श्रद्धालुको दानले धानिएको दैनिकी
कपिलवस्तु — आँत ठिहिर्याउने चिसो होस् कि तालु पोल्ने र खलखली पसिना निकाल्ने गर्मी काम नगरी कमाइ छैन । १३ वर्षदेखि पुरातात्विक स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) को चौर वरपर सरसफाइको काम गरिरहेको छु । सफाइको काम गरेबाट पाउने पैसा नै मेरो घरखर्च धान्ने मेसो बनेको छ ।
तिलौराकोटदेखि दुई सय मिटर टाढा कपिलवस्तु–३ को तिलौरा गाउँमा मेरो घर छ । मलाई सबैले गुने थारु भनेरै चिन्छन् । ७२ वर्षको भएँ । तर हुस्सु, चिसो स्याठ केही नभनी पेट भर्न काम गर्नैपर्ने छ ।
बाक्लो लुगा नहुँदा एउटा टिर्सट बाहिर दुईवटा कमिज लगाएर चिसो छल्न खोजे पनि ठिहिर्याइरहेको छ । बाक्लो हुस्सुले काम्दा पनि झाडु लगाउने काम रोकेको छैन । दैनिक मिहिनेत गरेर तिलौराकोट चिरिच्याट्ट पारे पनि सरसफाइ कर्मचारी नभएकाले मासिक तलब पाउँदैन । तर घुम्न आउने स्वदेशी/विदेशी तीर्थालु र पर्यटकले दिने दान नै मेरो परिवारको छाक टार्ने मुख्य आधार हो ।
घरमा ५९ वर्षकी श्रीमती कोउली, २५ र २१ वर्षका दुई छोरा र एक नवविवाहित बुहारी छिन् । परिवार पाल्ने दायित्व मेरै काँधमा छ । परिवारको संख्या बढे पनि आम्दानी नबढ्दा चिन्ता भने बढेकै छ । मैले पाउने दानको कुनै टुंगो नभए पनि घरखर्चको टुंगो भने हुन्छ नै । कहिलेकाहीं एक सयदेखि एक हजार रुपैयाँसम्म हात पर्छ ।
कहिले त सुको पनि मिल्दैन । नुनतेल र चुलोचौको गरेर महिनामा ५५ सय खर्च हुन्छ । महिनामा तीन पोका नुनका लागि ७५ रुपैयाँ खर्च गर्छु । दाल, चामल, पिठो र चुलोचौकोमा ३ हजार ६ सय ७५ रुपैयाँ खर्च गर्छु । परिवारमा कोही सदस्य फ्याट्ट बिरामी परिहाल्यो भने ऋण काढ्नुपर्छ । लुगाफाटो किन्नु पर्यो भने त रिन थपिन्छ ।
हात थापेर महिनामा दुई–चार हजार रुपैयाँसम्म कमाउँछु । त्यतिले घरखर्च नधानेपछि मसँग टाउको ठोक्दै बस्नुको विकल्प हुँदैन । दिनको दुई कप चिया पिउँदा ३० रुपैया खर्च हुन्छ । कहिलेकाहीं चिया पिउँदा पनि कतै फजुल खर्च त गरिरहेको छैन भनेर सोच्छु ।
स्कुलमा पाइला नराखेका दुवै छोराको जागिर छैन । जेठा छोराले बेलाबखत पाउने ज्यालाको कमाइ घरखर्च धान्न एक छेउ पनि पुग्दैन । हिजोआज घरमै बसेर फाल्तुको समय गुजारिरहेको कान्छो छोरा मजदुरी गर्न केरला जाने कुराले केही आशावादी बनाएको छ । भर्खर विवाह गरेका जेठा छोराले ज्याला मजदुरी गरेर कहिलेकाहीं दैनिक ५ सय कमाउँछन् । त्यहीँ ज्याला मजदुरी पनि नियमित नहुँदा महिनाको ४/५ हजार पनि कमाउन सक्दैन ।
छोराहरू हुर्केबढे पनि कमाउन नसक्ने भएकाले मेरै मुख ताकेर बस्छन् । छोराहरूले खर्च माग्छन्, तर मसँग हुँदैन । त्यही भएर दिनै सक्दिनँ । कुनै कुनै महिना नुन–तेलमा खर्च गरेर एकाध सय रुपैयाँ बच्छ । तर त्यस्तो बचत बेलाबखत आउने पाहुनापाछाको स्वागतमा खर्च भइजान्छ ।
कुनै कुनै महिना त यस्ता हुन्छन्, दाल–चामल नै कसरी जोहो गर्ने भन्ने चिन्ताले सताउँछ । त्यस्तो बेला फेरि घर नजिकैको जानकी मन्दिर जान्छु । त्यहाँ बस्ने साधुसन्तले साँझ–बिहान पकाएका भाँडा माझ्छु । यति काम गरेपछि मलाई पेटभर खान मिलिहाल्छ । तर, मेरो पेट भरेर मात्र भएन, उता परिवार भोकै हुन्छ ।
पैसा अभावले चार वर्षयता मैले नयाँ कपडा किनेको छैन । नयाँ जुत्ता नलगाएको ६ वर्ष भयो । तिलौराकोटमा आएका पर्यटक, तीर्थयात्रीले कहीलेकाहीं दानमा कपडा पनि दिन्छन् । कतिपयले पुराना लुगाफाटा दिन्छन् । त्यही कपडा जतन गरेर नफाटुन्जेल लगाई राख्छु ।
वर्षौं भइसक्यो श्रीमती कोउलीका निम्ति कपडा किनिदिन सकेको छैन । श्रीमती पनि तिलौराकोट परिसरमा रहेको समयमाई मन्दिर सरसफाइ गर्छिन् । मन्दिरमा पूजा गर्न आउने श्रद्धालुले चढाएको कपडा सिलाएर लगाउँछिन् । १३ वर्षदेखि परिवारको गुजारा यसरी नै चलिरहेको छ । कहिलेकाहीं त मलाई लाग्छ, भगवान्ले नै मेरो छाक जुटाइदिइरहेका छन् ।
नदीझैं सधैं सुस्साइरहने दुःखका कथा मात्रै मसँग छैनन्, सुनाउन मिल्ने एकाध खुसीका झिल्का पनि छन् । मैले एकपटक एक श्रद्धालुबाट दुई हजार रुपैयाँ दान पाएँ । त्यो दिन खुसीले भुइँमा खुट्टै रहेनन् । सधै यस्तो खुसी कहाँ मिल्छ र ? कहिलेकाहीं त दिनभरि सरसफाइ गर्यो एक रुपियाँ पनि दान मिल्दैन । त्यस्तो बेला निराश भएर घर फर्किन्छु ।
मेरो मनमा अनेकन् सपना नभएका होइनन् । बुढ्यौलीमै भए पनि जग्गा किनेर सानो घर बनाउने धोको मनमा गढेर बसेको वर्षौं भइसक्यो । तर, यो अधुरो धोकोले मलाई बेलाबखत त्यसै त्यसै सताउँछ । बचत छैन, एक दिनमा कमाइ हुने सय/पचास पनि खानामै खर्च हुन्छ । यसरी कहिले पो घर बनाउन सकुँला र !
तीन दशकअघि पूर्वपश्चिम राजमार्गको बडहराबाट तिलौराकोट आएको थिएँ । अहिले पनि एक कठ्ठा ऐलानी जग्गामा बनेको टिनको छानो भएको दुई कोठे घरमा गुजारा चलाइरहेको छु । खरको छानो भएको घरमा दुई वर्षअघि कपिलवस्तु नगरपालिकाले सहायतास्वरूप दिएको जस्ताको छानो हाल्न पाएकामा भने मेरो मनमा थोरै भए पनि सन्तोष छ ।
प्रस्तुति : मनोज पौडेल
