दार्चुला — बैतडीको मेलौलीस्थित मणिलेक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका मनोजदत्त ओझा नेतृत्वको प्यानल विजयी भएको छ ।
बुधबार सम्पन्न निर्वाचनमा ४८ मत ल्याएर ओझा सभापतिमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत ल्याए । त्यस्तै अखिल क्रान्तिकारीकी उम्मेदवार कल्पना भट्टले २१ मत ल्याइन् ।
यस्तै सचिवमा नेविसंघका दर्शन नेगी ५३ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी उर्मिला नायकले ३७ मत ल्याइन् । अखिल क्रान्तिकारीका उम्मेदवार धनवीर दयालले १८ मत प्राप्त गरे ।
त्यसैगरी कोषाध्यक्षमा नेविसंघकी पूजा चन्द ५२ मत ल्याएर विजयी भइन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुकी लक्ष्मी ओझाले ४० मत र अखिल क्रान्तिकारिकि दिया दयालले १४ मत प्राप्त गरेको निर्वाचन अधिकृत भवानिसिह नायकले बताए ।
कार्यसमितिको सदस्यहरूमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन् । क्याम्पसमा एक सय २५ जना मतदातामध्ये १ सय ११ मत खसेको थियो ।
