जनसेवा आधारभूत विद्यालयमा शिक्षक र प्रधानाध्यापकमात्रै होइन, विद्यालय व्यवस्थापन समिति र अभिभावक संघका अध्यक्षसहित सदस्यसम्म सबै पदमा महिला छन् ।
अर्घाखाँची — अझैपनि विरलै विद्यालयका प्रधानाध्यापक महिला छन् । विद्यालय व्यवस्थापन समिति, अभिभावक संघमा समेत महिलाको नेतृत्व कमैमात्र छ । तर, अर्घाखाँचीको जनसेवा आधारभूत विद्यालयमा भने प्रधानाध्यापक र विव्यस अध्यक्ष जस्ता नेतृत्वदायी पदमा मात्रै होइन, शिक्षक, व्यवस्थापन समिति र अभिभावक संघको सदस्यसम्म सबै पदमा महिला छन् ।
स्कुलका हरेक गतिविधिमा महिला अग्रसर देखिन्छन् पुरुष सहयोगीको भूमिकामा । छत्रदेव गाउँपालिका–७ मढेलचौरस्थित महिलाले नेतृत्व गरेको यो विद्यालय शैक्षिक गुणस्तरमा पनि निकै अब्बल छ ।
०७९ साउनमा प्रध्यानाध्यापक लोकबहादुर साह अनिवार्य अवकाश भए । त्यसपछि सरस्वती पाण्डेले स्कुलको नेतृत्व सम्हालिन् । २०८० को छत्रदेव गाउँपालिकास्तरीय सामुदायिक र संस्थागत विद्यालयको प्रतिस्पर्धामा कक्षा ५ को निदानात्मक परीक्षामा शतप्रतिशत विद्यार्थी उतीर्ण भए ।
गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने स्कुल घोषणा गर्दै सम्मान गर्यो । कक्षा ५ सम्म सञ्चालित स्कुलमा स्थायी ३, राहत १ र दरबन्दीको एक शिक्षक कार्यरत छन् । शिक्षक सबै महिला हुन् ।
शैक्षिक गुणस्तरमा उत्कृष्ट बनेपछि निजी विद्यालय छाडेर ८ जना विद्यार्थी जनसेवामा भर्ना भए । ‘सुरुमा सबै शिक्षक महिलामात्रै भए, अब झन् खत्तम हुने भयो भनेर अभिभावक र गाउँलेले भनेका थिए,’ प्रध्यानाध्यापक पाण्डेले भन्छिन्, ‘हामीले शिक्षक मिटिङ बसेर स्कुलमा पढाई राम्रो बनाउने एउटा अठोट लियौं । त्यहीअनुसार गत वर्षको नतिजा पनि राम्रो आयो ।'
अहिले कक्षा १ मा १० जना, दुईमा ७, तीनमा १३, चारमा ७ र कक्षा ५ मा १२ जना विद्यार्थी छन् । बालशिक्षा पनि सञ्चालन छ । निजी र अन्य सामुदायिक विद्यालय छोडेर यहाँ आउने विद्यार्थीको संख्या बढ्दो रहेको प्रधानाध्यापक पाण्डेले बताइन् ।
उत्कृष्ट विद्यालय भएपछि व्यवस्थापन समितिका अध्यक्ष चुडामणि उपाध्यायले दुई महिनाअघि पद छाडेर महिलालाई नै अध्यक्ष बनाए । आफ्नो पालामा ७ कोठे स्कुल भवन, शौचालय, प्रदेशद्वार, बाउन्ड्री निर्माण र स्वर्ण महोत्सव गरेर उपाध्यायले अभिभावक भेलाबाट हिरा श्रेष्ठलाई अध्यक्ष पद हस्तान्तरण गरे । व्यवस्थापन समितिमा अभिभावकबाट ७ जना सदस्यमा महिला नै छन् । शिक्षक अभिभावक संघको अध्यक्षमा कमला पाण्डे सहित सबै सदस्य पदमा महिला नै छन् ।
