बर्दिया र रुपन्देहीका अधिकांश केन्द्रमा उत्तरपुस्तिका परीक्षण सकियो, दाङ, बाँके, रोल्पा, प्यूठानलगायतका जिल्लामा शुक्रबारदेखि परीक्षण सुरू हुने
What you should know
बुटवल — लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । केही जिल्लामा रोस्टर बनाउन समय लागेकाले शुक्रबार बिहानदेखि सुरू गर्ने तयारी छ ।
शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनीका अनुसार प्रदेशका १२ जिल्लामध्ये दाङ, प्यूठान, रोल्पा र बाँके जिल्लामा परीक्षण सुरु हुन सकेको छैन । ती जिल्लामा परीक्षा समन्वय समितिले बैठक बसेर बिहीबार रोस्टर तयार गर्ने शुक्रबारदेखि अंग्रेजी र नेपाली दुवै विषयको परीक्षण सुरु गर्ने गरी निर्णय भएको छ । अन्य जिल्लामा परीक्षण सुरु भएको र बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गर्न निर्देशन गरिएको निर्देशनालयका निमित्त महानिर्देशक हरिलाल अर्यालले बताए ।
यस वर्ष लुम्बिनी प्रदेशबाट नियमित (साधारण तथा प्राविधिक धार) तर्फ ७२ हजार ८० जना र ग्रेडवृद्धितर्फ १६ हजार ९ सय ३७ जना गरी जम्मा ८९ हजार १७ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी भएका छन् । परीक्षा सञ्चालनका लागि प्रदेशका १२ वटै जिल्लामा ३ सय ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ती सबै केन्द्रमा बिहीबारदेखि नै उत्तर पुस्तिका परीक्षण पनि सुरू गर्न निर्देशन गरिएको भए पनि कतिपय केन्द्राध्यक्षहरूले रोस्टर तयार गर्न ढिलाइ गरेकाले बिहीबार परीक्षण हुन नसकेको हो ।
धेरै जिल्लामा भने परीक्षण सुरू भएको उनले बताए । ‘धेरै जिल्लामा उत्तरपुस्तिका परीक्षण सुरू भइसकेको छ,’ उनले भने, ‘बिहीबार नै सुरू गर्न नसकेका केन्द्रहरूले नजिकको प्रहरी कार्यालयमा उत्तरपुस्तिका राखेर शुक्रबार बिहानैदेखि परीक्षणको तयारी गरिरहेका छन् ।’ परीक्षणका लागि माध्यमिक तहमा अध्यापन गराइरहेको स्थायी शिक्षक र स्थायीबाट मात्र सम्भव नभएमा अस्थायी वा करारका शिक्षक भए पनि रोस्टरमा समावेश गरेर उत्तरपुस्तिका परीक्षण गराउन निर्देशन गरिएको उनले बताए ।
निर्देशनालयले उत्तरपुस्तिकामा प्राप्त अंकमा त्रुटि नहोस् भनेर त्यसको रेकर्ड राख्नका लागि ‘ट्याब वान’ र ‘ट्याब टु’ प्रणाली प्रयोग गर्न निर्देशन गरेको छ । त्यसमा विद्यार्थीको सिम्बोल नम्बर र प्राप्त अंक लेख्ने स्थान हुन्छ । जुन ट्याब वान र टु दुवैमा अंक र अक्षरमा लेख्ने गरी व्यवस्थापन गरिएको र त्यसलाई केन्द्राध्यक्ष, सुरक्षा निकाय र उत्तरपुस्तिका परीक्षण गर्नेहरूको रोहबरमा सिलप्याक गरी लाहाछाप लगाई तीन दिनभित्र जिल्ला शिक्षा समन्वय इकाईमा पठाउने गरी व्यवस्थापन गरिएको महानिर्देशक अर्यालले बताए । ‘जिल्ला शिक्षा समन्वय इकाईहरूमा प्राप्तांक कम्प्युटराइज गर्ने जनशक्ति र सफ्टवेयर पनि नभएकाले परीक्षा नियन्त्रण कार्यालयमै पठाउने वा इकाईहरूमै राख्ने विषयमा छलफल जारी छ,’ उनले भने, ‘भोलिसम्ममा यसको पनि टुंगो लाग्छ होला ।’
रुपन्देहीका सबै केन्द्रमा बिहीबारदेखि नै उत्तरपुस्तिका परीक्षण सुरू भएको छ । जिल्लाका ५८ वटै परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण सुरू भएको र प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहित आफूहरूले त्यसको अनुमगन र निरीक्षण गरिरहेको शिक्षा समन्वय इकाई प्रमुख विष्णुप्रसाद पन्थीले बताए । ‘धेरै केन्द्रमा परीक्षण बिहीबार नै सक्ने गरी परीक्षण भइरहेको छ,’ उनले भने, ‘धेरै विद्यार्थी भएका केन्द्रहरूमा आज नसकिए भोलि परीक्षण गर्ने गरी नजिकको प्रहरी केन्द्रमा उत्तरपुस्तिका राख्ने व्यवस्था मिलाएका छौं ।’ रुपन्देहीका सबै केन्द्रहरूमा हरेक दिनको उत्तरपुस्तिका त्यही दिन नै परीक्षण गरेर सक्ने गरी तयारी गरिएको उनले बताए ।
लुम्बिनी प्रदेशमा परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन ३ सय ३८ केन्द्रका लागि केन्द्राध्यक्ष, ६ सय ३७ सहायक केन्द्राध्यक्ष, ४ हजार ४ सय ६७ निरीक्षक, ६ सय ६९ परीक्षा सहायक र ६ सय ७६ कार्यालय सहयोगी गरी ६ हजार ७ सय ८७ जना जनशक्ति परिचालन गरिएको सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले बताए ।
