अपांगता भएका विद्यार्थीको परीक्षा होम सेन्टरमा गरिने

उत्तरपुस्तिकासमेत छुट्टै संकलन र परीक्षण गर्नुपर्ने व्यवस्थासहितको निर्देशिका ल्याउँदै राष्ट्रिय परीक्षा बोर्ड

पुस ९, २०८२

सुदीप कैनी

Examinations for students with disabilities will be held at home centers.

What you should know

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले अपांगता भएका विद्यार्थीलाई होम सेन्टर (पढेकै विद्यालयको परीक्षा केन्द्र) मै परीक्षा दिन पाउने व्यवस्था गर्ने भएको छ । बोर्डले अपांगता भएका परीक्षार्थीका लागि परीक्षा सहजीकरण निर्देशिका २०८२ को मस्यौदा सार्वजनिक गर्दै यस्तो व्यवस्था प्रस्ताव गरेको हो । मस्यौदामा १० पुससम्म सुझाव दिन सरोकारवालालाई आग्रहसमेत गरिएको छ ।

निर्देशिकामा अपांगता भएका परीक्षार्थीका लागि सकेसम्म होम सेन्टर कायम गरी परीक्षा सञ्चालन गर्नुपर्ने, परीक्षा केन्द्र अपांगतामैत्री हुनुपर्ने उल्लेख छ ।

अपांगता भएका विद्यार्थीको उत्तरपुस्तिकासमेत छुट्टै संकलन र परीक्षणको व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ । ‘परीक्षा केन्द्रले अपांगता भएका परीक्षार्थीको उत्तरपुस्तिका अपांगता नभएका परीक्षार्थीको उत्तरपुस्तिकासँग नमिसाई अलग्गै प्याक गरी पठाउनुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

बोर्डले गर्ने एसईई र कक्षा १२ को परीक्षामा अपांगता भएका विद्यार्थीले अन्य विद्यार्थीसरह तोकिएकै परीक्षा केन्द्रमा गएर परीक्षा दिनुपर्ने बाध्यता छ । उत्तरपुस्तिका पनि छुट्टै पठाउने स्पष्ट व्यवस्था छैन । परीक्षामा विद्यार्थीले प्रयोग गरिने सामग्रीबारे तजबिजमा निर्णय हुँदै आएको छ । अपांगता भएका विद्यार्थीले भोग्दै आएका अप्ठ्यारा र समस्या हटाउन निर्देशिका ल्याउन लागिएको बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जनाए । ‘सर्वपक्षीय छलफल गरेर मस्यौदा तयार पारेका छौं,’ उनले भने, ‘सुझावपछि अन्तिम रूप दिएर निर्देशिका कार्यान्वयन गरिन्छ ।’

निर्देशिकाले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ मा उल्लेख भएको अपांगताको प्रकारअनुसार विद्यार्थीलाई परीक्षामा पनि छुट्टाछुट्टै व्यवस्था गर्न सकिने व्यवस्था गरेको छ । ऐनमा शारीरिक, दृष्टि, सुनाइ, श्रवणदृष्टिविहीन, स्वर तथा बोलाइ, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तश्राव हेमोफोलिया, अटिजम र बहुअपांगतासम्बन्धी १० वटा प्रकार तोकेको छ । ‘अपांगताको प्रकृति र सघनता छुट्टिने गरी बोर्डले रजिस्ट्रेसन र परीक्षा आवेदन फाराम तयार गर्ने र विद्यालयले सोहीअनुसार फाराम भराउने व्यवस्था गर्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

अपांगता भएका विद्यार्थीले फाराममा आफूलाई पायक पर्ने परीक्षा केन्द्र छनोट गर्न पाउनेछन् । ‘अपांगता भएका परीक्षार्थीका लागि प्रकारअनुसार शान्त र कुनै किसिमको अवरोध नहुने कक्षाकोठामा बसाइ व्यवस्था गर्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ, ‘उनीहरूले विद्युतीय सामग्रीहरूको प्रयोग गर्न चाहेमा परीक्षा केन्द्रले उक्त सामग्री उपलब्ध गराउनका लागि न्यूनतम पूर्वाधार र उपकरणको व्यवस्था मिलाउनुपर्नेछ ।’

बोर्डले अपांगताको प्रकारबमोजिम परीक्षामा प्रयोग गर्न पाउने विद्युतीय सामग्रीको सूचीसमेत तयार पारेको छ । ‘परीक्षार्थीलाई प्रविधि प्रयोग गरी परीक्षा दिने वा सहयोगी राखी परीक्षा दिने भनी छनोटको अवसर दिनुपर्नेछ,’ निर्देशिकामा भनिएको छ, ‘प्रविधिको प्रयोग गर्नुपर्दा उपकरण जडान गरिसकेको अवस्थामा परीक्षार्थी स्वयंले प्रयोग गर्नुपर्नेछ ।’ सूचीमा समावेश भएकाबाहेक उपकरण प्रयोग गर्नुपर्ने अवस्था आए केन्द्राध्यक्षको पूर्वस्वीकृति लिनुपर्ने प्रस्ताव गरिएको छ ।

परीक्षा केन्द्रमा ह्विलचेयर प्रयोग गर्न मिल्ने गरी र्‍याम्प वा विद्युतीय भर्‍याङ, परीक्षा हल तथा शौचालयको ढोका तथा स्पर्श संकेतका साथै सांकेतिक भाषाका संकेत व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

परीक्षा कोठामा पर्याप्त प्रकाश र हावा ओहोरदोहोर हुने, ह्विलचेयर, वाकर वा अन्य सहायक सामग्री अटाउने गरी फराकिलो ठाउँको व्यवस्था गर्नुपर्ने, अटिजम, मानसिक, मनोवैज्ञानिक अपांगता भएका परीक्षार्थीका लागि ध्यान केन्द्रित गर्न मद्दत पुर्‍याउन शान्त वातावरणसहित उपयुक्त तापक्रम र आरामदायी बसाइ सुनिश्चित गर्नुपर्ने निर्देशिकामा तोकिएको छ ।

‘उमेरबमोजिम हुनुपर्ने औसतभन्दा ज्यादै कम उचाइ भएका परीक्षार्थीका लागि उचाइअनुरुपको डेस्क–बेन्च उपलब्ध गराउनुपर्नेछ,’ निर्देशिकामा भनिएको छ, ‘स्पेसल कर्ड इन्जुरी, एडीएचडी डायलाइसिस, अटिजम तथा मानसिक वा मनोसामाजिक अपांगता भएका परीक्षार्थीलाई परीक्षामा प्रतिघण्टा बढीमा १० मिनेटसम्मको विश्राम समयको व्यवस्था गर्नुपर्नेछ ।’

निर्देशिका कार्यान्वयनका लागि बोर्ड, स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ, विद्यालय, केन्द्राध्यक्ष लगायतको काम, कर्तव्य तथा अधिकार पनि तोकिएको छ । बोर्डलाई निर्देशिकाको व्यवस्था कार्यान्वयनका लागि तल्लो निकायमा निर्देशन दिन सक्ने अधिकार दिइएको छ ।

इकाइले जिल्लाभित्रका विविध किसिमका अपांगता भएका विद्यालय उमेरका बालबालिकाको तथ्यांक संकलन गर्नुपर्नेछ । इकाइ तथ्यांकका आधारमा जिल्लाभित्रका स्थानीय तहसँग समन्वय गरी अपांगता भएका विद्यार्थीका लागि परीक्षा केन्द्र निर्धारणको काम गर्नेछ । अपांगता भएका विद्यार्थीहरूको शिक्षामा पहुँच, सहभागिता तथा सिकाइ उपलब्धिमा सहजीकरण गर्न निर्देशिका जारी गर्न लागिएको बोर्डले जनाएको छ ।

सुदीप कैनी कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully