लुम्बिनीका १२ जिल्लामध्ये रुपन्देही उत्कृष्ट
बुटवल — एसईई नतिजामा बुटवलको कालिका मावन ज्ञान प्राविधिक धारतर्फ देशकै पहिलो र साधारणतर्फ दोस्रो बनेको छ । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार प्राविधिक धारतर्फका ४७ जना विद्यार्थीमध्ये २ जनाले ४ जीपीए ल्याउँदै सबै उत्तीर्ण भएका हुन् । प्राविधिक शिक्षा अध्यापन गराइरहेका देशभरका सामुदायिक विद्यालयमध्ये शतप्रतिशत नतिजा प्राप्त गर्ने कालिका मानवज्ञान मात्र रहेको उनले बताए ।
‘विद्यालयमा कम्प्युटर इन्जिनियरिङतर्फ यस वर्ष एसइई परीक्षामा सहभागी कुल ४७ जना विद्यार्थीमध्ये २ जना ४ जीपीएसहित सबै विद्यार्थी उत्तीर्ण भएका छन्,’ उनले भने, ‘२७ जनाले ३.६ देखि ३.९८ जीपीए, १५ जना विद्यार्थीले ३.२ देखि ३.५९ जीपीए र ३ जनाले २.८ देखि ३.१९ जीपीए ल्याएका छन् ।’ नियमिततर्फको नतिजामा भने देशभरमा दोस्रो र लुम्बिनी प्रदेशमा पहिलो भएको उनले बताए । नियमिततर्फ कालिका मानवज्ञानबाट ४ जनाले ४ जीपीए ल्याएका छन् ।
कालिका मानवज्ञान देशकै सबैभन्दा धेरै विद्यार्थीले अध्ययन गर्ने विद्यालय हो । कालिका मानवज्ञानमा देशका ६५ भन्दा बढी जिल्लाका विद्यार्थीहरूले अध्ययन गर्ने गरेका छन् । विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र अभिभावकलाई सम्मान पनि गरेको छ । २०८२ को एसईई परिक्षामा कालिका मानवज्ञानको उत्कृष्ठ नतिजासहित रूपन्देही जिल्लाले पनि नतिजा सुधार गरेको छ ।
जिल्लाभर परीक्षामा सहभागी भएका १७ हजार ४ सय ४२ विद्यार्थीमध्ये ११ हजार ६ सय ५८ जना विद्यार्थी ग्रेडेड भएका छन् भने ५ हजार ७ सय ८५ जना नन–ग्रेडेड भएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीका अनुसार जिल्लाको समग्र ग्रेडेड प्रतिशत ६६.८ रहेको छ । उनले यस वर्षको नतिजालाई सन्तोषजनक र सकारात्मक भएको बताए ।
पन्थीका अनुसार रूपन्देहीबाट मात्रै ८२ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । परीक्षा सञ्चालनदेखि उत्तर पुस्तिका परीक्षणसम्म केही आशङ्का रहे पनि नतिजा अपेक्षाभन्दा राम्रो आएको उनले बताए ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट ६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार ५ सय ९६ विद्यार्थीमध्ये १ सय ५८ जनाले ३.६ देखि ३.८, १८७ जनाले ३.२ देखि ३.५९, १३२ जनाले २.८ देखि ३.१९ र ३४ जनाले २.४ देखि २.७९ जीपीए प्राप्त गरेका छन् ।
सामुदायिक विद्यालयतर्फ कान्ति माविबाट ४ जनाले ४ जीपीए ल्याएका छन् । निजीतर्फ अक्सफोर्ड माविबाट ११ जना, दीप बोर्डिङबाट ७ जना, प्यारामाउन्टबाट ६ जना, न्यु होराइजन बोर्डिङ स्कुलबाट ४ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । न्यू होराइजनका प्रधानाध्यापक वासुदेव अर्यालका अनुसार १ सय ३३ जनाले 'ए' प्लस, ९६ जनाले 'ए', ७१ जनाले 'बी' प्लस र १७ जनाले 'बी' ग्रेड प्राप्त गरेका छन् ।
