नेपालको शिक्षा प्रणाली र पठन संस्कृति बुझ्न बेलायती विद्यार्थी लमजुङमा

बेंसीसहरस्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयसँग २ दशकदेखि चलिरहेको ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमअन्तर्गत उनीहरु नेपाल आएका हुन् ।

श्रावण ६, २०८३

आश गुरुङ

British students in Lamjung to understand Nepal's education system and reading culture

What you should know

लमजुङ — नेपालको शिक्षा प्रणाली र पठन संस्कृति बुझ्न बेलायतको गिल्डफोर्डस्थित रोयल ग्रामर स्कुल र टोरमिड स्कुलका १८ विद्यार्थी र ४ शिक्षक एकैसाथ नेपाल आएका छन् । 

बेंसीसहरस्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयसँग २ दशकदेखि चलिरहेको ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमअन्तर्गत उनीहरु नेपाल आएका हुन् । बेलायती विद्यार्थीले विद्यालयका कक्षा, प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र शिक्षण विधिको अवलोकन गरे । उनीहरु भूपू सैनिक आवासीय माविका कक्षा ९ र १० का १९ विद्यार्थीसँगै बसेर पठनपाठनमा सहभागी भए । बेलायतबाट आएका सबै विद्यार्थी कक्षा ११–१२ सरहमा अध्ययनरत हुन् । मौलिक पोसाकमा सजिएर विद्यार्थीले देखाएको सांस्कृतिक प्रस्तुतिले बेलायती विद्यार्थी मन्त्रमुग्ध भए । उनीहरु अतिरिक्त क्रियाकलपाहरु धान रोप्ने कार्यमा समेत सहभागी बने ।

बेलायती विद्यार्थीलाई पुस्तकको पाठमात्रै नभई संस्कृति र जीवनशैली पनि सिकाइको विषय बन्यो । नेपाली विद्यार्थीले गुरुङ संस्कृति, स्थानीय रहनसहन र विद्यालय जीवनबारे आफ्ना अनुभव सुनाउँदा बेलायती विद्यार्थीले आफ्नो देशको शिक्षा प्रणाली, विद्यालय गतिविधि र विद्यार्थी जीवनबारे जानकारी साटासाट गरे । समूहगत छलफल, सिर्जनात्मक कार्यक्रम र सांस्कृतिक कार्यक्रमले बेलायती र नेपाली विद्यार्थीबीच सहज मित्रता पनि गाँसिएको शिक्षक अनुकला गुरुङले सुनाइन् ।

British students in Lamjung to understand Nepal's education system and reading culture

रोयल ग्रामर स्कुलका चार्ली वेष्टकोट्टले इन्टरनेटमा पढेको नेपालभन्दा प्रत्यक्ष अनुभव गरेको नेपाल धेरै फरक लागेको बताए । ‘सबैभन्दा बढी फरक यहाँको आत्मीयता लाग्यो,’ उनले सुनाए । उनले नेपाली विद्यालयमा शिक्षक र विद्यार्थीबीचका आत्मीय सम्बन्ध, सहयोगी व्यवहार र विद्यालयभित्रको अनुशासित वातावरण राम्रो लागेको बताए ।

टोरमिड स्कुलका सोफिया गोन्चरुकले नेपाली विद्यार्थी र शिक्षकको लगनशीलता, सिकाइप्रतिको प्रतिबद्धता र समुदायसँग जोडिएको विद्यालय संस्कृतिले प्रभावित भएको बताइन् । ‘नेपाली भाषा, संस्कृति, परम्परा र दैनिक जीवनशैलीलाई प्रत्यक्ष अनुभव गर्ने अवसरले नेपाल बसाइ अझ अर्थपूर्ण बन्नेछ,’ उनले भनिन् । 

भूपू सैनिक आवासीय माविका विद्यार्थी रिनुका गुरुङले यो अवसरबाट अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने ढोका खोलेको बताइन् । प्रिन्सिपल विनोद गुरुङका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई सीमित कक्षाकोठाभन्दा बाहिरको संसारसँग जोड्ने काम गर्छ । ‘यो हाम्रा विद्यार्थीका लागि सिकाइको एउटा अवसर हो,’ उनले भने । 

बेलायतका विद्यालय र नेपालको विद्यालयबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै आगामी दिनमा यस्ता कार्यक्रम विस्तार गर्ने योजना बनाएको उनले सुनाए । 

उक्त विद्यालय र बेलायतका दुई विद्यालयबीचको सम्बन्ध २० वर्षअघि सुरु भएको हो । यसमा विद्यालयका संस्थापक बेलायती सेनाका भूपू क्या. रणबहादुर गुरुङसहित परिवारको ठूलो हात छ । उनी हाल बेलायतमा छन् । हरेक वर्ष विद्यार्थी र शिक्षकलाई एकअर्काको देशमा पुगेर प्रत्यक्ष अनुभवबाट सिक्ने अवसरले नेपालको शिक्षा, संस्कृति र मित्रतामा सकरात्मक सन्देश प्रवाह भएको प्रिन्सिपल गुरुङले बताए ।

सहायक प्रिन्सिपल सुबोध नेउपानेका अनुसार असार ३१ गते भूपू सैनिक आवासीय मावि आएका  बेलायती टोलीलाई साउन ४ गते बिदाइ गरिएको छ । उनीहरु बेंसीसहरबाट लमजुङको घलेगाउँ, भुजुङ हुँदै पसगाउँको बाटो भएर कास्की पोखराका लागि हिँडेका छन् । ‘रोयल ग्रामर स्कुल र टोरमिड स्कुलबाट आएका विद्यार्थीले नेपाली शिक्षा प्रणाली, प्रयोगात्मक सिकाइ, विद्यालय व्यवस्थापन र सांस्कृतिक जीवनको प्रत्यक्ष अनुभव लिएका छन्,’ उनले भने ।

दुवै विद्यालयबीचको शैक्षिक र सांस्कृतिक आदान–प्रदान गर्न आगामी अर्को वर्ष भूपू सैनिक आवासीय माविबाट ४ विद्यार्थी र १ जना शिक्षक बेलायत जाने तयारीमा छन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully