मेरिटोक्रेसीमा त्रिविमा उपकुलपति नियुक्ति गर्न नेविसंघको माग

जेष्ठ ९, २०८२

कान्तिपुर संवाददाता

Union demands appointment of Vice-Chancellor in University on meritocracy

काठमाडौँ — सत्तारूढ कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मेरिटोक्रेसीको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न माग गरेको छ ।

राजनीतिक भागबन्डाका आधारमा उपकुलपति नियुक्ति नगर्न नेविसंघ त्रिवि इकाई समितिले आग्रह गरेको हो । सभापति विष्णु बडैलाले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारसँग निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक नियुक्तिको प्रक्रियाअघि बढाउन माग गरेका छन् ।

शिक्षामन्त्री तथा सहकुलपतिका संयोजकत्वमा गठन हुने सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन् । समितिमा शिक्षासचिव दीपक काफ्ले र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल सदस्य रहेका छन् ।

नेविसंघले पार्टीको सिफारिसका आधारमा उपकुलपति नियुक्त गरिए विद्यार्थीले प्रतिरोध गर्ने चेतावनीसमेत दिएको छ ।

मेरिटको आधारमा प्रतिस्पर्धाबाट नियुक्त भएका उपकुलपति केशरजंग बरालले १३ महिनामै राजीनामा दिएपछि निमित्त उपकुलपतिको जिम्मेवारी वैशाख पहिलो सातादेखि रेक्टर खड्ग केसीले पाएका छन् । प्रधानमन्त्रीको हस्तक्षेप र असहयोगका कारण राजीनामा दिएको बरालले बताएका छन् ।

कान्तिपुर

Link copied successfully