शिक्षामन्त्री पन्तले लिए शपथ 

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

Education Minister Pant took oath

काठमाडौँ — नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार मन्त्री पन्तलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए । 

एमालेबाटै शिक्षामन्त्री बनेकी विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको असहयोग र उपेक्षाका कारण सोमबार राजीनामा दिएपछि पद रिक्त थियो । शैक्षिक हडतालसहित चर्कंदो शिक्षक आन्दोलन, विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा पेचिलो बन्दै गएको दफावार छलफल, प्रधानमन्त्रीको असहयोगका कारण शिक्षामन्त्री भट्टराई र त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको बर्हिगमनलगायत चुनौतीपूर्ण परिस्थितिमा शिक्षा मन्त्रालयको जिम्मेवारी पन्तले पाएका छन् । शिक्षक आन्दोलनको समाधान खोज्दै शैक्षिक गतिविधि पूर्ववत् सञ्चालन गर्नु नवनियुक्त शिक्षामन्त्री पन्तको अहिलेको प्रमुख दायित्व रहेको छ । 

तत्कालीन शिक्षामन्त्री भट्टराईले शिक्षकको माग सम्बोधनका लागि मन्त्रिपरिषद्मा ७ बुँदे प्रस्ताव लगेकी थिइन् । त्यसमा प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल सकारात्मक नहुँदा उनले राजीनामा दिएको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

नवनियुक्त शिक्षामन्त्री पन्तसँग २०६१ सालमा श्रम तथा यातायात व्यवस्थामन्त्री बनेको अनुभव छ । उनी २०५१ सालका प्रधानमन्त्री मनमोहन अधिकारी र २०६६ सालका प्रधानमन्त्री माधवकुमार नेपालका प्रेस सल्लाहकार थिए । अहिले एमाले स्थायी कमिटी सदस्यसमेत रहेका ६७ वर्षीय पन्त समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully