गोरखा — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन आउँदो अधिवेशनबाट पास गर्ने गरी योजनाबद्ध ढंगले अघि बढेको बताएकी छिन् । शुक्रबार गोरखा नगरपालिका–८ स्थित सरस्वती माविको स्वर्ण महोत्सव समारोहमा बोल्दै उनले विद्यालय शिक्षा ऐन छिटो ल्याउनका लागि काम गरिरहेको बताएकी हुन् ।
‘विद्यालय शिक्षा ऐन संसद्मा छ, कहिले आउँछ लागिरहेको होला,’ उनले भनिन्,‘ससदीय समितिले संशोधनकर्तासँग छलफल गरेर त्यसबारेमा छलफल सकिएको छ, दफाबार छलफल भएको छ, अहिले संसदीय समितिका सदस्यहरु प्रदेशमा छलफलमा हुनुहुन्छ, उहाँहरु फर्किएपछि छिटोभन्दा छिटो संसद्मा लाने र यही अधिवेशनबाट पास गर्ने गरी योजनाबद्ध तवरले काम गरिरहेका छौं ।’
ऐनमा संकोच र शंका नमानी छिटोभन्दा छिटो ल्याउनका लागि खबरदारी आवश्यक रहेको उनले बताइन् । त्यस्तै शिक्षक दरबन्दीको अवस्था पनि अध्ययन भइरहेको उनले बताइन् । ‘शिक्षक व्यवस्थापन गर्नुपर्ने चुनौती छ, दरबन्दी कति छ, कहाँको दरबन्दीको अवस्था के छ, आवश्यक कति छ, अध्ययन गरिरहेका छौं,’ उनले भनिन्,‘त्यसपछि दरबन्दी मिलानको काम पनि अघि बढ्छ ।’
मन्त्री भट्टराईले गुणस्तरीय शिक्षाका लागि लगानी आवश्यक रहेको बताइन् । शिक्षा क्षेत्रमा अहिले १० प्रतिशत लगानी रहेको र यसलाई बढाउनुपर्ने उनले बताइन् । ‘संघ,प्रदेश र स्थानीय तिनै तहबाट कति लगानी भन्ने सुनिश्चित गर्नुपर्छ, संघ सरकारले २० प्रतिशत लगानी गर्नका लागि आफूलाई तयार गर्नुपर्छ,’ उनले भनिन्,‘शिक्षालाई पहिलो प्राथमिकतामा राखेर शिक्षामा लगानी गर्नुपर्छ भनेर निर्दिष्ट गरेका कुरालाई अवलम्बन गर्दै सरकार अघि बढ्ने छ ।’
शिक्षक सरुवा निर्देशिकाको विषय अदालतमा विचाराधिन रहेकाले अदालते दिएको आदेश पालना गरेर व्यवहारिक बनाउने पक्षमा लाग्ने पनि उनले बताइन् ।
