काठमाडौं उपत्यकाका आधा दर्जनभन्दा बढी शिक्षण संस्थामा भदौ २४ गतेको प्रदर्शनका क्रममा आगजनी, तोडफोड र ढुंगामुढा गरिएको थियो ।
काठमाडौँ — जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेका शिक्षण संस्थाले अनलाइनबाट भर्चुअल कक्षा सञ्चालन गर्न थालेका छन् ।
भदौ २४ गतको प्रदर्शनमा आधा दर्जनभन्दा स्कुल, कलेजमा आगजनी, तोडफोड र ढुंगामुढा गरी क्षति पुर्याइएको थियो । प्रदर्शनको क्रममा युलेन्स स्कुल खुमलटार/बाँसबारी, ग्लोबल कलेज, जेभियर इन्टरनेसल, नाइटिंगेल, नामी स्कुलमा तोडफोड र आगजनी भएको थियो । तीमध्ये अधिकांशले अनलाइनबाट कक्षा सञ्चालन थालेका हुन् । काठमाडौं महानगरपालिकालेसमेत क्षति पुगेका शिक्षण संस्थालाई अनलाइन पठनपाठन गर्न सर्कुलर जारी गरेको थियो । शिक्षण संस्थाहरुले क्षतिको विवरण संकलन भइसकेको र यकिन भइनसकेको जनाएका छन् ।
युलेन्स स्कुलका प्रधानाध्यापक मेदनी लामिछानेले अनलाइन कक्षा सञ्चालन गरेर विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार नै अघि बढेको बताए । ‘एकसाता जति अनलाइनबाट पठनपाठन गयौं,’ उनले भने, ‘शुक्रबारबाट दसैं छुट्टि दिएका छौं ।’ शैक्षिक क्लालेण्डरमै घटनास्थापनादेखि छुट्टी रहेकाले त्यसलाई कार्यान्वयन गरिएको उनले जनाए । विद्यालय भवन, कक्षाकोठा, स्कुल गाडीहरु जलेर नष्ट भएपछि बालबालिकालाई अनलाइन कक्षामा सहभागी हुन स्कुलले आह्वान गरेपछि त्यही अनुसार गरेको युलेन्सका एक अभिभावकले बताए । ‘छोराछोरी पढ्न स्कुलमा आगजनी भएपछि हामीले पनि गएर हेर्यौँ । सुरुमा तोडफोड गरेका रहेछन् । पछि गार्डहरु लखेटेर पेट्रोल खनाएर आगजनी गरे छन्,’ ती अभिभावकले भने, ‘एउटा भवन पूर्ण रुपमा असर पुगेको देखिन्छ । ७०–८० गाडी थिए । तीमध्ये धेरैमा क्षति पुगेको हुनुपर्छ ।’प्रधानाध्यापक लामिछानेले क्षतिको पूर्ण विवरण संकलनकै क्रममा रहेको बताए ।
ग्लोबल कलेजले पनि शैक्षिक भवनमा आगजनी भएपछि कक्षा ११ र १२ का विद्यार्थीलाई अनलाइनबाट पठनपाठन थालेको जनाएको छ । ‘विज्ञान र व्यवस्थापन विषयका ४ हजार विद्यार्थीलाई भर्चुअल माध्यमबाट पढाइरहेका छौं । शैक्षिक क्यालेण्डरमा असर पुग्न दिँदैनौँ,’ प्रधानाध्यापक अम्बादत्त जोशीले भने । २३ गतेको जेन–जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा कक्षा १२ मा अध्ययनरत १९ वर्षीय छात्र श्रेयम चौलागाईंको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । मृतक विद्यार्थीप्रति शोक र श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै बाँकी विद्यार्थीको पढ्न पाउने अधिकारलाई निरन्तरता दिएको विद्यालयले जनाएको छ । प्रधानाध्यापक जोशीले कोभिडको बेलामा अभ्यासमा ल्याइएको अनलाइन कक्षालाई नै निरन्तरता दिएको बताए । ‘दुई दिनको प्रदर्शन र आन्दोलनपछि धेरै विद्यार्थीले काठमाडौं छाड्न थालिसकेका थिए । दुई वटा भवनमा पूर्ण रुपमा क्षति भएपछि अनलाइन कक्षा सञ्चालन गरिएको हो,’ उनले भने ।
विद्यालयले चाडपर्व छुट्टी सकिँदासम्म भवन मर्मतसम्भार गरेर कक्षाकोठामै पठनपाठनलाई निरन्तरता दिने जनाएको छ । ‘शैक्षिक क्यालेण्डरअनुसार अब छठपछि मात्र कक्षा सञ्चालन हुने हो । अहिले क्षति पुगेको भवनको सरसफाइमा छौं । रातदिन नभनी मर्मत, सम्भार गर्छौं । पहिलेकै अवस्थामा फर्केर कक्षाकोठाबाट पठनपाठन थाल्छौं,’ उनले भने । कात्तिक ११ गतेदेखि कक्षाकोठामा नै पढाइ थाल्ने विद्यालयले जनाएको छ ।
तोडफोड गरिएको जेभियर इन्टरनेसनलले पनि मर्मतसम्भारलाई तीव्रता दिँदै चाडपर्वलगत्तै कक्षाकोठाबाटै पढाइ गर्ने जनाएको छ । करिब ३ हजार विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन पुनर्निमाण थालिएको सञ्चालक लोकबहादुर भण्डारीले जनाए । ‘स्मार्ट बोर्ड, साइन्स ल्याब, कम्युटर ल्याब, क्यान्टिन, अफिसका महत्त्वपूर्ण कागजपत्र नष्ट भए । झ्याल ढोका, बाथरुम, ६ वटा स्कुल बसमा तोडफोड गरियो,’ उनले भने ‘केही सामग्री चोरी, लुटपाट गरेर पनि लगेँ ।’ तोडफोडबाट क्षति भएका सामग्री हटाएर धमाधम मर्मतको काम भइरहेको भण्डारीले बताए । ‘सकभर चाँडो कक्षाकोठाबाटै पठनपाठन तयारी गरिरहेका छौं,’ उनले भने ।
प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगानाले काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थामा आगजनी र तोडफोड नभएको बताए । ‘क्षति भएका विद्यालयले पनि अनलाइनबाटै कक्षा थालेका छन्,’ उनले भने, ‘मर्मत सम्भार गरेर फेरि उठ्दैछन् ।’
