एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नेविसंघ काभ्रेको सम्मान

असार २७, २०८२

ज्योती श्रेष्ठ

Awarded by Naval Sangh Kavre to the student who scores best in SEE

काभ्रे — नेपाल विद्यार्थी संघ (नेविसंघ) काभ्रेपलाञ्चोकले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । 

बनेपामा शुक्रबार आयोजित कार्यक्रममार्फत विभिन्न धारमा सर्वोत्कृष्ट अंक ल्याउने ५ जना विद्यार्थीलाई विशेष सम्मान र जिल्लाभर उत्कृष्ट अंक ल्याउने १३ सय विद्यार्थीलाई नेविसंघ काभ्रेले सम्मान गरेको हो । नेविसंघले जिल्लामा सर्वोत्कृष्ट नतिजा (४ जीपीए) ल्याउने साँगास्थित ग्रेसल्यान्ड माध्यमिक विद्यालयकी प्रकृति दुलाल र विकटेश्वर इङ्लिस स्कुलकी जिया खत्री र विद्यालयलाई सम्मान गरेको हो । 

त्यस्तै, सामुदायिकतर्फ उत्कृष्ट ३ दशमलव ९१ जीपीए ल्याउने चण्डेश्वरी सृष्टीकान्त माध्यमिक विद्यालय, नालाकी गरिमा अधिकारी, प्राविधिक धारतर्फ उत्कृष्ट ३ दशमलव ६९ जीपीए ल्याउने जनक माध्यमिक विद्यालय, भकुण्डेबेंसीकी सदिक्षा मैनाली, संस्कृततर्फ उत्कृष्ट ३ दशमलव ०९ जीपीए ल्याउने नैनिशारण्य संस्कृत गुरुकुलका समिर पराजुलीलाई सम्मान गरेको हो । काभ्रे जिल्ला घर भई भक्तपुरबाट एसईईमा सहभागी भएर सर्वोत्कृष्ट नतिजा (४ जीपीए) ल्याउने काभ्रेको सुप्रिया मोक्तानलाई पनि कार्यक्रममा सम्मान गरियो ।

Awarded by Naval Sangh Kavre to the student who scores best in SEE

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले अबको युग प्रतिस्पर्धाको रहेको बताउँदै विद्यार्थीलाई विश्वस्तरीय क्षमताको विकास गर्न प्रेरित गरे । उनले शिक्षा नीतिमा समान अवसर सुनिश्चित गर्न दल र संगठनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । 

एसईईमा उत्तीर्ण भएका कुनै पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नहुने बताउँदै नेविसंघ काभ्रेका अध्यक्ष अञ्जनराज खतिवडाले भने, ‘आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई भएका विद्यार्थीलाई नेविसंघले छात्रवृत्ति प्रदान गर्नेछ ।’

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully