कालीकोटको सामुदायिक विद्यालयको प्रगति, पहाड नै फर्किन थाले विद्यार्थी

यस वर्ष मात्र निजी विद्यालय छाडेर २२२ विद्यार्थी रास्कोटको बडिमालिका माविमा भर्ना भए

पुस २१, २०८१

तुलाराम पाण्डे

The progress of community schools in Kalikot, the students started returning to the hills

कालीकोट — दुई वर्षअघि बाँके कोहलपुरस्थित ब्राइट लाइट एकेडेमी छाडेर रास्कोटको बडिमालिका माविमा भर्ना भएका रास्कोट–५ साहुवाडाका विकास तिरुवा गाउँ फर्किनुपर्दा खुसी थिएनन् । नर्सरीदेखि कक्षा ७ सम्म अंग्रेजी माध्यममा पढेका विकासले गाउँको विद्यालयमा नेपाली माध्यममा पढ्नुपर्ने भएको थियो ।

‘पढाइ पनि गतिलो हुँदैन जस्तो लागेको थियो,’ उनले भने, ‘अचेल त पढाइ पनि धेरै राम्रो भएको छ ।’ खेतीकिसानी र ज्याला मजदुरी गरेर वार्षिक १ लाख २० हजार रुपैयाँ छोराका लागि खर्च जुटाउने विकासका बुबा कुचांग तिरुवा अचेल घरको खाना खाएर छोराले निःशुल्क पढ्न पाएकामा खुसी छन् ।

गत शैक्षिक सत्रमा छोरो कक्षा प्रथम भएको सुनाउँदै कुचांगले भने, ‘बिनाखर्च गाउँमै राम्रो पढाइ हुने रहेछ ।’ कक्षा १० मा नेपाली माध्यम भए पनि अंग्रेजी माध्यममा पनि गाइड गर्ने दक्ष र अनुभवी शिक्षक रहेको विकासले बताए । एसईईको नतिजा राम्रो बनाउन विद्यालयमै आवासको व्यवस्था गरेर पठनपाठन गरिएको छ । यो विद्यालयले गत वर्ष जिल्लामै उत्कृष्ट नतिजा ल्याएको थियो ।

सुर्खेतस्थित सनसाइन बोर्डिङ स्कुल छुटाएर रास्कोट–४ माथीस्युनाका तुलाराज उपाध्यायले छोरी राधालाई सोही विद्यालयमै कक्षा ९ मा भर्ना गरे । उपाध्यायले अंग्रेजी माध्यममा पढाइ सुरु भएपछि छोरीलाई गाउँ फर्काएका हुन् । वार्षिक पढाइ शुल्क मात्र ८४ हजार रुपैयाँ खर्च गरेर उनले छोरीलाई सुर्खेतमा पढाउँदै आएका थिए ।

‘यसरी पढाउनु रहर होइन, बाध्यता थियो,’ उनले भने, ‘गाउँमै राम्रो पढाइ हुन थालेपछि अब बाहिर पठाउनु परेन ।’ माथिल्लो कक्षामा मात्र होइन, तल्लो कक्षामा पनि सहर बजारका बोर्डिङ छाडेर विद्यार्थी भर्ना भएका छन् । 

रास्कोट–९ का ध्रुवराज न्यौपानेले पनि कोहलपुरमै पढ्ने छोरा योगेशलाई गाउँको विद्यालयमा ६ कक्षामा भर्ना गरेका छन् । स्थानीय तपबहादुर शाहीले छोरा रमितलाई सुर्खेतस्थित सेन्ट मेरिज इंग्लिस बोर्डिङबाट निकालेर गाउँमै भर्ना गरेको बताए । ‘गाउँमै गुणस्तरीय शिक्षा पाउने भएपछि बाहिर किन लैजानु ?’ तपबहादुरले भने, ‘मैले त वैशाखदेखि छोरालाई यतै भर्ना गरें ।’

शिक्षकले पनि आफ्ना छोराछोरी बोर्डिङबाट छुटाएर सरकारी विद्यालयमा भर्ना गर्न थालेका छन् । बडिमालिकाका स्थायी शिक्षक मेकेन्द्रबहादुर शाहीले स्थानीय नवप्रभात बोर्डिङ स्कुलमा पढ्ने छोरी क्यामरूपालाई कक्षा ३ मा भर्ना गरेको सुनाए ।

‘सरकारीको अंग्रेजी माध्यमले मलाई पनि आकर्षित गर्‍यो,’ उनले भने, ‘छोरीलाई आफू पढाउने स्कुलमै भर्ना गरें ।’ उनले बोर्डिङमा पढाउँदा वार्षिक ४८ हजार खर्च हुने गरेको सुनाए । 

बडिमालिकाले ०३२ पुस १ मा माविको मान्यता पाएको हो । कालीकोटकै पहिलो मावि भए पनि पछिल्लो समय गुणस्तर खस्किन थालेको थियो । विद्यालय परिवार, अभिभावक, स्थानीय सरकार र साझेदार संघसंस्थाबीच छलफल र सुधारको कार्ययोजनाअनुसार अहिले प्रगति हुन थालेको प्रधानाध्यापक पुष्पराज बरालले बताए ।

‘कालीकोटको सबैभन्दा पुरानो र शैक्षिक जागरण भएको ठाउँको विद्यालय सुधार्न सबै पक्षको सक्रियता छ,’ उनले भने, ‘सहयोग पनि सबै पक्षबाट पाइएकै छ । उनले यस वर्षदेखि कक्षा ९ सम्म अंग्रेजी माध्यमबाटै पठनपाठन थालिएको बताए ।

प्रधानाध्यापक बरालका अनुसार पूर्वप्राथमिकदेखि ९ कक्षासम्म १ सय १० छात्र र १ सय १२ छात्रा गरी २ सय २२ विद्यार्थी बोर्डिङ छाडेर आएका छन् । अघिल्लो वर्ष भने ८३ जना निजी विद्यालय छाडेर यहाँ भर्ना भएका थिए ।

५ जना कर्मचारीसहित ३५ जना शिक्षक रहेको विद्यालयमा बाल विकास केन्द्रदेखि १२ कक्षासम्म ४ सय ७ छात्र र ४ सय ४२ छात्रा गरी ८ सय ४९ विद्यार्थी छन् । तीमध्ये २० जना अपांगता भएका बालबालिका छन् । ‘कतिपय कक्षामा त सेक्सन विभाजन गरिएको छ,’ विज्ञान शिक्षक महाप्रसाद बरालले भने, ‘हाते माइक लगाएर बोल्नुपर्ने अवस्था छ ।’ 

हालै विद्यालयमा साझेदार संस्था प्लानको सहयोगमा ६ लाखको विज्ञान प्रयोगशाला सामग्री पनि व्यवस्था गरिएको उनले सुनाए । विद्यालयमा एससीडीमार्फत आईसीडी र कम्प्युटरको पनि व्यवस्था छ । विद्यालयमा महिनावारीका बेला छात्रा नियमित गर्न आराम गर्ने बेडसहितको ‘महिनावारी स्वच्छता कक्ष’ छ । ‘महिनावारी भएका बेला पनि विद्यालय आउँछौं,’ कक्षा ९ की छात्रा शान्ति शाहीले भनिन्, ‘प्याड फेर्न र पेट दुखेका बेला आराम कक्षमा बस्छौं ।’ 

जिल्लाका अन्य विद्यालयको तुलनामा पक्की भवन, खानेपानी, शौचालय, पुस्तकालय, विज्ञान प्रयोगशाला, खेल मैदान, खेल शिक्षकलगायतको व्यवस्थापन भए पनि अझै पर्याप्त कक्षाकोठा, फर्निचर, विद्यार्थी संख्याअनुसारको शौचालय संख्या अपुग भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपराज शाहीले बताए । 

रास्कोट नगरपालिका शिक्षा क्षेत्र सुधारमा सक्रिय भएर लागेको रास्कोट नगर उपप्रमुख मनिराज बरालले बताए । यही विद्यालयको प्रधानाध्यापकबाट राजीनामा दिएर नगर उपप्रमुखमा चुनाव जितेका बरालले भने, ‘बडिमालिका माविलाई लिडर विद्यालयका रूपमा विकास गरेका छौं ।’ पालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी र सडकलाई प्राथमिकतामा राखेर काम गरेको नगर प्रमुख धर्मराज शाहीले बताए ।

शिक्षाका लागि थातथलो छाड्ने बाध्यता अन्त्य गर्न विद्यालय शिक्षामा सुधार गर्न लागिपरेका छौं । नगर प्रमुख शाहीले भने ४ वटै माविलाई आवासीय सुविधासहित सञ्चालनका लागि योजना बनाइएको छ । एक साताअघि विद्यालय अनुगमनका क्रममा रास्कोट आएका कर्णाली प्रदेश सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सबै पक्ष सक्रिय भए दुर्गमका विद्यालय पनि नमुना बन्न सक्ने उदाहरण बडिमालिकाले दिएको बताए । 

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully