको धेरै भयो । तर, कहिल्यै पूरा हुँदैन । नयाँ लुगाफाटो किन्न गाह्रो हुन्छ । मासुका लागि वर्षमा एकपटक आफैंले पालेको सुँगुर र कुखुरा काट्छौं । गाउँघरमा खाल्डाखुल्डी, पैनी र खेतमा गरही, पोठे र डेढी माछा मारेर खान्छौं ।
खेतधनीले काममा गएका दिन घरेलु मदिरा र सख्खर पानी पिलाउँछन् । वर्षैभरि आलुको तरकारी र भात खान्छौं । हरियो तरकारी हेर्ने हो, खान पाइँदैन । घिरौंला, टमाटर, लौका ५/१० रुपैयाँ किलो भएका बेला किनेर खान्छौं । पोषिलो खानपान नपाएर गर्भवती र बच्चामा कुपोषण हुन्छ । गेडागुडीसँगै, दूध–दही, अण्डा खान सकिँदैन ।
छोराछोरीलाई अहिले सरकारी विद्यालयमा पठाउँछु । स्कुलमा फिस लाग्दैन । स्लेटमा कखरा सिकेपछि उनीहरुका लागि कलमकापी किन्ने बेला खर्च चाहिन्छ । त्यसपछि उनीहरुको पढाइ टुटाउने त होला । मुसहर जातिमा निजी अस्पताल र पढाइका लागि निजी विद्यालय जाने परम्परा छैन । नगरपालिकाले उपलब्ध गराएको खाना पकाउने ग्यास र चुल्हो एकपटक प्रयोग गरियो । पछि पैसा नभएपछि घरमै थन्काएका छौं । फेरि ग्यास भर्नका लागि पैसा जुटेको छैन । वर्षभरि दाउराको जोहो गरेर छानामा राख्छौं । बर्खामा त्यही दाउरा भिजेपछि चुलोमा आगो बल्दैन । त्यस्तो बेला चिउरा र दालमोठ खाएर रात काट्छौं ।
सबैतिर सरकारले दलित र विपन्नका लागि सरकारी आवास बनाइदिएको खबर सुन्छौं । तर, हाम्रो बस्तीमा सरकार कहिले आउँछ, थाहा छैन । खानलाई एक किलो चामल किन्न त गाह्रो छ, कहाँबाट ग्यास भर्ने ? पानीको साह्रै टन्टा भएपछि चार दाजुभाइ मिलेर दैलो अगाडि एउटा चापाकल गाडेका थियौं । अहिले त्यो पनि सुकेको छ । चर्पी छैन । त्यसैले मिर्मिरेमा खुलाचौरमा शौच गर्न जान्छौं । त्यस्तोबेला किराकाटीको डर लाग्छ ।
नेताहरु पनि भोट हाल्ने बेला मात्रै मुसहर बस्तीमा आउँछन् । त्यतिबेला रोटी, कपडा र मकानको माग पूरा गर्छु भनेर आश्वासन दिन्छन् । चुनाव सकिएपछि आश्वासन पनि हराउँछ । छाप्रोमा सुत्नलाई खाट छैन । जाडोमा ओढ्ने सिरक हुँदैन । चिसोले अत्याएका बेला सुकुल र लुगाफाटो ओढ्छौं । आफैंले पुरानो कपडा सिलाएर ‘गुद्री’ बनाएर काम चलाउँछु । गर्मीमा त जता पल्टिए पनि रात कटिहाल्छ ।
प्रस्तुति : लक्ष्मी साह
