विराटनगर — मोरङको सुकुना बहुमुखी क्याम्पसले उच्च शिक्षामा स्थायित्व र स्थानीय तथा वैश्विक ज्ञानको एकीकरणलाई केन्द्रित गरी पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्न भएको छ । आगामी वैशाख ६ र ७ गते सुन्दरहरैंचामा उक्त कार्यक्रम आयोजना गर्न लागिएको शुक्रवार पत्ररका सम्मेलनमा जानकारी गराइएको छ ।
‘उच्च शिक्षामा दिगोपनः स्थानीय र विश्वव्यापी ज्ञानको एकीकरण’ भन्ने मुल नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन आयोजक समितिका संयोजक गणेश प्रसाद दाहालले जनाए ।
सम्मेलनमा उच्च शिक्षाको स्थायित्वमा छलफल गर्नुका साथै स्थानीय र वैश्विक ज्ञानको आदानप्रदान अनुसन्धान तथा शैक्षिक सहयोग बढाउने दाहालले जनाए । उनका अनुसार पहिलो दिन ५ वटा विद्वत प्रवचन, ३ सम्भाषण, १ प्यानल छलफल, १८ समानान्तर सत्र र सांस्कृतिक हुने छ ।
दोस्रो दिन पुनः ४ विद्वत् प्रवचन, ६ सम्भाषण, २ कार्यशाला, २७ समानान्तर सत्र हुने छ । सम्मेलनमा नेपालका लागि अमेरिकी राजदुतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, भारतका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. तीर्थराज खनियाँलगायत अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका दर्जन वढी विद्वानहरू सहभागी हुनेछन् ।
