घरमा अभिभावकले पढाइमा ध्यान नदिने, विद्यार्थी मोबाइलमा व्यस्त रहेपछि विद्यालयको निकालेको जुक्ति
अर्घाखाँची — स्कुलको कक्षाकोठाभित्र चकटी, सुत्ने बिस्तरा र कापी किताबका चाङ । कपडाको झोला, पानी खाने गिलास र भात खाने थाल पनि छन् । कक्षाकोठाबाट डेस्क-बेन्च हटाइएको छ । त्यही ठाउँमा राखिएको खाटमा बसेर विद्यार्थी पढ्न र लेख्न व्यस्त छन् ।
मालारानी गाउँपालिका–९ गोखुंगा सिमे देउरालीस्थित सूर्य माविका ४८ विद्यार्थी मंसिर १० देखि स्कुलमै बास बसेर एसईईको तयारी गरिरहेका छन् । उनीहरुले घरबाटै विस्तरा ल्याएर स्कुलमा बस्न आएका हुन् । उनीहरु सामूहिक रुपमा सुत्छन्, बिहान ४ बजे उठ्छन् । 'फ्रेस' भएपछि कापीकिताब समात्छन् । खाटमै बसेर पौने ६ बजेसम्म पढ्छन् ।
उनीहरुसँग कुनबेला के पढ्ने भन्ने तालिका पनि छ । जस्तो, बिहान ६ देखि ९ सम्म अंग्रेजी, गणित र विज्ञान विषय गुरुसँग पढ्छन् । १० देखि ४ बजेसम्म कक्षाको रुटिनअनुसार पढाइ हुन्छ । दिउँसो सवा ४ देखि साढे ७ बजेसम्म फेरि गणित विषय पढ्छन् । १० बजेसम्म अरु विषयको तयारी गरेपछि एकदिनको तालिका पूरा हुन्छ । त्यसपछि उनीहरु सुत्छन् ।
बिहान चियापानी, साढे ९ बजे खाना, दिउँसो १ बजे खाजा र बेलुका साढे ७ बजे खाना खाने समय निर्धारण गरिएको छ । शिक्षक-विद्यार्थी सामूहिक खाना खान्छन् र सबैले आआफ्ना थाल आफै माझ्छन् ।
विद्यार्थीसँग विद्यालयका प्रधानाध्यापक डुकप्रसाद पौडेलसहित विषयगत ७ जना शिक्षक राति स्कुलमै बस्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम क्षेत्री खाद्यान्य, तरकारी, पानी, दाउराको बन्दोबस्त, विद्यार्थीको रेखदेखदेखि सबै व्यवस्थापनको काममा खटिएका छन् । एसईई चैत ७ गतेदेखि सञ्चालन हुँदै छ ।
यसरी विद्यार्थीलाई स्कुलमै बसालेर पढाउनुको उद्देश्य एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु रहेको प्रअ पौडेलले बताए । ‘गतवर्ष एसईईको रिजल्ट राम्रो आएन,’ उनले भने, ‘घरमा पनि अभिभावकले पढाउन नसक्ने, विद्यार्थी घरको काममा र मोबाइलमा व्यस्त हुँदा परिणाम झन बिग्रने अनुमान गर्यौं । त्यसपछि विद्यार्थीलाई स्कुलमै आवासीय बढाउन थाल्यौं ।’ यसरी पढाउँदा कमजोर विद्यार्थीको पढाइ राम्रो हुँदै गएको उनले बताए ।
मंसिरमा विद्यालय व्यवस्थापन समिति, वडाध्यक्ष, शिक्षकसहितको बैठकले आवासीयमै पढाउने निर्णय गरेको थियो । एसईईमा फेल भएपछि विद्यार्थीले फेरि परीक्षा नदिने र वैदेशिक रोजगारतिर लाग्ने समस्या भयो । 'पढेर नेपालमै बसेर कर्मचारी, शिक्षक, डाक्टर, वकिलसहित देशको उच्च तहमा पुगून्, बिजनेस, उद्योगपति बनून् भन्ने उद्देश्यले विद्यार्थीको भविष्यकै लागि आवासीय पढाइ सञ्चालन गरिएको हो,' प्रअ पौडेलले भने ।
कमजोर विद्यार्थीमा पनि पढ्ने बानी बसेको अभिभावक बताउँछन् । तल्लो कक्षाबाटै शैक्षिक गुणस्तर वृद्धि गर्ने गरी कक्षा सञ्चालन भएको प्रअ पौडैलले बताए । ‘सामुदायिक स्कुलमा पढाइ राम्रो छैन भन्ने गरिन्छ,’ पौडेलले भने, ‘हामी प्रतिष्ठाको विषय बनाएरै लागेका छौं, नतिजा सुर्धाछौं ।’
तल्लो कक्षामा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गरेपछि स्कुल नजिकै रहेको एउटा निजी बोर्डिङ दुई वर्षअघि नै विद्यार्थी अभावमा बन्द भयो । त्यहाँका सबै विद्यार्थी यही स्कुलमा भर्ना हुन आए । वडाध्यक्ष महेन्द्रबाबु खनाल पनि बेलाबेला स्कुलमै पुगेर रेखदेख गर्छन् ।
‘मंसिरदेखि एसईईसम्म आवसीय पढाइ, खाना तथा खाजा खर्च गरी १० लाख रुपैयाँभन्दा बढी खर्च हुने आँकलन गरेका छौं,’ व्यवस्थापन समितिका अध्यक्ष पदम क्षेत्रीले भने, ‘दाल, चामल, तरकारी, अण्डा, प्याज, लसुन, टमाटर, मसलासहित खाजा लगायत सबै परिकार जुटाउन दाता खोजेका छौं ।' अभिभावक र स्थानीयका घरबाट पनि तरकारी ल्याउने गरेको उनले बताए । 'सातामा एकपटक मासु खुवाउँछौं,' उनले भने । उनी सामान जुटाउन गाउँ र सदरमुकामसम्म आफ्नै गाडी लिएर पुग्छन् ।
अब स्कुलमा पढाएरै रिजल्ट राम्रो ल्याउने कोसिस भएको उनले बताए । 'आर्थिक सहयोग र दाता खोजेर खाद्यान्य संकलन गरेपछि विद्यार्थीलाई नि:शुल्क खाना र खाजा स्कुलले उपलब्ध गराएको छ भने पढाएबापत विद्यार्थीले एकमुष्ठ २१ सय रुपैयाँ शिक्षकलाई शुल्क तिर्नुपर्छ,' उनले भने ।
एसईई तयारीका लागि स्कुलमै बसेका प्रख्यात पौडेल प्रथम विद्यार्थी हुन् । ‘घरमै बसेर पढेको भए पनि पास त हुन्थेँ होला,’ उनले भने, ‘स्कुलमा आवासीय रुपमा पढ्दा रिजल्टमा विशिष्ट/प्रथम श्रेणीमा पास हुन सक्छु भन्ने आँट जागेको छ । परीक्षामा आउन सक्ने सम्भावित प्रश्न, किताबको पाठ रिपिट भएको छ र सामूहिक रुपमा पढ्दा साथीसँग छलफल गर्दा अझै धेरै सिकेका र जानेका छौं ।’
अर्का विद्यार्थी संगम खनालले यसरी पढ्दा नजानेका विषयमा जान्ने मौका भएको बताए । ‘घरमा पढ्दा घरको काम गर्नुपथ्यो,’ उनले भने, ‘स्कुलमा त जतिबेला पनि पढेको पढ्यै हो । धेरै फाइदा भएको छ ।’ अर्जुन पौडेललाई भने एसईईको रिजल्ट राम्रो अंक ल्याएर पास हुनका लागि आवासीय पढाइले ठूलो फाइदा गरेको अनुभव भएको छ ।
