नेकपा बहुमत निकट अनेरास्ववियू (क्रान्तिकारी) का कार्यकर्ताले आइतबार बिहान बेलझुण्डीस्थित विश्वविद्यालय परिसरमा रहेको निवासमा पुगेर उपकुलपति धनेश्वर नेपाललाई मोसो दल्नुका साथै कुटपिट गरेका थिए ।
What you should know
दाङ — नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि भएको दुर्व्यवहारको विभिन्न संघ–संगठनले निन्दा गरेका छन् । प्राध्यापक, कर्मचारी र विद्यार्थी संघ–संगठनले प्रेस विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग पनि गरेका छन् ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य तथा विश्वविद्यालय इञ्चार्ज सुधिर शर्मा पोख्रेलले प्रेस विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गरेका छन् । यस घटनाबाट शैक्षिक क्षेत्रको सुरक्षामा गम्भीर असर परेको उल्लेख गर्दै उनले दोषीमाथि कारबाहीको माग गरेका छन् ।
यस्तै नेपाल संस्कृत विश्वविद्यालय प्रगतिशील कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष गणेश वली र केन्द्रीय कार्यालय इकाई समिति सचिव गंगा ढकालले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवं भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।
नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ जनता विद्यापीठ इकाई सभापति पुरुषोत्तम आचार्यले प्रेस विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।
नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेल, अनेरास्ववियूका सचिव सविन पोख्रेल, अखिल क्रान्तिकारीका अध्यक्ष गोविन्दकुमार मल्ल र राप्रविसंघका अध्यक्ष मुस्कान पोख्रेलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटनाको निन्दा एवं दोषीमाथि कारबाहीको माग गरेका छन् ।
नेकपा बहुमत निकट अनेरास्ववियू (क्रान्तिकारी) का कार्यकर्ताले आइतबार बिहान बेलझुण्डीस्थित विश्वविद्यालय परिसरमा रहेको निवासमा पुगेर नेपाललाई मोसो दल्नुका साथै कुटपिट गरेका थिए । तीन वटा मोटरसाइकलमा आएका छ जनाको समूहले विश्वविद्यालयका उपप्रशासक खिमबहादुर केसी र नेपालका स्वकीय सचिव चोलेन्द्र रिजाललाई पनि कुटपिट गरेका थिए ।
दुर्व्यवहारका क्रममा उनीहरूले ‘नेकपा बहुमत जिन्दावाद’ र ‘अखिल क्रान्तिकारी जिन्दावाद’ भन्ने नारा लगाएका थिए । अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले घटनाको जिम्मेवारी लिएको छ । क्रान्तिकारीका लुम्बिनी प्रदेश इञ्चार्ज प्रेमप्रशान्त बाहोराले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएका छन् । विज्ञप्तिमा भ्रष्टाचार र अनियमिततासम्बन्धी विभिन्न आठ वटा आरोप लगाउँदै कारबाहीको जिम्मेवारी लिइएको छ ।
घटनालगत्तै उनीहरू भागेका थिए । घटनाको अनुसन्धान गरी दोषीको खोजी गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले बताए ।
