एसईई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

Education Minister Bhattarai's directive to make SEE decent

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले देशभर चैत ७ गतेबाट सञ्चालन हुने एसईईलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सोमबार निर्देशन दिएका छिन् ।

मधेश प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूसँगको भर्चुअल बैठकमा उनले परीक्षामा कुनै पनि किसिमको कमीकमजोरी स्वीकार्य नहुने बताईन् । स्थानीय र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा प्रहरी सञ्चालन गर्न समेत उनले निर्देशन दिइन् । परीक्षामा नियमविपरीत कार्य गर्ने जो कोहीलाई पनि कठोर कारबाही गरिने चेतावनी दिँदै  उनले मर्यादा कायम राख्न इकाई प्रमुखसमेत जिम्मेवारी हुनुपर्ने औंल्याइन् ।

चैत १९ गतेसम्म २ हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सञ्चालन हुनेछ । परीक्षामा ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । गतवर्षभन्दा ४९ हजार २ सय ८६ जना परीक्षार्थी थपिएका छन् ।

परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधार गृह र कारागारमा समेत गरी तीनवटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र अन्य पाठ्यक्रमका विषयहरूको परीक्षा हुनेछ भने चैत ८ गते नेपाली, चैत १० गते गणित, चैत १२ गते विज्ञान, १३ गते सामाजिक शिक्षा र बाँकी २ दिनमा ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुने समयतालिका छ ।

परीक्षाको गुणस्तर कायम राख्न र नक्कललाई निरुत्साहित गर्न शिक्षा मन्त्रालयले विशेष निगरानीको व्यवस्था गरेको जनाएको छ । परीक्षाको सुरक्षा, सामग्री व्यवस्थापन र अन्य आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully