त्यसबेला ९ कक्षा पढ्न पनि जिल्ला छोड्नु पर्थ्यो : धनलाल

जिल्लामा ९ कक्षाभन्दा माथि पढाइ नहुने भएकाले २०१४ सालमा जुद्धोदय माध्यमिक विद्यालयबाट आफूले एसएलसी उत्तीर्ण गरेको धनलाल श्रेष्ठले बताए । मकवानपुरबाट एसएलसी उत्तीर्ण गर्ने आफू नै पहिलो व्यक्ति भएको पनि उनको दाबी छ ।

चैत्र १८, २०८२

प्रताप विष्ट

At that time, even to study in 9th grade, one had to leave the district: Dhanlal

What you should know

हेटौंडा — मुलुकको शिक्षा क्षेत्रमा यस्तो परिवर्तन आउला भन्ने ठानेका थिएनन् । टोल/टोलमा स्कुल, गाउँका मुख्य बस्तीमा क्याम्पस स्थापना होलान् भनेर ८७ वर्षीय धनलाल श्रेष्ठले कल्पनासम्म गरेका थिएनन् । उनको जीवनकालमै शिक्षा क्षेत्रमा भएको विकास देखेर उनी अहिले दंग छन् । 

२०१२ सालमा मकवानपुरको  भीमफेदी स्कुलबाट  ८ कक्षा उत्तीर्ण गरेपछि काठमाडौं पुगेर ९ कक्षा पढ्नु परेको स्मरण गर्दै श्रेष्ठले भने, ‘जिल्लामा ९ कक्षा पढाइ हुने स्कुलसम्म थिएनन् ।’ 

जिल्लाको पूर्वसदरमुकाम भीमफेदीमा २००४ सालमा ८ कक्षासम्म पठनपाठन गराइने भीमआधार स्कुल स्थापना गरिएको थियो । भीमफेदी सदरमुकाममात्र थिएन, उपत्यका  र तराई आउजाउ गर्ने मुख्य बजारको प्रवेशद्वार नै थियो । यहाँ बास बस्नका निम्ति राणाहरुले आकर्षक भवन निर्माण गरेका थिए । त्यही बेला स्कुल स्थापना गरिएको थियो ।

भीमफेदीमै जन्मिएका धनलालले भीमआधार स्कुलबाट ८ कक्षा उत्तीर्ण गरेको बताए । ‘९ कक्षा पढ्नका निम्ति काठमाडौंस्थित दिदीको घरमा गएको थिएँ,’ उनले भने, ‘दिदी–भिनाजुले जुद्धोदय माध्यमिक विद्यालयमा ९ कक्षामा भर्ना गरिदिए ।’ २०१४ सालमा त्यही स्कुलबाट उनले एसएलसी उत्तीर्ण गरेको बताए । एसएलसी उत्तीर्ण गर्ने जिल्लाको आफू पहिलो व्यक्ति भएको उनको दाबी छ  । त्यतिबेला भीमफेदीबाहेक ८ कक्षासम्म पठनपाठन हुने अन्य विद्यालय खुलेका थिएनन् । उनीसँग ८ कक्षामा ५ जना सहपाठी थिए । ती सबै भीमफेदीका बासिन्दा थिए । आर्थिक कारणले चार जना काठमाडौं जान सकेनन् । ‘दिदीको  घर काठमाडौं भएकाले त्यहीँ बसेर पढ्ने अवसर पाइयो,’ श्रेष्ठले भने, ‘नत्र भने मेरो हालत पनि अन्य चार सहपाठीको जस्तै हुने थियो ।’

तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण भएपछि उनी भीमफेदीमा नै फर्केर भीमआधार स्कुलमा प्राथमिक तहको शिक्षक बने । त्यहीँबाट उनले प्राइभेट परीक्षा दिएर आईए र बीए उत्तीर्ण गरेका थिए । उनी अंग्रेजी शिक्षक थिए । ‘धनलाल सरले भीमफेदीमा अंग्रेजी पढाउनु हुन्थ्यो, विद्यार्थीलाई बुझाउन सक्ने क्षमता उहासँग थियो,’ ७७ वर्षीय देवप्रसाद श्रेष्ठले भने, ‘उहाँले मजस्ता हजारौं विद्यार्थीलाई अंग्रेजी पढाउनु भयो ।’ २०१८ सालमा भीमफेदीस्थित भीमआधार स्कुल हाईस्कुल (मावि)मा स्तरोन्नति भयो । उक्त हाईस्कुलको श्रेष्ठ पहिलो प्रधानाध्यापक पनि बने । 

उक्त विद्यालयको नाम महेन्द्र हाईस्कुल (मावि) राखियो । झण्डै साढे तीन दशक उक्त विद्यालयको प्रधानाध्यापक बनेर श्रेष्ठले शिक्षाको ज्योति फैलाइरहे । उक्त विद्यालयबाट सरुवा भएर उनले हेटौंडाको भुटनदेवी मावि, वंशगोपाल मावि, श्रमिक मावि र महेन्द्र मावि मनहरीमा पनि प्रधानाध्यापक बनेर शैक्षिक क्षेत्रमा योगदान पुर्‍याए । उनी महेन्द्र मावि मनहरीबाट २०५५ सालमा सेवानिवृत्त भएका थिए । अहिले उनी हेटौंडा उपमहानगरपालिका–४ मा बसोबास गर्छन् । १९९५ सालमा जन्मिएका श्रेष्ठ अहिले बुढ्यौलीको कारणले सुस्त गतिमा हिँड्ने र बोल्ने गर्छन् । उनका तीन छोरा, दुई छोरी र पत्नी छन् । श्रेष्ठको सोमबार काठमाडौंमा पोस्टेटको शल्यक्रिया गरिएको छ ।

२०२१ सालमा हेटौंडा उपहानगरपालिका–४ स्थित भुटनदेवी स्कुललाई पनि माविमा स्तरोन्नति गरियो । २०२५ सालमा साबिकको दामन पालुङ एवं हालको थाहा नगरपालिकास्थित जनकल्याण मावि स्थापना गरियो । २०३२ सालमा हेटौंडामा एसएलसी परीक्षा केन्द्र राखिएको थियो । उक्त परीक्षाको सुपरिटेन्ड कमल थापा थिए । २०३२ सालअघि एसएलसी परीक्षा दिन हेटौंडा, भीमफेदी लगायत ठाउँबाट छात्रछात्रा वीरगन्ज जानु पर्थ्यो भने थाहा नगरपालिकालगायत उत्तरी क्षेत्रका विद्यार्थी काठमाडौं जानु पर्थ्यो । ५० वर्षको अन्तरालमा अहिले मकवानपुरमा एसईईका परीक्षा केन्द्र २८ वटा रहेका छन् । जिल्लाका सबै पालिकामा परीक्षा केन्द्र रहेका छन् । 

मकवानपुरमा गत वर्षको तुलनामा बिहीबारदेखि हुन गइरहेको एसईईमा परीक्षार्थीको संख्या घटेको छ । मकवानपुरमा १ सय ५ वटा सामुदायिक माध्यमिक विद्यालय र ३७ वटा संस्थागत विद्यालयका विद्यार्थी एसईई परीक्षामा संलग्न हुँदै छन् । नियमिततर्फ ५ हजार ५ सय २७ र ग्रेडवृद्धितर्फ १ हजार ६५ गरी ७ हजार १ सय ९२ परीक्षार्थी एसर्ईईमा सहभागी हुँदै छन् । गत वर्षको परीक्षार्थीको संख्याभन्दा यस वर्ष २ सय ६४ परीक्षार्थी कम रहेको शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरीले बताए ।  

‘अधिकांश विद्यालयले योग्यता परीक्षा अर्थात् टेस्टमा नै विद्यार्थीलाई अनुत्तीर्ण गराउने कारणले पनि एसईईको परीक्षार्थीको संख्या कम हुँदै गएको छ,’ उनले भने, ‘समग्रमा  विद्यालयमा विद्यार्थी संख्या पनि घट्दै गएको छ ।’

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully