शिक्षक–विद्यार्थी नै यार्सा टिप्न गएपछि डोल्पाका विद्यालय धमाधम बन्द

यार्सागुम्बा टिप्ने हरेक सिजनामा करिब साढे चौध हजार विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको छ

जेष्ठ ७, २०८२

रामचन्द्र न्यौपाने

Schools in Dolpa were closed with a bang after the teachers and students went to pick Yarsa

डोल्पा — ठुलिभेरी नगरपालिका–७ स्थित आदर्श माध्यामिक विद्यालयका शिक्षकहरु सधैंजसो बिहान १० बजे अघि नै विद्यालय पुग्छन् । तर, ७ सय ५० विद्यार्थी भएको उक्त विद्यालयमा यतिबेला विद्यार्थीको उपस्थिति भने शुन्यप्रायः छ । यार्सा संकलनको सिजन शुरु भएकाले पनि उनिहरु यतिबेला विद्यालय छोडेर पाटनतर्फ लागेका हुन् ।

प्रत्येक वर्षको जेठ, असार डोल्पामा यार्सागुम्बा संकलन गर्ने सिजन हो । यो दुई महिनामा स्थानीयहरु बहुमुल्य जडिबुटी यार्सागुम्बाको खोजीका लागि उच्च हिमाली क्षेत्रमा रहेका पाटनहरुमा जाने गर्दछन् । बृद्ध, बालवालिका, सुत्केरी, गर्भवती सबैजसो घरमा ताल्चा मारेरै यार्सा टिप्न पाटन जाने गरेका हुन् । ‘शिक्षकहरु सबै विद्यालयमै हुनुहुन्छ, विद्यार्थी भने कोही आउँदैनन्,’ आदर्श माविका प्रधानाध्यापक बालकृष्ण डाँगीले भने, ‘जेठ सुरु भएदेखि नै विद्यार्थीको उपस्थिति घट्न सुरु भइसकेको थियो, अहिले त उपस्थिति एकदमै न्युन छ । विद्यार्थी नै नआएपछि पठनपाठन पनि हुन सकेको छैन ।’ उनका अनुसार अहिले विद्यालयमा प्रशासनिक काम मात्र भईरहेको छ ।

त्यसैगरी त्रिपुरासुन्दरी नगरपालिका–१० लिकुमा रहेको जनप्रभा माविमा पनि पठनपाठन ठप्प छ । विद्यार्थी नै नआएपछि शिक्षकहरु विद्यार्थीलाई कुरेर दिन बिताईरहेका हुन्छन् । ‘७ सय भन्दा धेरै विद्यार्थी भएको हाम्रो विद्यालय प्रत्येक दिन खुलेकै छ तर विद्यार्थी भने आउँदैनन्,’ प्रधानाध्यापक तेजबहादुर गिरीले भने, ‘मुश्किलले ३०–३५ जना विद्यार्थी मात्र आईरहेका छन्, सरहरु विद्यार्थी कुरेर बस्नु भएको छ ।’

Schools in Dolpa were closed with a bang after the teachers and students went to pick Yarsa

डोल्पामा १ सय १६ विद्यालय छन् । यार्सा सिजन शुरु भएपछि यसको प्रभाव यतिबेला डोल्पाका सबैजसो विद्यालयमा परेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय डोल्पाले जनाएको छ । अधिकांश विद्यालय यार्सा सिजनका कारण विद्यार्थी नहुँदा बन्द भइसकेका छन् । अभिभावक नै घरमा ताल्चा मारेर पाटन जाने भएपछि स–साना बालबालिका पनि पढाइ छोडेर उनीहरुसँगै पाटन जाने गरेका हुन् । विद्यार्थी मात्रै नभई यहाँका स्थानीय शिक्षक समेत सिजनमा यार्सा टिप्न पाटनतर्फ लाग्ने गर्छन् । जसले गर्दा विद्यालय बन्द भइ पठनपाठन ठप्प हुने गरेको हो ।

ठुलिभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकायका अनुसार नगरपालिकाले यसअघि नै विद्यालय बन्द नगर्ने निर्णय गरेको छ तर, विद्यार्थी नआउँदा पठनपाठन भने हुन सकेको छैन । ‘यार्सागुम्बा संकलन सिंगो परिवारको आम्दानी सँग जोडिएको छ । यहाँका कतिपय विद्यार्थीले यार्सा टिपेरै आफ्नो पढाइ खर्चको जोहो गरेका हुन्छन्,’ उनले भने, ‘यार्सा टिप्न पाटनतर्फ जानु विद्यार्थीका लागि रहर भन्दा पनि बाध्यता धेरै छ ।’

Schools in Dolpa were closed with a bang after the teachers and students went to pick Yarsa

प्रत्येक यार्सा सिजनमा विद्यालयमा पठनपाठन नहुने बाध्यात्मक अवस्थालाई सबै सरोकारवालाको पहलबाट सुधार गर्दै लैजानु पर्ने रोकायको धारणा छ । ठुलिभेरी नगरपालिकामा कुल २७ वटा विद्यालय छन् । विद्यालयमा आउन छोडेपछि शिक्षकहरु समेत फुर्सदिला भएका छन् । केही शिक्षक यार्सा टिप्न पाटन तीर लागेका छन् भने जिल्ला बाहिरका केही शिक्षक विद्यालय बन्दको मौका छोपी घरतीर लागेका छन् । शिक्षा विकास तथा समन्वय इकाई डोल्पाका प्रमुख हर्षप्रसाद चौलागाँइका अनुसार यार्सा सिजनमा पठनपाठन नहुने समस्या पुरानै हो । ‘विभिन्न बहानामा विद्यालय बन्द हुने गर्नाले विद्यार्थीको पठनपाठन मात्र विग्रने होइन, उनिहरुको शैक्षिक भविश्यमै धक्का लाग्छ,’ उनले भने ।

जिल्लास्थित राजनितिक दलहरु लगायत आम सरोकारवालाको बैठकबाट यार्सा सिजनमा महिना दिनसम्म पठनपाठन नहुने बिषयलाई सुधार गर्दा लैजानु पर्ने उनको धारणा छ । यसको नेतृत्व सम्बन्धित अभिभावकलाई नै दिनुपर्ने उनको भनाइ छ । ‘हामीले विद्यालय सञ्चालन गर्न स्थानीय तहमा भनिरहेका छौं, जनप्रतिनिधिनै यो कमाउने सिजन हो भनेर भन्छन्, स्थानीय सरकारले चाहेमा सम्भवहुन सक्छ,’ इकाइ प्रमुख चौलागाँइले भने ।

प्रत्येक यार्सागुम्बा सिजनामा करिब साढे चौध हजार विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको छ । उपल्लो डोल्पामा अझ धेरै यार्सागुम्बा सिजनको प्रभाव पर्ने गर्दछ ।

गाउँबस्ती नजिकै यार्सा पाटन हुने भएकाले विद्यालय नै बन्द गरेर शिक्ष्कँ विद्यार्थीहरु पाटनतीर लाग्ने गर्दछन् ।

Schools in Dolpa were closed with a bang after the teachers and students went to pick Yarsa

एक महिनाको कमाइले वर्षभरीको खर्च धान्नुपर्ने भएकाले पनि यतिबेला स–साना बालवालिका पनि यार्साको खोजीमा पाटन जाने गरेको त्रिपुरासुन्दरी नगरपालिका १ करेलीकाँडाका स्थानीय रुपलाल बुढाले बताए । ‘यार्सा टिपेर आम्दानी गर्नु सोचे जत्तिको सजिलो छैन्,ज्यान हत्केलामा राखेर यार्सा खोज्नुपर्छ । कतिपय बालबालिकाको लेक लागेरै मृत्यु हुने गर्छ,’ बुढाले भने, ‘अभिभावक नै यार्सागुम्बाको खोजीमा पाटन जाने भएकाले सँगै बालवालिका पनि पढाइ हापेर जाने गर्दछन्, आफू सक्दो कमाउने भएकाले उनिहरुलाई पढाइ भन्दा कमाइको महत्व धेरै हुन्छ ।’

यतिबेला छ/सात वर्ष देखि दश वर्षको बालकले पनि दश देखि तीस हजारसम्म कमाइ गर्ने गरेको उनको भनाइ छ । प्रतिगोटा यार्सागुम्बाको मुल्य पाँचसय देखि एक हजारसम्म बिक्रिवितरण हुने गर्दछ भने प्रतिकिलो पन्ध्र लाखदेखि तीस लाखसम्ममा कारोबार हुने गरेको यार्सा व्यापारीहरु बताउँछन् ।

मान्छेहरु सबै यार्सागुम्बाको खोजीमा पाटनतीर लागेपछि अहिले डोल्पाका धेरजसो गाउँबस्तीहरु सुनसान बनेका छन् । यार्सा पाटन जेठ ५ गते खुलेपछि दशौं हजार सर्वसाधारण यार्सागुम्बाको खोजीमा पाटन पुगेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बहुमुल्य जडिबुटी यार्सागुम्बा तीन हजारभन्दा माथिका उच्च हिमाली पाटनमा पाइने गर्दछ । बनस्पती र जीवको दुबै गुण पाइने यार्सागुम्बा शक्तिवर्द्धक जडिबुटीको रुपमा चिनिन्छ । डोल्पामा उत्पादित यार्सागुम्बा सबैभन्दा धेरै चीनमा निर्यात हुने गरेको पन्ध्र वर्षदेखि यार्सागुम्बाको व्यापार गर्दै आएका देवेन्द्रराज न्यौपानेले बताए ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully