पर्सा — वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा कांग्रेस नेता शेखर कोइराला पक्षधर राजकुमार यादव विजयी भएका छन् । बिहीबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार कोइराला पक्षधरका यादव १ हजार १ सय १५ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ) का आधिकारिक उम्मेदवार विकास मण्डल धानुकले ६ सय ५३ मत ल्याएका छन् । समाजवादी विद्यार्थी युनियनका उम्मेदवार हरिकिशोर यादवले ५ सय ६२ मत, सुधीर पटेल समूहका कमलेश कुमार यादवले ४ सय ५० मतप्राप्त गरेका छन् ।
स्ववियु सभापति पदमा कुल १४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । पार्टीले नेविसंघको आधिकारिक उम्मेदवार नबनाएपछि उनले ‘नेपाल विद्यार्थी समूह’ नामक छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।
अन्य पदहरूमा पनि यादव समूहको वर्चस्व रहेको छ । सचिवमा यादव प्यानलकै मन्दिरा चौधरी ६ सय ७२ मत सहित विजयी भएकी छन् । कोषाध्यक्षमा अंकित पटेल ८ सय २२ मतसहित निर्वाचित भएका छन् ।
