त्रिविको सिनेट प्रधानमन्त्रीले बालुवाटारमा बोलाए

असार २४, २०८२

कान्तिपुर संवाददाता

Prime Minister convened the Senate of Trivi in ​​Baluwatar

काठमाडौँ — प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको वार्षिक दिवस बैठक तथा साधारणसभा (सिनेट) बैठक आफ्नै निवास बालुवाटारमा बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतकाअनुसार आउँदो बिहीबार (असार २६ गते) प्रधानमन्त्री निबास बालुवाटारमा बैठक बोलाइएको हो । कार्यालयका उपसचिव विष्णुप्रसाद सुवेदीले त्रिवि उपकुलपतिलाई मंगलबार पत्राचार गर्दै बिहान १० बजे बैठक बस्ने जनाएका छन् । पत्रको बोधार्थ शिक्षामन्त्री तथा सहकुलपति रघुजी पन्तलाई समेत पठाइएको छ ।

गत आइतबारका लागि तोकिएको बैठक प्रधानमन्त्री ओलीले स्थगित गर्न निर्देशन दिएपछि त्यसको आलोचना भएको थियो । त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त ९० हजार विद्यार्थीको सूची (ग्रेस लिस्ट) पारित गर्न डाकिएको बैठक निर्देशनपछि रोकिएको थियो । त्रिविले तिथिअनुसार वार्षिक सभा डाक्ने गर्छ । प्रधानमन्त्री ओली स्पेन भ्रमणमा रहेकाले असार शुक्ल नवमी (शुक्रबार) मा हुनुपर्ने बैठक आइतबारका लागि तय गरिएको थियो । 

असार १ मा उनले नै असार २२ मा वार्षिक सभा बैठक डाक्नु भनी त्रिविको पत्रमा तोक लगाएका थिए । बैठक हुने मिति असार २६ गतेका लागि परिर्वतन गरिएको पत्रमा उल्लेख छ । आईतबारको बैठक स्थगित गर्दै प्रधानमन्त्री ओली पुल उदघाटन गर्न हुम्ला गएका थिए ।

कान्तिपुर

Link copied successfully