हेटौंडा — समुदायबाट संचालित मकवानपुर बहुमुखी क्याम्पसले शनिबारदेखि हेटौंडामा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनबारे शुक्रबार क्याम्पस परिसरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवालले ‘दिगो विकासका लक्ष्यको स्थानीयकरण : युवाको क्षमता विकास’ भन्ने मूल आशयका साथ सम्मेलन हुने जानकारी दिए । सम्मेलनमा देश–विदेशबाट सयभन्दा बढी प्रतिनिधि सहभागी हुने उनले बताए । केही प्रतिनिधि र केही विज्ञ भने अनलाइनमार्फत नै सहभागी हुने छन् । सम्मेलन उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गर्ने कार्यक्रम छ ।
क्याम्पस प्रमुख डा. सिलवालले सम्मेलनमा विभिन्न प्राज्ञिक अध्ययन र अनुसन्धानको प्रस्तुति रहने बताए । मकवानपुर बहुमुखी क्याम्पसले विश्वविद्यालय तहको शिक्षालाई व्यवहारिक र उपयोगी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै देश–विदेशका क्याम्पस तथा विश्वविद्यालयहरुसँग सहकार्य भइरहेको उनले जनाए ।
मकवानपुर क्याम्पसले यसअघि राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाका लागि विश्वविद्यालय अनुदान आयोग, हेटौंडा उपमहानगरपालिकासहित अन्य निकायसँग साझेदारी रहेको क्याम्पस प्रमुख सिलवालले पत्रकार सम्मेनलमा जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका-२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पस २०३७ सालमा स्थापना भएको हो । अहिले उक्त क्याम्पसमा विभिन्न संकायमा गरी करिब ८ हजार विद्यार्थी अध्ययनरत छन् ।
