काठमाडौँ — नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को २९ औँ अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु हुने भएको छ ।ललितपुरको लिटिल एन्जल्स स्कुलमा फागुन १५ देखि १७ सम्म सम्मेलन हुने नेल्टाका अध्यक्ष प्रा. डा. लक्ष्मण ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा २० देशका करिब १ हजार अंग्रेजी भाषा शिक्षक तथा भाषाविद्हरूको सहभागिता रहने छ ।
सम्मेलनमा 'मेसिन, मानवता र भाषा : अंग्रेजी भाषा शिक्षणमा नखोजिएका विषयहरू' भन्ने मूल विषयमाथि नेपाल लगायतका विभिन्न देशका प्राध्यापक, भाषाविद् र अनुसन्धानकर्ताहरूको प्रस्तुति रहने उनले जनाए ।
संयुक्त र व्यक्तिगत गरी करिब २ सय प्यानल र प्रस्तुति रहने सम्मेलनमा नेपालका तर्फबाट प्राध्यापकहरू तीर्थराज खनिया, जयराज आचार्य, लक्ष्मण ज्ञवाली प्रमुख वक्ताका रूपमा छनौट भएका छन् । त्यसैगरी, प्रा.मोतीकला सुब्बा देवान, डा. गंगाराम गौतम, डा लवदेव अवस्थी, डा. प्रेमप्रसाद पौडेल, डा. भीम गौतमलगायतले विभिन्न प्यानलिस्टका रूपमा भाग लिने छन् ।
संयुक्त राज्य अमेरिकाबाट डा. दयामुद्रा एन डेन्नेही, इंग्ल्यान्डबाट नीनाज इचापोरिया, सिंगापुरबाट प्रा. डा. एल्भिन पाङ, जापानबाट प्रा. डा. रोबर्ट स्ट्राउड, कोरियाबाट प्रा. लिन्डसे एन. हेरिन, थाई टेसोलबाट डा. थानिस थाङकित जारोएनकुन, भारतबाट प्रा.टी. कुमारी खरबमोन र प्रा. जेहन पाटिलुको मुख्य टिप्पणी रहने उनले बताए ।
यस्तै, नेल्टाका पूर्वअध्यक्ष हेमन्तराज दाहालले नेपाल सरकार शिक्षा मन्त्रालय जहाँ पुग्न सकेको छैन, त्यहाँ नेल्टाले सहयोग गर्ने र शिक्षक विद्यार्थीहरूमा अंग्रेजी भाषा शिक्षण सिकाइको अपेक्षाकृत गुणस्तर हासिल गर्न सहभागी दाहालले बताए । पूर्वअध्यक्ष प्रा. मोतीकला सुब्बा देवानले २९ औँ सम्मेलनले संसारभरिका विद्वान्लाई नेपाल ल्याएर अनुभव आदानप्रदान गर्नाले नेपालको शैक्षिक गुणस्तर बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
नेल्टाका केन्द्रीय उपाध्यक्ष डा. भीमलाल गौतमले नेपाली सन्दर्भमा अंग्रेजी शिक्षाबारे पुनर्विचार गर्ने र भाषिक विविधता रहेको नेपालमा बहुभाषिक शिक्षाको व्यवस्थापनबारे समेत सम्मेलनमा गहन छलफल हुने बताए । उनका अनुसार सम्मेलनमा भाषा सम्बन्धी पोस्टर प्रदर्शन, गोष्ठी र कविता वाचनको कार्यक्रमसमेत समावेश गरिएको छ । नेपालका तर्फबाट युवा कविनवराज पराजुलीको विशेष प्रस्तुति रहने छ ।
