काठमाडौंका ४ क्याम्पसमा नेविसंघ, ३ मा अनेरास्ववियु, क्रान्तिकारी २ र एकमा स्वतन्त्र बिजयी

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

In 4 campuses of Kathmandu, Navy Sangh, 3 Aneraswaviyu, 2 Krantikari and 1 Independent Bijay.

काठमाडौँ — काठमाडौं उपत्यकाका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ पहिलो भएको छ । मंगलबार निर्वाचन भएका ११ मध्ये १० वटाको मत परिणाम प्राप्त भएको छ । जसमा नेविसंघले ४, अनेरास्ववियुले ३, अखिल क्रान्तिकारीले २ र स्वतन्त्र उम्मेद्वारले एक क्याम्पसको स्ववियु अध्यक्ष जितेका छन्। भक्तपुर बहुमुखी क्याम्पसमा भने मतगणना जारी छ ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघका प्रल्हाद खड्का, आयुर्वेद क्याम्पसमा नेविसंघकै निशान अर्याल स्ववियु अध्यक्षमा निर्वाचित भए । त्यस्तै, महाराजगञ्ज चिकित्सा क्याम्पस र नर्सिङ क्याम्पसमा नेविसंघले जित हासिल गरेको छ । चिकित्सामा विबेककुमार यादव र  नर्सिङ बिन्दु पोखरेल निर्वाचित भए । २०७९ को निर्वाचनमा यी क्याम्पसमा अनेरास्ववियुले स्ववियु अध्यक्ष जितेको थियो ।

अनेरास्ववियुले नेपाल कर्मश क्याम्पस मिनभवन र महेन्द्ररत्न क्याम्पस ताचाहलको स्ववियु अध्यक्ष जितेको छ । कर्मश क्याम्पसमा बिशाल रोकाह र महेन्द्ररत्नमा ईश्वरकुमार थापा निर्वाचित भए । त्यस्तै ललितकला क्याम्पस भोटाहिटीमा पनि अनेरास्ववियु उम्मेद्वारले स्ववियु अध्यक्ष जितेका छन् । आशिष पौडेल निर्वाचित भएका छन् । 

अखिल क्रान्तिकारीले जनप्रशासन र सानोठिमी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा जित हात पारेको छ । जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्रसिंह ठगुन्ना अध्यक्ष निर्वाचित बनें । पुल्चोक इन्जिनिरिङ क्याम्पसमा भने स्वतन्त्र उमेद्वार स्वंयम श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।

काठमाडौं उपत्यका त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुर, आरआर, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, अस्कल, शंकरदेव, पद्यकन्या, सरस्वती, पब्लिक युथ, पाटन लगायत ११ ठुला क्याम्पसमा भने  स्ववियु निर्वाचन हुन सकेन । निर्वाचनको प्रयास गरेको क्याम्पसहरुले जनाएपनि अहिलेसम्म हुने वा नहुने अनिश्चित छ ।

कान्तिपुर संवाददाता

Link copied successfully