मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव सोमबार, अध्यक्षका लागि ८ जना मैदानमा

चैत्र १७, २०८१

तृप्ति शाही

Midwestern University's SWU Election Monday, 8 Candidates for President

वीरेन्द्रनगर — मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचन सोमबार हुने भएको छ । ६ वर्षपछि हुन लागेको निर्वाचनमा अध्यक्षको लागि ८ जना चुनावी मैदानमा होमिएका छन् । 

नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल (क्रान्तिकारी), स्वतन्त्र उम्मेदवार, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छेटौं), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघ निर्वाचन प्रक्रियामा सहभागी हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

अनेरास्ववियुबाट जगतजंग शाही स्ववियु अध्यक्षको उम्मेदवार बनेका छन् । नेविसंघबाट विवेक खड्का र अखिल क्रान्तिकारीबाट प्रकाश विक अध्यक्षको उम्मेदवार छन् । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) बाट अध्यक्षमा चिनबहादुर सहकारी र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार उम्मेदवार बनेकी छिन् ।

यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) बाट लेलिनकुमार रेग्मी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वली चुनावी मैदानमा छन् । मिलन विसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सचिव र कोषाध्यक्षमा दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

विश्वविद्यालयमा ४ हजार ३ सय ८३ मतदाता छन् ।  २०७३ को भदौमा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहीन छ । 

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully