ललितपुर — ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा शनिबारदेखि दुई दिने प्रथम राष्ट्रिय पठन सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले गरेका थिए।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन, सिकाई फाउन्डेसन, युनेस्को, युलेन्स फाउन्डेसन, प्याब्सनलगायतको सहकार्यमा सम्मेलनको आयोजना गरिएको हो।
सम्मेलनमा पठन संस्कृतिबारे विज्ञ तथा सरोकारवालाबीच विभिन्न सत्रमा छलफल भइरहेको छ। उद्घाटन सत्रमा मन्त्री पन्तले औपचारिक डिग्री प्राप्त गर्नु र निरन्तर पढ्ने बानी विकास गर्नु फरक कुरा भएको उल्लेख गर्दै पढ्ने बानीले व्यक्ति रूपान्तरणमा सहयोग पुग्ने धारणा राखेका थिए।
'घ्युले अन्नलाई, स्नानले शरीरलाई शुद्ध गर्छ,' उनले भने, 'ध्यानले मन र ज्ञानले मस्तिष्कलाई शुद्ध गर्छ।' पढाइबाट मात्र ज्ञान प्राप्त नहुने उनले बताए ।
समाजशास्त्री चैतन्य मिश्रले पढाइ, समाज र जीवनलाई सँगसँगै अघि बढाए मात्र पढाइको औचित्य रहने उल्लेख गरे। उनले भने, 'पढ्ने भनेको सिक्ने पनि हो। सुगाझैँ रटेर पढाइबाट केही पनि प्राप्त हुँदैन। पढाइ, जीवन र समाजलाई समेटेर लैजान सके मात्र सिकाइ प्रभावकारी हुन्छ।'
विद्यार्थीलाई जीवन तथा समाजसँग जोडेर पठनपाठन गरिनुपर्ने सुझाव पनि उनले दिए ।
युलेन्स स्कुलका प्रधानाध्यापक मेदेनी लामिछानेले पढाइ संस्कृतिलाई अभियानका रूपमा सञ्चालन गरिने बताए ।
सम्मेलनमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुइँटेलले पढ्ने अभ्यासको थालनी, यसको ऐतिहासिक पृष्ठभूमि, डिजिटल युगमा पढाइको स्वरूप तथा भविष्यबारे धारणा राखे ।
काठमाडौँ विश्वविद्यालयका न्युरोसर्जन तथा प्राध्यापक डा. अमित थापाले मोबाइललगायत डिजिटल माध्यमले सिकाइमा पार्ने असरबारे चर्चा गर्दै ती सामग्रीले बालबालिकाको मस्तिष्क तथा मनोविज्ञानमा पार्ने प्रभावबारे जानकारी गराएका थिए।
