त्रिविमा तोडफोड गर्नेलाई कारबाही गर्न सरकारलाई आग्रह

दोषीलाई कानुनी कठघरामा ल्याउन प्राध्यापक, विद्यार्थी संगठनको माग

फाल्गुन २५, २०८१

सुदीप कैनी

Urge the government to take action against those who vandalized the university

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले रेक्टर र डिन कार्यालय तोडफोडमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै त्रिविले कारबाही गर्न गृह मन्त्रालयलाई अपिल गरेको हो ।

‘कुनै माग वा समस्या भए विश्वविद्यालय वार्ता र संवादका माध्यमबाट समाधान गर्न सदैव तयार छ,’ त्रिविका सूचना अधिकारी शान्ताकुमारी नेउपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको सहनशीलतालाई कमजोरी ठानी सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, पदाधिकारी, शिक्षक तथा कर्मचारीलाई आतंकित गर्ने कार्य भएमा खुला रूपमा कानुनी उपचारका लागि सम्बन्धित संस्थामा जान विश्वविद्यालय बाध्य हुनेछ ।’

विद्यार्थीको समूहका नाममा त्रिविमा पटक/पटक तोडफोड लगायतका गतिविधि हुँदै आए पनि विश्वविद्यालय र गृह प्रशासनले अहिलेसम्म कानुनी दायरामा ल्याउन सकेका छैनन् । तोडफोडमा संलग्नले उन्मुक्ति पाउँदै आएकाले यस्ता घटना दोहोरिँदै आएको त्रिविका प्राध्यापक बताउँछन् ।

शनिबार रेक्टर खड्ग केसी र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकर खनालको कार्यकक्षमा विद्यार्थीको एक समूहले तोडफोड गरेको थियो । सत्तारूढ कांग्रेसनिकट नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित नरेन्द्र साउद, त्रिवि संघर्ष समितिका संयोजक सिकेन्द्र रोकायालगायत पाँच जनाको समूहले कीर्तिपुरस्थित रेक्टर र डिनको कार्यकक्षमा तोडफोड गरेको प्रत्यक्षदर्शीको भनाइ छ । सीसीटीभी फुजेटमा उनीहरूसहित ५ जना संलग्न रहेको देखिन्छ । प्रहरीले घटनाको सीसीटीभी फुटेज लगे पनि कारबाही प्रक्रिया अघि नबढाएको रेक्टर र डिन कार्यालयले जनाएका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहोराले कुर्सीहरू तोडफोड भएको सामान्य जानकारी प्राप्त भएको बताए । ‘कारबाहीका लागि औपचारिक निवेदन आएको छैन । घटनाको बारेमा आधिकारिक उजुरी नआएसम्म कानुनी रूपमा अघि बढ्न प्रहरी मिल्दैन,’ उनले भने । सामान्य विवाद भएको र कुर्सी तोडफोड भएको जानकारी पाएको बोहोराले जनाए । रेक्टर र डिन कार्यकक्षमा रहेका कुर्सी, सिसा, टेबुल, दराज र सोफामा क्षति पुगेको कर्मचारीको भनाइ छ । त्रिविले चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई बिथोल्ने उद्देश्यले तोडफोडको घटना भएको जनाएको छ ।

तोडफोडको विषयमा स्ववियु निर्वाचन हेर्ने प्रहरीको हेडक्वार्टरमा रहेको सेललाई समेत जानकारी गराए पनि कुनै कारबाही नभएको पदाधिकारीको गुनासो छ । प्राज्ञिक थलोमा भएको तोडफोड घटनाको प्राध्यापक र विद्यार्थी संगठनले पनि विरोध गरेका छन् । दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग नेपाल प्रगतिशील प्राध्यापक संगठनले गरेको छ । अध्यक्ष खगराज शर्मा र महासचिव पद्मप्रसाद खतिवाडले विज्ञप्ति जारी गर्दै दोषीउपर कारबाही गर्न त्रिवि प्रशासनसँग माग गरेका छन् । ‘शान्ति सुरक्षाको अवलम्बनका उपाय बिनासर्त सुनिश्चितता गर्न ध्यानाकर्षण गर्छौं,’ विज्ञप्तिमा भएको छ । 

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै रेक्टर र डिन कार्यालयमा भएको तोडफोडको विरोध र भर्त्सना गरेका छन् । ‘तोडफोडमा संलग्न अराजक जत्थालाई तत्काल प्रक्राउ गरी कानुनी कठघरामा ल्याउन र जुनसुकै परिस्थितिमा स्ववियुको निर्वाचनको सुनिश्चितताका लागि अनेरास्ववियु माग गर्छ,’ विज्ञप्तिमा भनिएको छ । 

नेविसंघका विद्यार्थी तोडफोडमा संलग्न भएको भेटिएपछि नेविसंघ त्रिवि इकाइ समितिले विज्ञप्ति निकालेर तोडफोडमा संगठनको आधिकारिक संलग्नता नरहेको जनाएको छ । इकाइ सभापति विष्णु बडैलाले जारी गरेको विज्ञप्तिमा यससम्बन्धमा संगठनबाट आधिकारिक निर्णय वा निर्देशन नभएको उल्लेख छ । संगठनलाई आरोप लागेपछि नेविसंघ केन्द्रीय समितिले पनि विज्ञप्ति जारी गरेर निष्पक्ष छानबिनको माग राखेको छ । प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गरेर स्ववियु चुनाव सुनिश्चित हुनुपर्नेसमेत जनाएका छन् । 

सुदीप कैनी कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully