प्रवेश परीक्षाको मेरिटमा अब्बल ठहरिएका तिवारीलाई चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति प्रतिस्पर्धाबाट अलग गराएको थियो।
काठमाडौँ — एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ७ औं स्थान हासिल गरे पनि छात्रवृत्तिको सूचीमा नपरेका छात्र प्रणव ज्ञवालीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
उनको तर्फबाट कानुन व्यवसायी नारायण खनालले रिट निवेदन दर्ता गराएका हुन्। प्रवेश परीक्षाको मेरिटमा अब्बल ठहरिएका तिवारीले छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न नपाउने निर्णय चिकित्सा शिक्षा आयोगले गरेको थियो।
प्रणव ज्ञवालीलाई भारतको मेघालय बोर्ड अफ स्कुल एजुकेसनबाट कक्षा १० पास गरेपछि चितवनको गुरुकुल स्कुलबाट ३.६५ जीपीएसहित कक्षा १२ उत्तीर्ण गरेको आधारमा ‘विदेशी विद्यार्थी’ भन्दै छात्रवृत्तिको सूचीबाट हटाइएको हो।
सामुदायिक र निजी विद्यालयबाट एसईई गरेका विद्यार्थीले प्रवेश परीक्षाको मेरिटको आधारमा छुट्टाछुटै प्रतिस्पर्धा गरेर निःशुल्क छात्रवृत्ति पाउने व्यवस्था चिकित्सा शिक्षा ऐनमा रहेको छ। ज्ञवालीले २ सय पूर्णाङ्कमा १७४.५ अंक ल्याएका थिए।
उनको पिता, बैदेशिक रोजगारमा रहेका चिन्तामणि ज्ञवाली, अनुसार करिब ४५ लाख रुपैयाँ शुल्क तिरेर छोरालाई एमबीबीएस पढाउने अवस्था उनीहरूको परिवारमा छैन।
