परीक्षा आयो, पुस्तक आएन

मेचीनगरका १० हजार विधार्थी पुस्तक नै नदेखिकन परीक्षा दिन बाध्य

चैत्र ६, २०८१

नवराज सुवेदी

The exam came, the book didn't come

झापा — मेचीनगर नगरपालिका-११ स्थित बलभद्र जनता माध्यमिक विद्यालयमा कक्षा-६ मा पढ्ने नेहा ढुंगानाको आउँदो शुक्रबारबाट वार्षिक परीक्षा सुरु हुँदैछ। यसपालि नजिकिँदो परीक्षाले भन्दा पनि उनलाई अर्कै विषयले चिन्ता थपेको छ । त्यो हो- किताब देख्नै नपाई परीक्षा लेख्नुपर्ने बाध्यता ।

नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘हाम्रो मेचीनगर’ तयार गरेर लागू गरेको छ। तर विद्यार्थीले वार्षिक परीक्षा नजिकिँदासम्म पनि पाठ्यपुस्तक देख्न पाएका छैनन्। ‘मैले मात्र होइन, कक्षाका धेरैले यो किताब देख्न पाएका छैनन्। यसपालि किताब नदेखिकनै परीक्षा दिनुपर्ने भयो ।’

मेचीनगर नगरपालिकाले २०७७ सालमा स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम तयार गरी २०७९ देखि नगरका विद्यालयमा ‘हाम्रो मेचीनगर’ पुस्तक पढाउन सुरु गरेको थियो । तर, पाठ्यक्रम लागू भएदेखिनै पर्याप्त रूपमा विद्यालयमा पुस्तक पुर्‍याउन सकेको छैन । यस वर्ष पनि सोही अवस्था दोहोरिएको छ । परीक्षासम्म पनि विद्यार्थीको हातमा पुस्तक छैन ।

नगरभर सामुदायिक, संस्थागत विद्यालय गरी कक्षा १ देखि ८ सम्म २१ हजार एक सय बढी विद्यार्थी अध्यनरत छन् । नगर शिक्षा शाखाले दिएको जानकारी अनुसार कक्षा १ देखि ५ सम्म १३ हजार तीन सय ८१ विद्यार्थी अध्यनरत छन् भने कक्षा ६ देखि ८ सम्म ७ हजार सात सय १५ विद्यार्थी अध्यनरत छन् । पुस्तक नपाउँदा कति विद्यार्थी त्यसको प्रत्यक्ष प्रभावमा परेका छन् ? यकिन छैन। तर तथ्यांक शाखाकै अनुसार तीमध्ये आधा विद्यार्थीको हातमा पनि पुस्तक पुगेको छैन।

‘परीक्षा आइसक्यो, पढ्नलाई किताब छैन, प्रश्न उत्तर खोज्न, होमवर्क गर्न अप्ठ्यारो छ,’ मेचीनगर-१० धुलाबारी माविमा कक्षा-६ मा अध्ययनरत संयम मोदीले भने। उनका अनुसार कक्षामा शिक्षक आउँछन्, एक जना विद्यार्थीसँग किताब मागेर पढाउने र गृहकार्य दिएर जान्छन् । तर, किताब नभएका कारण आधा विद्यार्थीले पढ्नै पाएका छैनन्। कतिपयले साथीको सारेर गृहकार्य बुझाएका छन्।

नगरपालिका कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीलाई ‘हाम्रो मेचीनगर’ पुस्तक अनिवार्य गरेको छ । क्रमिक रूपमा पुस्तक छपाएको नगरले सुरुमा कक्षा २, ३ र ६ को पुस्तक छापेको थियो । त्यसपछि ७ र ८ को पुस्तक छापियो भने ४ र ५ को अन्तिम समयमा छपाइ भयो ।

नगरले पर्याप्त पुस्तक छाप्न नसक्दा ५८ संस्थागत र ४२ सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई समस्या परेको छ । शिक्षिका पुनम राजवंशी धुलाबारी माविमा कक्षा ४, ५ र ८ लाई ‘हाम्रो मेचीनगर’ पुस्तक पढाउँछिन् । तर, आफूले पढाउने पुस्तक नै पर्याप्त नहुँदा उनले सोचे जसरी पढाउन सकिरहेकी छैनन् । ‘किताब नहुँदा विद्यार्थीको ध्यानाकर्षण नै गराउन सकिँदैन, अभ्यास कार्य दिन पनि पुस्तक नभएकाले समस्या छ । दुई वर्ष त गुगलबाट सर्च गरेर पढाएँ’, उनी भन्छिन्, ‘किताब भए सजिलो हुन्थ्यो । नानीहरूले पनि राम्रो पढ्न सक्थे ।’

शिक्षिका राजवंशीका अनुसार ‘हाम्रो मेचीनगर’ पुस्तक पर्याप्त त छैन नै, वर्षैपिच्छे पनि आउँदैन । पुराना किताब खोजेर केही विद्यार्थीलाई पढ्न दिने गरिएको छ। पाठ्यपुस्तक बनाएर विद्यार्थी माझ पुर्‍याउन नसक्दा शिक्षकले पढाएका आधारमा मात्रै कसरी परीक्षामा राम्रो अंक ल्याउन सकिन्छ भनेर विद्यार्थीहरु चिन्तित छन्।

धुलाबारी माविमा कक्षा ५ मा अध्ययनरत सिवानिया उप्रेती भन्छिन्, ‘मसँग त किताब छ, तर साथीहरूसँग छैन । हामी पालैपालो पढ्छौं ।’ हातमा किताब नै नभएपछि पढाउन अप्ठ्यारो हुने बलभद्र जनता माविका सहायक प्रधानाध्यापक टीकेन्द्र खनालले बताए। ‘पढाउन जटिल त भइहाल्छ नै, विद्यार्थीहरू पाठ्यपुस्तकमा केन्द्रित पनि हुँदैनन् । होमवर्क दिनुपर्छ, स्थानीय पाठ्यक्रम भएकाले प्रोजेक्टहरू हुन्छन् । यी सबैमा प्रभाव परेको छ,’ उनी भन्छन् ।

‘पर्याप्त मात्रामा किताब किन छैन ?’ कान्तिपुरको प्रश्नमा मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी भन्छन्, ‘पुस्तक पर्याप्त नभएकै हो । तर, पढ्न पढाउनलाई भने समस्या छैन । हामी ई–कपी दिन्छौं, प्रतिनिधिमूलक रूपमा पुस्तक पनि पुर्‍याएका छौं । पाठ्यक्रम पनि छ, सोही अनुसार शिक्षकहरूले पढाइरहनुभएको छ।’

उनका अनुसार कक्षा १ मा भने स्थानीय पाठ्यक्रम लागू गरिएको छैन । अरू कक्षामा अनिवार्य छ । विद्यार्थीले जसरी भए पनि पुस्तक पाउनुपर्ने भए पनि त्यस्तो हुन नसकिरहेको बताउँछन् शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख देवेन्द्रबहादुर मल्ल । ‘विद्यार्थीले जसरी पनि पुस्तक पढ्न पाउनुपर्छ । तर, अन्य पालिकाहरूमा पनि पुस्तक पर्याप्त नभएको भनेर गुनासो छ, यस्ता विषयमा सम्बन्धित पालिकाहरूले चासो देखाउनुपर्छ,’ उनी भन्छन् ।

पुस्तक छाप्न नै छुट्याइएन बजेट

नगरले चालु आर्थिक वर्षका लागि ३ करोड ५९ लाख ९८ हजार ५८८ रुपैयाँ शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ । तर, उक्त बजेटमा स्थानीय पाठ्यक्रम अन्तर्गतको ‘हाम्रो मेचीनगर’ पुस्तक प्रकाशनका लागि कुनै शीर्षक नै राखिएको छैन । शिक्षा क्षेत्रमा २३ वटा शीर्षकमा बजेट विनियोजन गरेको नगर आफैँले अनिवार्य गरेको ‘हाम्रो मेचीनगर’ पुस्तक छपाइका लागि भने बजेट विनियोजन गरेको छैन ।

‘विगतमा बजेट राखिए पनि यसपटक पहिले जसरी राखिएको छैन’, शिक्षा शाखा प्रमुख भण्डारी भन्छन्, ‘पुस्तक अभाव त्यसैकारण पनि हो।'

नवराज

Link copied successfully