दीक्षान्तका लागि गाउन लिएका धेरैले गाउन साइजअनुसार नभएको, पुरानो भएको र केही फाटेको गाउनसमेत भएको गुनासो सुनाए ।
What you should know
काठमाडौँ — परीक्षा नियन्त्रक कार्यालय, बल्खुको स्टोर शाखामा केही दिनयता लामो लाइन देखिन्छ। कार्यालयले पछिल्ला तीन दिनमा मात्रै करिब १३ हजार जनालाई दीक्षान्त समारोहमा लगाउने गाउन वितरण गरिसकेको छ।
१५ सय रुपैयाँ धरौटी बुझाएर गाउन लिन लाइनमा थिइन् इटहरी घर भएकी पूजा तिरुवा। स्नातक अध्ययन पूरा गरेपछि दीक्षित हुन काठमाडौं आएकी उनले केही बेर लाइनमा बसेर गाउन त हात पारिन्, तर त्यसपछि उनको अनुहारमा उत्साहको भाव देखिएन। किनकि उनले पाएको गाउनको साइज उनलाई चाहिनेभन्दा धेरै ठूलो थियो। उनले गुनासोको भावमा सुनाइन्, ‘गाउन धेरै पुरानो रहेछ, साइज पनि ठूलो, साडी लगाउँदा त पुरै छोपिन्छ होला।’
विश्वविद्यालयले यस वर्ष ५ हजार ५ सय नयाँ गाउन खरिद गरे पनि दीक्षान्तमा सहभागी हुनेको संख्या १६ हजार ३ सय ८० छ। एक जना विद्यार्थीले एउटा र अभिभावकका निम्ति दुई वटा गरी तीन वटा गाउन लिन सकिने व्यवस्था छ। यही तथ्यांक काफी छ, दीक्षान्त समारोहमा सहभागी सबैले नयाँ गाउन पाउँदैनन् भन्ने बुझ्न। दीक्षान्तका लागि गाउन लिएका धेरैले गाउन साइजअनुसार नभएको, पुरानो भएको र केही फाटेको गाउनसमेत भएको गुनासो सुनाए।
बुटवलका सुन्दर भट्टराई गाउन नपाइने डरले चार दिनअघि नै काठमाडौं आइपुगेका रहेछन्। व्यवस्थापन संकायमा स्नातक गरेका उनले विभिन्न संकाय र विद्यार्थीलाई एउटै साइजको गाउन दिनु अव्यवहारिक भएको बताए। उनले आफूले पाएको टोपी देखाउँदै भने, ‘टोपी पुरानो छ, च्यातिएको पनि छ। साट्न खोज्दा नमिल्ने भनियो, अब बाध्य भएर यही लगाउनुपर्यो।’ उनीसँग प्रश्न छ— विश्वविद्यालयले विभिन्न संकायअनुसार फरक पाठ्यक्रम र मूल्यांकन प्रणाली अपनाउँछ भने दीक्षान्तका पहिरनमा किन सबैलाई एउटै साइज? उनले काठमाडौं आउँदा बसोबास, खानपान र यातायातको खर्च थपिँदा पनि आफूले खोजेअनुसारको पहिरन नपाउँदा दुःख लागेको बताए।
बुटवलकै स्वस्तिका पाण्डेले पनि यस्तै अनुभव सुनाइन्। व्यवस्थापन संकायबाट स्नातक गरेकी उनले भनिन्, ‘सबै विद्यार्थीको शारीरिक बनावट फरक हुन्छ। एउटै साइज सबैलाई कसरी मिल्छ?’
गाउन लिन आउने विद्यार्थीका सबै अनुभव नकारात्मक मात्रै भने छैनन्। शंकरदेव क्याम्पसबाट स्नातकोत्तर गरेका खेमराज अवस्थीको हातमा नयाँ गाउन थियो। नयाँ गाउन पाएको खुसी सुनाए पनि उनले सँगै लिएको टोपी भने आफूलाई नमिलेको सुनाए। हाँस्दै भने, ‘एउटाको मिल्दा अर्कोको मिल्दैन। जे जस्तो भए पनि दीक्षित हुने रहर त पूरा गर्नुपर्यो नि।’
विद्यार्थीहरूको गुनासोबारे परीक्षा नियन्त्रक कार्यालयका सह–नियन्त्रक दावा शेर्पाको आफ्नै तर्क छ। उनले यस वर्षका लागि ५ हजार ५ सय गाउन खरिद गरिएको र ती मिडियम र नर्मल गरी दुई साइजमा मात्र उपलब्ध भएको बताए। ‘सबै विद्यार्थीको साइजअनुसार गाउन बनाउनु सम्भव हुँदैन,’ शेर्पाले भने, ‘दुई वटा साइज प्रायः सबैलाई मिल्छ। अपवादका रूपमा कसैको घुँडामाथि पर्छ, कसैको तलसम्म पुग्छ।’
सह–नियन्त्रक शेर्पाले यसपटक केही नयाँ र केही गत वर्ष प्रयोग भएका गाउन र टोपी पुनः प्रयोग गरिएको बताए। उनले हरेक वर्ष विद्यार्थी संख्या मूल्यांकन गरेर केही नयाँ थपिने र केही पुराना प्रयोग गरिने भएकाले विद्यार्थीले नयाँ वा पुराना जुनसुकै गाउन पनि पाउन सक्ने बताए। १५ सय रुपैयाँ धरौटी तिरेर लिइएको गाउन जस्ताको तस्तै फिर्ता गरेपछि ३ सय रुपैयाँ शुल्क काटेर बाँकी रकम भने कार्यालयले फिर्ता गर्ने गर्दछ।
