संस्कृत विश्वविद्यालयमा ५ महिनापछि खुल्यो ताला

जेष्ठ २४, २०८२

दुर्गालाल केसी

After 5 months, the lock was opened in Sanskrit University

दाङ — नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुन्डीमा पाँच महिनाअघि लगाइएको ताला शुक्रबार खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीबीच पाँचबुँदे सहमति भएपछि शुक्रबार ताला खोलिएको हो ।

अनेरास्ववियु क्रान्तिकारीले विभिन्न माग राख्दै गत १२ पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएको थियो । गत फागुनमा अनुसन्धान केन्द्रको कार्यालयमा तालाबन्दी थियो । तालाबन्दीपछि विश्वविद्यालयले राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक जर्मन चौधरीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । 

सहमति जुटाउन नसकेपछि समितिले दुई महिनामै राजीनामा दिएको थियो । त्यसपछि प्राध्यापक अर्जुनप्रसाद भट्टराईको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन भएको थियो । समितिका सदस्यहरूमा उपप्राध्यापक विनोद आचार्य र उपप्रशासक अनिल पोख्रेल थिए । 

विश्वविद्यालय र अनेरास्ववियु क्रान्तिकारीबीच विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठमा पठनपाठनलाई सहज गराउन प्रयोगात्मक सामग्री आउँदो असारभित्र खरिद गर्ने सहमति भएको छ । प्रयोगात्मक अभ्यासका लागि आवश्यक अस्पताल, जनशक्ति र सामग्रीको प्रक्रिया मिलाउन आगामी विश्वविद्यालयसभामा प्रस्ताव लैजाने अर्को सहमति छ ।

विश्वविद्यालयको परीक्षा प्रणालीलाई निष्पक्ष, भयरहित बनाउन आयुर्वेद अध्ययन संस्थानका डिन, सहायक डिन र प्राचार्यजस्ता पदाधिकारी अनुगमन गर्ने निकाय भएका कारण उनीहरूबाट प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणजस्ता काम नगर्ने सहमति भएको छ । 

पदाधिकारीका विषयमा प्राप्त उजुरीका आधारमा कार्यकारी परिषद्ले एक महिनाभित्र छानबिन गरी दोषी पाइए पुनगर्ठन गर्ने पनि सहमति छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully