काठमाडौंका आधा दर्जन स्कुल र कलेजमा आगजनी/तोडफोड भएको थियो । धेरै क्षति पुगेका शिक्षण संस्थाले भने अनलाइनबाट पठनपाठन गरेका थिए ।
What you should know
काठमाडौँ — भदौ २४ को हिंसात्मक प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेका स्कुल र कलेज मर्मतसम्भारपछि आफ्नै भवनबाट सञ्चालन हुन थालेका छन् ।
खुमलटार र बाँसबारीस्थित युलेन्स स्कुल गत सातादेखि आफ्नै भवनबाट सञ्चालनमा आएको छ । प्रधानाध्यापक मेदनी लामिछानेले दुवै स्कुलमा ३ महिनापछि कक्षाकोठामा नै पठनपाठन थालिएको बताए ।
‘तीन महिनापछि आफ्नै भवनमा फर्किएका छौं,’ स्कुलले आफ्नो फेसबुक पेजमा विद्यार्थीहरु कक्षाकोठामा बस्दै र खेल्दै गरेको तस्बिर राखेर लेखेको छ, 'विद्यार्थीहरु कक्षाकोठा र सिक्ने ठाउँमा पाइला टेक्दा उत्साह र आनन्दले भरिएका छन् ।’
काठमाडौंका आधा दर्जन स्कुल र कलेजमा आगजनी र तोडफोड भएको थियो । आगजनीबाट धेरै क्षति पुगेका शिक्षण संस्थाले भने अनलाइनबाट पठनपाठन गरेका थिए । काठमाडौं महानगरपालिकाले समेत क्षति पुगेका शिक्षण संस्थालाई अनलाइन पठनपाठन गर्न सर्कुलर जारी गरेको थियो । मर्मत सम्भारपछि पूर्ववत् अवस्थामा कक्षाकोठा विद्यार्थी फर्किएका हुन् ।
युलेन्स फाउन्डेसनले खुमलटारस्थित पाँचवटा भवन, युलेन्स स्कुल बाँसबारीका तीनवटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टरमा आगजनी गरी क्षति पुर्याएको जनाएको थियो । फाउन्डेसनका अनुसार स्कुललाई एक अर्ब २५ करोड रूपैयाँ बराबरको क्षति पुगेको थियो । जसका कारण करिब १५ सय विद्यार्थीको पढाइ र पाँच सयभन्दा बढी कर्मचारीको रोजगारी जोखिममा परेको थियो ।
आगजनीबाट क्षति भएको बानेश्वरको ग्लोबल कलेजले भने कात्तिक अन्तिम सातादेखि नै कक्षाकोठामा पठनपाठन थालेको थियो । शैक्षिक क्यालेण्डरमा असर पुग्न नदिन छिटोछिटो काम गरेर कक्षाकोठामा पढाइ थालिएको प्रधानाध्यापक अम्बादत्त जोशीले बताए । ‘तत्काल अनलाइन कक्षा सञ्चालन गरियो । दसैं, तिहार, छठ लगायत चार्डपर्व छुट्टीमा पनि मर्मतसम्भार गरेर आफ्नै भवनबाट पढाइ सञ्चालनमा ल्याएका छौं,’ उनले भने ।
एक महिनादेखि विज्ञान र व्यवस्थापन विषयका ४ हजार विद्यार्थी आफ्नै कक्षाकोठामा पढ्दै आएको कलेजले जनाएको छ ।
भदौ २३ को जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर बानेश्वरको ग्लोबल कलेजका कक्षा १२ का १९ वर्षीय छात्र श्रेयम चौलागाईंको मृत्युसमेत भएको थियो । आगजनीबाट ग्लोबल कलेजलाई करिब ९० करोडको क्षति पुगेको थियो ।
युलेन्स र ग्लोबल कलेजका लाइब्रेरी, ल्याब, कक्षाकोठा, शैक्षिक सामग्रीसमेत जलेका थिए । तोडफोड र आगजनीमा परेका जेभियर इन्टरनेसनल, नाइटिंगेल, नामी लगायत शिक्षणसंस्थाले पनि आफ्नै कक्षाकोठामा पढाइ थालेका छन् । आगजनी र तोडफोडमा परेका शिक्षणसंस्थामा चोरी र लुटपाटका घटनासमेत भएका थिए ।
