जुम्लाको गुठिचौरमा हिउँदे बिदामा नि:शुल्क कम्प्युटर शिक्षा

अहिले नै कम्प्युटर शिक्षा दिँदा माथिल्ला कक्षमा सहज हुने भएकाले अनिवार्य रुपमा कम्प्युटर सिकाउन थालिएको वडाध्यक्ष अर्जुनकुमार महाताराले जानकारी दिए ।

पुस ५, २०८२

डीबी बुढा

Free computer education during winter vacation in Guthichowr, Jumla

What you should know

जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिकामा हिउँदे बिदालाई मध्येनजर गर्दै विद्यार्थीलाई नि:शुल्क ट्युसनसँगै कम्प्युटर शिक्षा दिन थालिएको छ । आगामी चैत महिनामा एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई नि:शुल्क कम्प्युटर शिक्षा दिन सुरु गरिएको हो ।

अहिले नै कम्प्युटर शिक्षा दिँदा माथिल्ला कक्षमा सहज हुने भएकाले अनिवार्य रुपमा कम्प्युटर सिकाउन थालिएको वडाध्यक्ष अर्जुनकुमार महाताराले जानकारी दिए । उनले भने, ‘अहिले गाउँकै विद्यालयमा ट्युसन पढाउने र सँगै कम्प्युटर कक्ष चलाउने व्यवस्था मिलाइएको छ ।’

गुठिचौर-१ खड्कदेवी माध्यमिक विद्यालयमा हिउँदे ट्युसन कक्षसँगै नि:शुल्क कम्प्युटर पढाउने व्यवस्था गरिएको छ ।

हिउँदका तीन महिना जुम्लामा स्कुलहरु बिदा हुने गर्छन् । त्यो बेला विद्यार्थीहरु फुर्सदिलो हुने र पढाइमा ध्यान नदिने भएकाले यसपटकदेखि नियमित रुपमा पठनपाठन हुने गरेर ट्युसनको व्यवस्थापन गरिएको हो । गाउँमा ट्युसनसँगै कम्प्युटर कक्ष लिने भए पनि विद्यार्थीहरु दंग छन् । 

'गतवर्षसम्म सामल बोकेर खलंगामा ट्युसन पढ्न आउने विद्यार्थीहरु गाउँमै रोकिएका छन् । अभिभावकलाई आर्थिक भार पनि कम भयो । विद्यार्थीलाई खलंगामा ट्युसन पढ्नुपर्ने बाध्यता पनि हट्यो,' विद्यार्थी मुनप्रसाद बोहराले भने,‘यो पटक वडा सरकारले राम्रो व्यवस्था गर्‍यो ।’

'आगामी चैतमा यो क्षेत्रबाट ४२ जना विद्यार्थीले एसईई दिँदैछन् । राष्ट्र निर्माणको पहिलो आधार शिक्षा नै हो । शिक्षालाई प्रोत्साहन गर्नु स्थानीय सरकारको दायित्व हो,' वडाध्यक्ष महाताराले भने, ‘अब दक्ष र बिकाउ जनशक्ति उत्पादनमा सबैको ध्यान जानुपर्ने देखिन्छ ।’

पहिले खलंगामा आउँदा प्रतिविद्यार्थी मासिक १५ देखि २० हजार रुपैयाँसम्म खर्च हुने गरेको थियो । ५ देखि ७ हजार रुपैयाँसम्म ट्युसन शुल्क तिर्नुपर्ने अवस्था थियो । नुन, चामल, ग्यास, कोठा भाडालगायतमा न्यूनतम १० हजार रुपैयाँ खर्च हुने गरेको थियो,' अर्की विद्यार्थी अस्मिता थकालीले भनिन्,‘रुपैयाँ नभएर बाध्यताले गाउँमा थन्किनु परेका विद्यार्थीलाई राहत मिलेको छ ।’ उनले स्थानीय सरकारको यो कदमको खुलेर प्रशंसा गरिन् । वडा कार्यालयले वडाभित्रका विद्यालयबाट दक्ष शिक्षक छनौट गरेको छ । 

'पटकपटक वडाध्यक्षलगायतको टोलीले अनुगमन गर्नेदेखि शिक्षक र विद्यार्थी बीचमा छलफल चलाउने भएकाले पनि पढाइ गुणस्तरको छ,' वडाध्यक्ष महाताराले भने, ‘अब दुर्गमबाट दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विद्यार्थीहरु उत्पादन भइरहेका छन् ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully