काठमाडौँ — प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले स्वच्छाचारी ढंगले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गरेको भन्दै सत्तारुढ दल कांग्रेसको विद्यार्थी संगठन त्रिवि नेविसंघ इकाईले आपत्ति जनाएको छ ।
सभापति विष्णु बडैलाले सिफारिस प्रणालीमार्फत गरिएको उपकुलपति नियुक्तिप्रति गम्भीर आपत्ति रहेको जनाए । इकाईले विज्ञप्तिसमेत योग्यता र क्षमताको आधारमा मेरिटक्रेसीअनुसार उपकुलपति नियुक्त नभएकोमा विरोध जनाएको छ । प्रधानमन्त्री ओलीले बुधबार प्राध्यापक दीपक अर्याललाई उपकुलपति नियुक्त गरेका थिए ।
‘त्रिविमा मेरिट प्रणालीका आधारमा उपकुलपति नियुक्त गरिनुपर्ने हाम्रो निरन्तरको माग रहेको सम्पूर्णमा सर्वविदित छ । विश्वविद्यालयको नेतृत्वमा पारदर्शिता र योग्यता सुनिश्चित गर्न देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गर्दै आएको छ । जसले विद्यार्थी समुदायभित्र व्यापक समर्थन पाइरहेको छ । तर, विश्वविद्यालयका क्याम्पसहरूमा मेरिटोक्रेसीप्रति चासो र समर्थन बढिरहेको बेला प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले उपकुलपति नियुक्त गर्नु गम्भीर आपत्तिको विषय बनेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
स्पष्ट भिजन, दीर्घकालीन योजना, शैक्षिक अनुभव वा व्यवस्थापकीय दक्षताको बेवास्ता गर्दै अर्याललाई उपकुलपतिमा नियुक्त गर्नु अत्यन्त दुर्भाग्यपूर्ण रहेको नेविसंघको आरोप छ । ‘यस्तो नियुक्तिले त्रिविलाई शैक्षिक संस्था होइन, राजनीतिक प्रयोगशालाको रूपमा परिणत गरिएको अनुभूति गराएको छ । यस्ता राजनीतिक नियुक्तिहरूलाई नेविसंघ पूर्णतः अस्वीकार गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण शिक्षा र अनुसन्धानभन्दा राजनीतिमा केन्द्रित देखिएको नेविसंघको दाबी छ । उपकुलपति नियुक्तिका लागि स्पष्ट कार्यविधि अवलम्बन गर्न, पारदर्शी प्रतिस्पर्धाका आधारमा मात्र नियुक्ति माग गरिएको छ ।
