२०७७ मा बाढीले कैलाश खोलाको झोलुंगेपुल बगायो। पुरानो सैनी बजार उजाड बनायो। करिब पाँच वर्षअघि बाढीले बगाएको उक्त सडक र पुल अझै बन्न सकेको छैन, वारि र पारि रहेका गाउँहरुमा आवातजावत गर्न कठीनाइ छ
अछाम — कैलाश खोलामा २०७७ भदौ २ मा आएको बाढीले अछामको पुरानो सैनी बजार उजाड बनायो। १७ जनाको मृत्यु भयो। खोलाको झोलुंगेपुल बगायो । बाढीले पर्यटकीय क्षेत्र रामारोशनलाई जोड्ने सडकको नामोनिशाना मेटायो । आसपासका खेतियोग्य जमीन सबै बगायो ।
खोला किनारको उक्त सडक र पुल अझै बन्न सकेको छैन, जसका कारण वारि र पारि रहेका गाउँहरुमा आवातजावत गर्न कठीनाइ छ ।
स्थानीयले खोलामा अस्थायी काठे पुल बनाएका छन् । त्यही पूलबाट हिँड्डुल गर्छन् बान्नीगढी जयगढ गाउँपालिका–६ पाटेखेतका स्थानीय । तर बालबालिकादेखि वृद्धवृदालाई काठेपुलबाट खोला पार गर्न जोखिम भएको स्थानीय बताउछन् । विशेषगरी खोलापारि रहेको विद्यालय जान विद्यार्थीले दैनिक जोखिम मोल्नुपर्ने बाध्यता छ ।
घरबाट करिब २ घण्टाको दूरीमा रहेको ऐश्वर्य मावि दर्ना जानुपर्ने र पानी परेको दिन खोला तर्न नसक्दा पढाई छुट्ने गरेको ११ वर्षीया सीता थापाले बताइन् । ‘वर्षायाममा यहाबाट जान सकिँदैन भनेर स्कुल छेउमै बस्छौं,’ उनले भनिन् । पाटेखेतकै १० वर्षीया लक्ष्मी थापालाई पनि पानी परेको दिन स्कुल छुट्ने पीरले सताउँछ । ‘पानी परेको दिन खोला तर्न सकिदैन । पढाइ नै छुट्छ । अरु बेला पनि हिँड्न गाह्रो छ,’ उनले भने ।
बाटोको असुविधा, टाढाको विद्यालय लगायत कारणले पाटेखेतबाट बसाई सर्नेको संख्या बढ्दै गएको स्थानीय झपट थापाले बताए । ‘गाउँमा जान अलि तल झोलुंगे पुल छ । तर त्यो पुल तरेर गाउँ जाने बाटो निकै जोखिम छ । वर्षायाममा माथिबाट ढुंगा खस्ने भएकाले हिँड्न पनि गाह्रो छ,’ उनले भने । रामारोशनमा गएको पहिरो पछि बसाई सर्नेको लर्को लागेको उनी बताउँछन् ।
‘पहिले पाटेखेतमा २२ घर थिए । अहिले अधिकांश घरमा ताला लगाइएको छ, कुनै घर भत्किसके । गाउँमा अहिले ६/७ घर मात्रै छन्,’ उनले भने । पूर्वाधार विकास कार्यालयबाट झोलुंगे पुल बनाउन प्राविधिक टोलीले अध्ययन गरे पनि काम अगाडी नबढेको बान्नीगढी जयगढ–६ का वडाध्यक्ष जगत थापाले बताए ।
‘बाढीले गर्दा पाटेखेतले धेरै नोक्सानी बेहोर्नु परेको छ,’ उनले भने, ‘गाउका लागि पूल अत्यावश्यक छ, पुल बनाउन भन्दै प्रत्येक वर्ष १० लाख बजेट विनियोजन पनि गर्छन् । तर डीपीआर बनेको छैन भनेर रोक्छन् । १० लाखले पुल बन्दैन । पर्याप्त बजेट कसैले दिदैनन् ।’