‘महिलाले चलाएको संस्था कस्तो बन्दो रहेछ एक पटक हेरौं भनेर हामी सबै गाउँले मिलेर महिलालाई नै सुम्पेका छौं,’ विव्यसका निवर्तमान अध्यक्ष उपाध्यायले भने, ‘महिलालाई नेतृत्वमा र हामी पछाडि बसेर सहयोग गर्छौं । रिजल्टमा गाउँपालिकामा उत्कृष्ट स्कुल भएपछि सबै जिम्मा महिलालाई दिएका छौं ।’ समुदाय, शिक्षक, अभिभावक सबै मिलेर सहयोग गरेपछि शिक्षामा अब्बल बन्ने उनले बताए ।
गाउँको महिलाले नेतृत्व गरेको स्कुलमा पढाई राम्रो भएपछि अभिभावक खुसी छन् । सबै कक्षामा अंग्रेजी भाषामा पढाई हुन्छ । बोर्डिङ छाडेर नै विद्यार्थीहरु यता भर्ना भएपछि अझै रिजल्ट राम्रो बनाउने गरी योजना बनाएको प्रधानाध्यापक पाण्डेले बताइन् । स्कुलमा सबै विद्यार्थीको सरसफाई पनि उस्तै छ । पढाइका अतिरिक्त विद्यार्थीलाई नैतिक शिक्षा पनि सिकाइन्छ । सबै विद्यार्थी नियमित स्कुल आउँछन् ।
‘महिनैपिच्छे शिक्षक–अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच बैठक गरेर छलफल गर्छौं, हरेक शुक्रबार अतिरिक्त क्रियाकपाल गर्छौ,’ उनले भनिन्, ‘विद्यार्थीलाई चर्को नबोली, नपटि गित र खेलकूदको माध्यमबाट पढाउँछौं । विद्यार्थी खुसी छन्, शनिबार र अन्य विदाको दिन घर बस्न मान्दैनन्, स्कुलमा आउन खोज्छन् ।’
अभिभावकसँग कुन विद्यार्थीको पढाई कस्तो छ, आनिबानी सहित अभिभावकसँग छलफल र परामर्श गर्ने उनले बताइन् । महिलाले अवसर पाएपछि केही गरेर देखाउन सक्छन् भन्ने यो उदाहरण हो । यो वर्ष पनि पालिकाले कक्षा ३ र ५ को गाउँपालिका स्तरीय परीक्षा हुँदैछ । त्यसमा पनि शतप्रतिशत विद्यार्थी उतीर्ण गराउने लक्ष्य रहेको उनले बताइन् ।
‘स्कुलमा महिला मात्रै भए, केही गर्न सक्दैनन् भन्थे,’ शिक्षक विमला पाण्डेले भनिन्, ‘अहिले सबैले राम्रो भनेका छन् । अब जनसेवालाई पढाई हुनेमा जिल्लामै उत्कृष्ट विद्यालय बनाउँछौं । विद्यार्थीलाई अंग्रेजी भाषामा पढाई, खेलकूद, मनोरञ्जन, भ्रमण सहित शैक्षिक गतिविधि गर्दै हँसाउँदै पढाउँदै गरेका छौं ।’ सबै कक्षामा विद्यार्थीलाई राम्रो रिजल्ट ल्याएर शतप्रतिशत विद्यार्थी उतीर्ण गराउने अठोट लिइएको उनले बताइन् ।
छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले महिला नेतृत्वले स्कुलमा नमूना नै काम गरेको बताए । ‘अन्य स्कुलमा पनि शैक्षिक गुणस्तर सुधारोन्मुख छ,’ उनले भने, ‘शिक्षक, व्यवस्थापन समिति, अभिभावक संघ सबैमा महिला नेतृत्वले उत्कृष्ट स्कुल बनाएपछि पुरुष हेडसरलाई थप चुनौती भएको छ । महिलाले अनुशासन रुपमा काम गरेर परिणाम दिन्छन् भन्ने यो जनसेवा स्कुल उदाहरण हो ।’
