वीरेन्द्रनगर — प्रजान्त्रवादी प्राध्यापक संघ मध्यपश्चिम विश्वविद्यालय समितिले उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमलाई ज्ञापनपत्र बुझाउँदै ७२ घण्टे अल्टिमेटम दिएको छ ।
संघले विभिन्न १६ बुँदे माग राख्दै ती माग पूरा नभए आन्दोलनको चेतावनी दिएको हो । आइतबार संघले बुझाएको ज्ञापनपत्रमा उपकुलपतिले एकलौटी ढंगले कार्यकारी सदस्य नियुक्तिका लागि गरेको सिफारिस बदर गर्नुपर्ने पहिलो माग रहेको छ । कार्यकारी परिषद्ले गत चैत २२ गते विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नारायणनाथ योगीलाई कार्यकारी परिषद् सदस्य नियुक्त गर्न सिफारिस गरेको थियो । योगी एमाले निकट शिक्षक हुन् ।
उपकुलपति अध्यक्ष रहने कार्यकारी परिषद्मा डीनमध्येबाट लिलाधर तिवारी सदस्य छन् । शिक्षकमध्येबाट योगी नियुक्त भएमा ४ सदस्यीय कार्यकारी परिषदमा ३ जना एमाले निकट हुने छन् । परिषद्मा रजिस्ट्रार प्रा. डा. शोभाखर कडेलमात्र कांग्रेस निकट हुन् । विश्वविद्यालय ऐनअनुसार कार्यकारी परिषद् शक्तिशाली निकाय हो ।
प्राध्यापक संघले लामो समयदेखि आंशिक र करारमा रहेका शिक्षकको सेवा सुरक्षा र स्थायित्व, विश्वविद्यालयमा समायोजित आंगिक क्याम्पसका शिक्षकहरूलाई सेवा आयोगमार्फत स्थायित्वलगायत माग रहेका छन् ।
