स्ववियु निर्वाचन : पीएनमा अनेरास्ववियुको अग्रता, स्वतन्त्रले पछ्याउँदै

चैत्र ११, २०८१

कान्तिपुर संवाददाता

Swabiyu elections: Aneraswabiyu lead in PN, followed by Independents

कास्की — पृथ्वीनारायण क्याम्पस (पीएन) पोखराको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा अनेरास्ववियुले अग्रता कायम गरेको छ । सोमबार राति ९:१५ बजेसम्मको नतिजाअनुसार विष्णु पोखरेल नेतृत्वको अनेरास्ववियु प्यानलले सरुवातदेखिको अग्रता कायम राखेको छ ।

१ हजार १ सय ८८ मत गणना हुँदा पोखरेलले ४ सय ७७ मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेद्वार विप्लवी न्यौपानेले पछ्याइरहेकी छन् । न्यौपानेले १ सय ९४ मत पाएकी छन् । पोखरेल र न्यौपानेबीच २ सय ८३ मतको अन्तर छ ।

नेविसंघका सुशील न्यौपाने १ सय ९० मत ल्याएर तेस्रोमा छन् । अखिल (क्रान्तिकारी)का नबिन अधिकारीले ८९, संयुक्त प्यानलका सन्तोष पौडेलले ८१, स्वतन्त्र उम्मेद्वार कमल सुवेदीले ४५, प्राज्ञिक विद्यार्थी परिषद्का दिप्सन गुरूङले ३०, अखिल (छैठौं)का मिलन सुनारले १२ मत ल्याएका छन् ।

३ सय ८६ मत गणना हुँदासम्म स्वतन्त्र उम्मेदवार विप्लवी चौथोमा थिइन् । त्यसपछि भने उनले क्रान्तिकारी र नेविसंघका उम्मेद्वारलाई पछाडि पारेकी हुन् ।

सचिवमा अनेरास्ववियुका विराट दुवाडी ३ सय ४० मतले अगाडि छन् । दुवाडीले ५ सय ९४, नेविसंघका विवेक भट्टराईले २ सय ५४, अखिल (क्रान्तिकारी)का मिराज थापा मगरले १ सय १४, संयुक्त प्यानलका किरण खड्काले ९७, प्राज्ञिक विद्यार्थी परिषद्का अभिषेक विष्टले ४५ मत ल्याएका छन् ।

कोषाध्यक्षमा अनेरास्ववियुकी सन्दिका गुरूङ ३ सय १९ मतले अगाडि छन् । उनले ५ सय ६४ मत ल्याउँदा नेविसंघकी अमिशा यादवले २ सय ४५ मत ल्याएकी छन् । संयुक्त प्यानलका सचिन पौडेलले १ सय ३४, अखिल (क्रान्तिकारी)की सिर्जना शर्माले १ सय ५, प्राज्ञिक विद्यार्थी परिषद्की अम्बिका धिमालले ४८ मत ल्याएका छन् ।

आइतबार भएको मतदानमा प्रत्यक्षतर्फ २ हजार ८ सय ९६ जना (३१.२४ प्रतिशत), समानुपातिकतर्फ २ हजार ८ सय ९२ जना (३१.१९ प्रतिशत) सहभागी थिए । यस क्याम्पसमा ९ हजार २ सय ७० मतदाता थिए । सोमबार बिहान साढे ९ बजेदेखि मतगणना सुरू भएको थियो ।  

पृथ्वीनारायण क्याम्पसमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघ/संगठन/प्यानल निर्वाचनमा सहभागी छन् । ०६५ पछि यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।

कान्तिपुर

Link copied successfully