नेपाल सरकारका ८ सचिवलाई पढाएको स्कुलको ७५ वर्षे यात्रा

प्रधानाध्यापक राईले भने, ‘यो वर्ष २ सयभन्दा बढी विद्यार्थी निजी छाडेर यहाँ पढ्न आए’

माघ ११, २०८१

दीपेन्द्र शाक्य

75-year journey of the school that taught 8 secretaries of the Government of Nepal

संखुवासभा — हिमालय माविबाट २०२७ सालमा एसएलसी पास गरेका विश्वकुमार बज्राचार्यको जीवनका अरु धेरै दशक यही स्कुलमा बिते । किनकि २०३२ देखि २०७० सालसम्म ३८ वर्ष उनले यही पढाए । प्रधानाध्यापकको भूमिका निर्वाह गरेर सेवानिवृत्त भएका बज्राचार्यले पढएका विधार्थीहरु अहिले संसारभर फैलिएका छन् । उनका कैयन विधार्थी नेपालभित्रै उच्च ओहोदामा छन् ।

शुक्रबार हिरक महोत्सव अर्थात् विद्यालयको ७५ औं वार्षिकोत्सव मनाइरहँदा ७१ वर्षीय बज्राचार्य आफूले बिताएका चार दसकभन्दा लामो समय सम्झिएर भावुक भए । अवकाशपछिका दिनमा बज्राचार्य सदरमुकाम खाँदबारीमा विद्युतीय सामग्रीको व्यापार गरेर जीवन बिताइरहेका छन् ।

यही स्कुलबाट २०२४ सालमा एसएलसी दिएका सरोजकुमार बज्राचार्य अहिले ७३ वर्षका भए । २०४३ पछिका दस वर्ष यही स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका उनी विद्यालयको शैक्षिक र भौतिक सुधार निरन्तर भएकाले यो स्कुलले यहाँसम्मको यात्रा गरेको बताए ।

२०४० सालमा यही स्कुलबाट एसएलसी पास गरेका मोहनमणि घिमिरे अहिले संखुवासभामा सहायक प्रमुख जिल्ला अधिकारी छन् । यही स्कुलका कारण आफू जीवनमा अघि बढेको बताउने घिमिरे आफूले पढेको स्कुलको साख उतिबेलादेखि अहिलेसम्म उस्तै रहेको बताए ।

२००६ सालमा राधाकृष्ण आधार स्कुलको नाममा खुलेको यो विद्यालय २०१९ सालमा हिमालय मावि भएको थियो । कक्षा १ देखि १२ सम्म पढाई हुने यो विद्यालयमा १४ सय विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक वीरबहादुर राईले भने, ‘शिक्षकको नियमितता, सिकाइकेन्द्रित पठनपाठन, पर्याप्त भौतिक पूर्वाधार र शैक्षिक सामग्री, अंग्रेजी माध्यममा पढाइ, विद्यार्थीको प्रतिभा पहिचानलगायत कारण यो स्कुल विद्यार्थीको रोजाईमा परेको हो ।’

विद्यालयका अनुसार यहाँ पढेका विद्यार्थीहरुमध्ये १८ जनाले विद्यावारिधी गरिसकेका छन् । यहाँ पढेका ८ विद्यार्थी त नेपाल सरकारको सचिवसम्मै भए । २ जना संवैधानिक अंगको प्रमुख बने भने ४ जना सासंद बने । भौतिक पूर्वाधार र गुणस्तरिय पढाईका कारण हरेक वर्ष यो स्कुलमा निजी विद्यालयबाट पढ्न आउने विद्यार्थी पनि उत्तिकै हुन्छन् । प्रधानाध्यापक राईले भने, ‘यो वर्ष २ सयभन्दा बढी विद्यार्थी निजी छाडेर यहाँ पढ्न आए ।’

दीपेन्द्र शाक्य

Link copied successfully