लिबाङस्थित बाल कल्याण माध्यमिक विद्यालयकी पूजा थापालाई सांसद दीपेन्द्रकुमार पुनले नगद ५० हजार ५ रुपैयाँसहित सम्मान गरे।
What you should know
काठमाडौँ — माध्यमिक विद्यालय शिक्षा (एसईई) परीक्षामा रोल्पा उत्कृष्ट छात्रालाई पुरस्कृत गरिएको छ ।
२०८१ को एसईई परीक्षामा रोल्पा जिल्लामा सबैभन्दा बढी जीपीए प्राप्त गरेर जिल्ला उत्कृष्ट भएकी लिबाङस्थित बाल कल्याण माध्यमिक विद्यालयकी छात्रा पूजा थापालाई शनिबार सत्प्रयास समूहको आयोजनामा सम्मानित एवं पुरस्कृत गरिएको हो ।
विद्यार्थी पूजाले ३.९१ जीपीए प्राप्त गरेर जिल्ला उत्कृष्ट भएकी थिइन् । लुम्बिनी प्रदेशका सांसद दीपेन्द्रकुमार पुनले उनलाई नगद ५० हजार ५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरे । सांसद पुनले परीक्षामा सहभागी हुनुअघि लक्ष्य निर्दिष्ट गर्न सके सफलता मिल्ने बताए ।
‘कक्षामा रहँदा आफ्नो उद्देश्य सुनिश्चित गर्नु आवश्यक छ । एसईई परीक्षामा पनि त्यसै सफलता पाउनु जरुरी छ । पूजा थापाले आफ्ना बाआमा, विद्यालय र जिल्लाकै नाम चम्काएकी छन् । बधाईसहित शभकामना छ,’ उनले भने ।
विभिन्न क्षेत्रका कार्यरत रोल्पाका युवाहरुको आफ्नै सक्रियतामा गठित सत्प्रयास समूहले अघिल्लो वर्षदेखि एसईई परीक्षामा जिल्ला उत्कृष्ट हुने एक जना विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान एवं पुरस्कार प्रदान गर्न थालेको हो । समूहका हरेक सदस्यले स्वेच्छिक रुपमा नै रकम संकलन गरेर पुरस्कार राशि बनाउँछन् । अघिल्लो वर्ष पूर्वी रोल्पाको खुंग्रीस्थित ज्ञान मन्दिर विद्यागृहका विद्यार्थी प्रतीक भण्डारीले पुरस्कार प्राप्त गरेका थिए ।
एसईई रोल्पा उत्कृष्टको दोस्रो संस्करणको पुरस्कार पूजा थापालाई प्रदान गरिएको हो । सम्मानित छात्राले चिकित्सा विषय अध्ययन गर्ने योजना बनाएकी छन् । उनका बुबा ओबीलाल थापाले घर र विद्यालयमा निकै ध्यान दिएर पढ्ने छोरीले आफ्नो सपना पूजा गरेकोमा खुशी व्यक्त गरे ।
२०८१ को एसईई परीक्षामा रोल्पाबाट साधारण र प्राविधिक गरी ३ हजार ५ सय ४४ विद्यार्थीले परीक्षा दिएका थिए । उत्तीर्ण प्रतिशत भने ५०.३६ प्रतिशत थियो । अघिल्लो वर्ष ३०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । केही वर्षयता रोल्पाको परीक्षाको उत्तीर्ण प्रतिशत सुधारोन्मुख छ ।
