दार्चुला — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बैतडीका तीन क्याम्पसमा अनेरास्ववियु र दुई क्याम्पसमा नेविसंघ विजयी भएका छन्।
रौलाकेदार बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन । पुर्चौंडी बहुमुखी क्याम्पसमा बुधबार निर्वाचन हुने कार्यतालिका छ भने सिगास शिक्षा क्याम्पसमा भने विवादका कारण स्थगित छ। निर्वाचन भएका पाँचमध्ये तीनमा अनेरास्ववियु र दुईमा नेविसंघले जितेका हुन्।
पञ्चेश्वरस्थित नवप्रभात संयुक्त क्याम्पस कुलाउमा विद्यार्थी संगठनहरुबीच सहमतिमा अनेरास्ववियुकी सपना चन्द सभापति चयन भएकी छन् । दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट अनेरास्ववियुका नवीन कपाडी स्ववियु सभापतिमा निर्वाचित भएका छन् ।
यहाँ अखिल क्रान्तिकारी एक्लै चुनावी मैदानमा उत्रेको थियो । कपाडी एक सय मत ल्याएर सभापतिमा निर्वाचित भए। उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका सुरेन्द्र कार्कीले ५५ मत ल्याए। समितिको पदाधिकारी र सदस्यहरुमा कपाडीको प्यानलै निर्वाचित भएका छन्।
शिवनाथ गाउँपालिकामा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी भएको छ । कविता साउद अध्यक्षमा चुनिएकी छन्। कविताले ३७ मत प्राप्त गर्दा अनेरास्ववियूबाट सभापतिका उम्म्देवार बनेका सरिता साउदले २८ मत प्राप्त गरिन् । ९५ जना मतदाता विद्यार्थी रहेको यस क्याम्पसमा ६६ मत खसेको थियो।
त्यस्तै, डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा रहेको सेटिगाउ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका कृष्णसिंह रावल विजयी भए। रावलले एक सय ३ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका रमेश मालले ८९ मत ल्याएका थिए । अनरास्ववियुकी एक जना सदस्य बाहेक अन्य सबै पदहरुमा संयुक्त प्यानल विजयी भएको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद जोशीले बताए ।
यस्तै, दशरथचन्द नगरपालिकामा रहेको शिक्षा क्याम्पस शाहीलेकमा अनेरास्ववियुका अक्बर चन्द निर्विरोध निर्वाचित भए। यो क्याम्पसमा अनेरास्ववियु बाहेक अन्य विद्यार्थी संगठनका कसैको पनि उम्मेदवारी परेन।
