कार्यक्रममा एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्राध्यापकहरूको सहभागिता रहेको थियो ।
What you should know
ललितपुर — काठमाडौं विश्वविद्यालयले विश्वविद्यालयमा कार्यरत अन्तर्राष्ट्रिय प्राध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
विश्वविद्यालयको ललितपुरस्थित स्कूल अफ म्यानेजमेन्ट हातामा सम्पन्न उक्त कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्ले, रजिस्ट्रार प्रा डा राजीव श्रेष्ठ, विभिन्न संकायका डिनहरू तथा विभिन्न देशबाट आएका दर्जनभन्दा बढी प्राध्यापकहरूको सहभागिता थियो ।
विश्वविद्यालयमा अध्यापन गरिरहेका अन्तर्राष्ट्रिय प्राध्यापकहरूको अनुभव आदान–प्रदानको उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी प्राध्यापकहरूले नेपालमा बसोबास र अध्यापन गर्दा प्राप्त गरेका अनुभव, शैक्षिक वातावरण, विद्यार्थीहरूको जिज्ञासा तथा अन्तरसांस्कृतिक सिकाइका पक्षहरूबारे धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै उपकुलपति प्रा. डा. अच्युत वाग्लेले विश्वविद्यालयले अन्तर्राष्ट्रिय प्राध्यापकलाई प्रोत्साहन गर्ने स्पष्ट नीति अवलम्बन गर्दै आएको उल्लेख गरे । अन्तर्राष्ट्रिय शैक्षिक अभ्यास र अनुभवले विश्वविद्यालयको अध्ययन–अध्यापन सुदृढ हुने विश्वास व्यक्त गर्दै प्रा. डा. वाग्लेले थप अन्तर्राष्ट्रिय प्राध्यापकहरु नियुक्त गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा विश्वविद्यालयको बौद्ध अध्ययन कार्यक्रमका प्रमुख थोमस डक्टरले नेपालमा बौद्ध परम्परा अध्ययनप्रति विश्वव्यापी चासो बढ्दो क्रममा रहेको उल्लेख गर्दै कार्यक्रमको अन्तर्राष्ट्रिय स्वरूपले यस क्षेत्रमा थप अवसर सिर्जना गरेको बताए ।
कार्यक्रममा एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्राध्यापकहरूको सहभागिता रहेको थियो । हाल काठमाडौं विश्वविद्यालयमा दुई दर्जन अन्तर्राष्ट्रिय प्राध्यापकहरू अध्यापनरत छन् । विश्वविद्यालयले अन्तर्राष्ट्रिय प्राध्यापक नियुक्ति गर्ने नीतिअनुसार हालै अन्तर्राष्ट्रिय प्राध्यापकका लागि आवेदन आह्वानसमेत गरेको छ । जसमा करीब ४०० अन्तर्राष्ट्रिय प्राध्यापकको आवेदन प्राप्त भएको र आवश्यकता अनुसार विभिन्न स्कुलहरुले नियुक्ति प्रक्रिया अघि बढाएको विश्वविद्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय सहकार्यमार्फत गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने नीतिअनुरुप हालसम्म ३०० शैक्षिक संस्थासँग सहकार्यको सहमति गरेको छ । विश्वविद्यालयका कुल स्नातकमध्ये १२ प्रतिशत विदेशी विद्यार्थी रहने गरेका छन् ।
