एसईईको पहिलो दिन रामेछापमा १८ विद्यार्थी अनुपस्थित, परीक्षा सकिएलगत्तै उत्तर पुस्तिका जाँच सुरु

बिहीबार रामेछापमा साधारणतर्फ १ हजार १ सय २३ छात्रा र ९ सय ९७ छात्र गरी २ हजार १ सय २० विद्यार्थीले परीक्षा दिएका छन्। प्राविधिक धारतर्फ ६३ छात्रा र ८१ छात्र गरी १ सय ४४ जनाको सहभागिता रह्यो।

चैत्र १९, २०८२

नवराज श्रेष्ठ

18 students absent in Ramechhap on first day of SEE, answer sheet checking begins immediately after exam

What you should know

रामेछाप — बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा रामेछापमा १८ जना विद्यार्थी अनुपस्थित भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार साधारणतर्फ ५ जना छात्र र १२ जना छात्रा गरी १७ जना विद्यार्थी परीक्षा दिन उपस्थित भएनन् भने ग्रेड वृद्धितर्फ १ जना परीक्षार्थी अनुपस्थित भएका छन्।

साधारणतर्फ उमाकुण्ड गाउँपालिकाको बाम्ती परीक्षा केन्द्रमा १ जना छात्रा, गोकुलगंगा गाउँपालिकाको बेतालीमा १ छात्रा र १ छात्र, रामेछाप नगरपालिकाको साँघुटारमा १ छात्रा अनुपस्थित भएका छन्। त्यसै गरी खाँडादेवी गाउँपालिकाको पकरबासमा २ छात्रा, दोरम्बा शैलुङ गाउँपालिकाको टोकरपुरमा १ छात्रा र २ छात्र, मन्थली नगरपालिकाको मन्थली क्याम्पसमा १ छात्रा तथा नागकन्या मावि परीक्षा केन्द्रमा ५ छात्रा र २ छात्र अनुपस्थित भएका छन् । 

बिहीबार रामेछापमा साधारणतर्फ १ हजार १ सय २३ छात्रा र ९ सय ९७ छात्र गरी २ हजार १ सय २० विद्यार्थीले परीक्षा दिएका छन्। प्राविधिक धारतर्फ ६३ छात्रा र ८१ छात्र गरी १ सय ४४ जनाको सहभागिता रह्यो।

यस वर्षदेखि लागू गरिएको नयाँ कार्यविधिअनुसार परीक्षा सकिएकै दिन उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्था लागू गरिएको छ। सोही अनुसार जिल्लाका सबै परीक्षा केन्द्रमा सम्बन्धित पालिकाको शिक्षा शाखासँग समन्वय गर्दै आवश्यक सुरक्षा व्यवस्थासहित जाँच कार्य भइरहेको शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्रमुख गजुरेलले जानकारी दिए।

विशेष गरी मन्थली नगरपालिकास्थित मन्थली मावि, मन्थली क्याम्पसका तीन केन्द्र र नागकन्या माविमा शिक्षा विकास तथा समन्वय इकाइमा उत्तर पुस्तिका परीक्षण भइरहेको छ। प्रत्येक दिन परीक्षा सम्पन्न भएलगत्तै जाँच सुरु गरी साँझ ८ बजेसम्म सक्ने लक्ष्यअनुसार काम भइरहेको शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले जनाएको छ । 

दुई नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापमा यस वर्ष १४ वटा परीक्षा केन्द्रमार्फत एसईई सञ्चालन भइरहेको छ। सुनापति, दोरम्बा शैलुङ, खाँडादेवी, उमाकुण्ड र गोकुलगंगामा एक–एक परीक्षा केन्द्र छन् भने लिखुतामाकोशी गाउँपालिका र रामेछाप नगरपालिकामा दुई–दुई केन्द्र सञ्चालनमा छन्। जिल्ला सदरमुकाम रहेको मन्थली नगरपालिकामा भने ५ वटा परीक्षा केन्द्रबाट परीक्षा भइरहेको छ ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully