विद्यालय शिक्षा विधेयकमाथि अब उपसमितिमा छलफल

एमाले सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन

चैत्र १०, २०८१

सुदीप कैनी

The school education bill will now be discussed in the subcommittee

काठमाडौँ — प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिमा दफाबार छलफल हुने भएको छ । विधेयकमाथि छिटोछरितो सहमति जुटाउन उपसमितिमा छलफल गर्न लागिएको समितिले जनाएको छ ।

 १८ महिनादेखि संसद्‌मा विचाराधीन विधेयकमाथि दफाबार छलफल सुरु हुन सकेको थिएन । समितिले शुक्रबार दफाबार छलफलका लागि एमाले सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको हो ।

समितिका सचिव दशरथ धमलाले विद्यालय शिक्षा विधेयकमाथि दफाबार छलफल गरेर उपसमितिले समितिमा प्रतिवेदन बुझाउने बताए । छलफल प्रारम्भ गरेको ३५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ ।

‘विद्यालय शिक्षा विधेयक ठूलो छ । सघन रूपमा छलफल गर्न उपसमिति गठन गरिएको हो । समितिमा छलफल गर्नभन्दा सानो टिमबाट सहमति खोज्दा सहज होला भनेर उपसमिति गठन गरिएको हो,’ उनले भने । उपसमितिले दफाबार छलफल गरी प्रतिवेदन बुझाएपछि समितिमा पुनः छलफल गरी सदनमा प्रतिवेदन बुझाउने धमलाले जनाए ।

उपसमितिमा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, सांसदहरू रेखा शर्मा, डिगबहादुर लिम्बू, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, विनिताकुमारी सिंह, बिना जैसवाला सदस्य छन् । बाँकी एक सदस्यले समितिमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग परामर्श गरेर समितिका सभापतिले मनोनीत गर्ने निर्णय भएको धमलाले जनाए । समितिमा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापा सभापति छन् भने २४ जना सदस्य छन् ।

२०८० भदौ २७ मा संसद्‌मा दर्ता गरिएको विधेयक दफाबार छलफलका लागि असोज २५ मा समितिमा पठाइएको थियो । समितिले विज्ञ, सरोकारवाला र संशोधनकर्ता सांसदसँग छलफल गरी प्रदेशस्तरमा समेत सुझाव संकलन गरेको छ । तर त्यसपछि विधेयक अघि बढ्न सकेको थिएन ।

विधेयकमा १ सय ५२ सांसदले १ हजार ७ सय ५८ बुँदा/दफामा संशोधन दर्ता गराएका थिए । तीमध्ये १ सय १५ सांसदले मात्रै समितिले डाकेको छलफलमा उपस्थित भएर आफ्नो संशोधन प्रस्तावमाथि धारणा राखेका थिए । विधेयक स्वार्थ समूहको दबाबका कारण दफाबार छलफलको चरणमा प्रवेश गर्न नसकेको गुनासो सरोकारवालाले गर्दै आएका छन् ।

विद्यालय शिक्षामा स्थानीय तहको क्षेत्राधिकार, निजी विद्यालयको व्यवस्थापनलगायत विषयमा आफ्नो स्वार्थअनुकूल जनप्रतिनिधि, शिक्षक र निजी विद्यालय सञ्चालकले सरकारलाई निरन्तर दबाब दिँदा विद्यालय शिक्षा विधेयक ८ वर्षको प्रयासपछि मात्र संसद्‌मा दर्ता भएको थियो । अहिले पनि छिटो विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघ आन्दोलनमा छ । दोस्रो चरणको आन्दोलनका क्रममा शिक्षकहरूले राजनीतिक दलका कार्यालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना दिँदै आएका छन् ।

माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहमा हुने, कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने संविधानको व्यवस्था शिक्षा ऐनले कार्यान्वयनमा लैजानुपर्नेछ । संविधानको धारा ३१ को उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने भनिएको छ । तर, निजी लगानीमा सञ्चालित विद्यालयका सञ्चालकले साविकै कम्पनी मोडलमा सञ्चालन हुनुपर्ने अडान राखेका छन् ।

सांसदहरूले गुठीमा रूपान्तरण गरेर गैरनाफामूलक/सेवामूलक बनाउनुपर्ने जनाएका छन् । विद्यालय तहसम्मको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको व्यवस्था प्रतिकूल सामुदायिक विद्यालयका शिक्षकहरूले माग राख्दै आएका छन् । उनीहरूले विद्यालय शिक्षा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा हुनुपर्ने भन्दै राजनीतिक नेतृत्वलाई लबिङ गर्दै आएका छन् ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully