काठमाडौं विश्वविद्यालय उपकुलपति सिफारिस समिति अनिर्णयको बन्दी

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

Kathmandu University Vice-Chancellor Recommendation Committee is deadlocked

काठमाडौँ — उपकुलपति खोज तथा सिफारिस समितिले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिको नाम सिफारिस गर्न अस्वाभाविक ढिलाइ गरेको छ । समितिले गत फागुन ३ मा उम्मेदवारसँग अन्तर्वार्ता लिइसके पनि प्रधानमन्त्री तथा कुलपतिलाई ३ जनाको नाम सिफारिस गर्न सकेको छैन । 

ढिलाइ भएकामा उपकुलपतिका लागि आवेदन दिएका २० मध्ये ८ जनाले प्रधानमन्त्रीलाई पत्र लेख्दै ध्यानाकर्षण गराएका हुन् । उपकुलपतिका उम्मेदवारहरूले समितिले आफैंले बनाएको कार्यविधिअनुसार छनोटका सबै प्रक्रिया पूरा गरिसक्दा पनि नाम सिफारिस गर्न नसकेको गुनासो गरेका हुन् । उनीहरूले यसअघि पनि समितिका संयोजक सुरेशराज शर्माको निष्पक्षताको विषयमा प्रश्न उठाउँदै कुलपतिलाई पत्र लेखेका थिए ।

पत्रमा कार्यविधिअनुसार छनोट प्रक्रियाबाट उत्कृष्ट अंक प्राप्त गर्ने ३ जनाको नाम सिफारिस हुनुपर्नेमा जोड दिइएको छ । संयोजकले ३ जनाभित्र नपरेका उम्मेदवारलाई समेत सिफारिसमा पार्न चलखेल गरिएको आरोप लगाएका छन् । ‘मेरिटका आधारमा उच्च अंक ल्याउने ३ जनाको नाम सिफारिस गर्नुपर्ने हो तर समितिले अलमल गरिरहेको छ,’ एक प्रतिस्पर्धीले भने, ‘बढी अंक ल्याउने ३ जनाको नाम सिफारिस गर्न किन रोकिएको आश्चर्यजनक छ, जति ढिला भयो, उति चलखेल हुन्छ ।’

नाम सिफारिसका लागि समितिको बैठक पटकपटक बस्दै आएको छ । स्रोतका अनुसार कुलपतिलाई नाम सिफारिस गर्ने विषयमा समितिभित्रै एकमत हुन सकेको छैन । मेरिटभित्रबाटै गर्नुपर्ने र मेरिटभन्दा पछाडि परेकालाई पनि सहमतिमा उपकुलपति सिफारिस गर्नुपर्ने विषयमा मतभेद रहेको समिति सदस्यनिकट स्रोतले जनायो । उपकुलपति खोज तथा सिफारिसका लागि जारी कार्यविधिमा उच्च अंक प्राप्त गर्ने ३ जनाको नाम सिफारिस गर्ने र तीमध्ये १ जनालाई कुलपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

त्यस्तै उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन विश्वविद्यालयका पदाधिकारीले पनि समितिको ध्यानाकर्षण गराएका छन् । विश्वविद्यालयका १३ पदाधिकारीले पत्र पठाउँदै उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन ध्यानाकर्षण गराएका हुन् । उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवं निष्पक्षतामाथि समेत प्रश्न उठ्न थालेको पत्रमा उल्लेख छ । उपकुलपति छनोटका लागि बनाइएका कार्यविधि तथा मापदण्डका आधारमा तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस हुने विश्वास पनि व्यक्त गरिएको छ ।

सिफारिस समितिमा केयूका संस्थापक उपकुलपति शर्मा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल सदस्य छन् । ‘सर्टलिस्टमा परेका १० जनामध्ये ९ जनाको अन्तर्वार्ता सकिएर मेरिट कायम भएको छ,’ समितिनिकट स्रोतले भन्यो, ‘कुलपतिलाई नाम बुझाउने भने पनि समितिभित्रै विमति देखिएको छ । त्यसैले ढिलाइ भएको हो ।’ अन्तिम सूचीमा पूर्वउपकुलपति भोला थापा, निमित्त उपकुलपति अच्युत वाग्ले, पूर्वरजिस्ट्रार सुबोध शर्मा, पूर्वडिन राजेन्द्र कोजु, पूर्वडिन कन्हैया झा, डिन जनार्दन लामिछाने, डिन बालचन्द्र लुइँटेल, प्राध्यापक वेदमणि दाहाल, श्यामनारायण लाभ र विभूतिरञ्जन झा छनोट भएका छन् ।

कान्तिपुर

Link copied successfully