दाङ — जेनजी आन्दोलनका क्रममा भदौ २३ गतेदेखि बन्द भएका जिल्लाका विद्यालय आइतबारदेखि खुल्ने भएका छन् । स्थानीय तह र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले शनिबार सूचना प्रकाशन गरी आइतबारदेखि विद्यालय सञ्चालन गर्ने जानकारी दिएको छ ।
आन्दोलनका क्रममा भदौ २४ देखि जिल्लामा कर्फ्र्यु र निषेधाज्ञा जारी भएका कारण आवतजावतमा समस्या भएको थियो । आन्दोलनकारीले जिल्लाका सरकारी तथा सार्वजनिक भवन, पार्टी कार्यालय, नेताका घर र होटेलहरुमा तोडफोड र आगजनी गरेपछि अवस्था असामान्य भएको थियो ।
जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारीसँगको छलफलमा ५ बजेपछि निषेधाज्ञा हट्ने आशाका साथ विद्यालय खोल्ने निर्णय गरिएको प्याब्सनका जिल्ला सचिव आदिम केसीले जानकारी दिएका छन् ।
